Comments Add Comment

के महँगो विद्यालय स्तरीय हुन्छ ?

तपाईंका छोरा-छोरी कुन विद्यालय भर्ना गर्नुभयो ?

कति अभिभावक यसको जवाफ दिन निकै आतुर हुन्छन् । छाती चौडा बनाउँदै उनीहरु भन्छन्, ‘फलानो विद्यालयमा ।’ खासगरी महंगो, स्तरिय र नाम चलेका विद्यालयमा छोराछोरी भर्ना गरिदिएपछि अभिभावक दंग पर्छन् । उनीहरु आफन्त, छिमेकलाई देखाउन चाहन्छन् कि, ‘मेरा छोराछोरी राम्रा विद्यालयमा पढ्छन् ।’

नेपालमा सरकारी विद्यालयको स्थिती नाजुक छ । सरकारी विद्यालयप्रतिको धारणा पनि राम्रो छैन । पैसा नहुने वा छोराछोरीको भविष्यप्रति संवेदनशिल नहुनेहरु नै सरकारी विद्यालयमा भर पर्छन् भन्ने कतिपयको बुझाई छ ।

यसरी सरकारी विद्यालयको हालत कमजोर भएको अवस्थामा निजी विद्यालयहरु प्रतिस्पर्धात्मक रुपमा सञ्चालनमा छन् । हरेक चोक, गल्ली, टोलमा निजी विद्यालय सञ्चालनमा छन् । यस्तो लाग्छ, हामीकहा सरकारी विद्यालय नै छैन ।

विद्यालयको वर्ग विभाजन

अहिले अधिकांश अभिभावकले आफ्ना छोराछोरीलाई निजी विद्यालयमा पढाउने गर्छन् । निजी विद्यालयमा पनि एकरुपता छैन । सस्तोदेखि महंगोसम्म, सामान्यदेखि स्तरियसम्म निजी विद्यालय छन् । यसैबीच काठमाडौं महानगरपालिकाले आफ्नो मातहतमा रहेका निजी विद्यालयको शुल्क निर्धारण गरेको छ ।

शुल्क निर्धारणका लागि निजी विद्यालयको स्तर मापन गरिएको छ, कदेखि घसम्म ।  यस अन्र्तगत आगमी शैक्षिक सत्रदेखि ‘घ’ बर्गमा रहेका विद्यालयको प्राथमिक तहमा छोराछोरी पढाउन धेरैमा ६ सय ३० रुपैया शुल्क लाग्नेछ । यसैगरी ‘ग’ वर्गका विद्यालयमा दुई हजार २४ रुपैया, ‘ख’ वर्गको विद्यालयमा दुई हजार ४ सय १८ रुपैया साथै ‘क’ वर्गको विद्यालयमा रु दुई हजार ८ सय १२ रुपैया लाग्नेछ । यसैगरी माध्यामिक तहको शुल्क पनि निर्धारण गरेको छ ।

यद्यपी उल्लेखित शुल्क अनुसार नै निजी विद्यालयमा भर्ना गर्न सकिनेछ ? संभवत यसको जवाफ नकारत्मक आउन सक्छ । विगतमा पनि यसरी शुल्क निर्धारण नगरिएको होइन । तर, निजी विद्यालय घुमाई-फिराई अभिभावकको खल्ती रित्याउनेगरी शुल्क असुल गर्ने प्रवृत्ति कायम नै छ ।

कति महंगा विद्यालय ?

यहा निजी विद्यालयको शुल्क हजारदेखि लाखौं रुपैयासम्म छ । एउटा सामान्य सरकारी कर्मचारीको मासिक कमाईको तुलनामा कतिपय प्राथमिक तहको विद्यालयले असुल गर्ने मासिक शुल्क बढी छ । कतिपय विद्यालय यतिसम्म महंगा छन्, जसले एउटा विद्यार्थीबाट मासिक रुपमा असुल्ने शुल्क औसत नेपालीको कमाईले धान्न सक्दैन ।

महंगा शुल्क असुल्ने यी विद्यालयमा पढाउन अभिभावकहरु किन तछाड मछाड गर्छन् त ?

आम बुझाई के छ भने महंगा विद्यालयको पढाई स्तर राम्रो हुन्छ । आफ्ना छोराछोरीले त्यस्ता विद्यालयबाट उत्कृष्टता हासिल गर्न सक्छन् । परीक्षामा उत्कृष्ट अंक प्राप्त गर्न सक्छन् । भविष्यको धरातल राम्रो बनाउन सक्छन् ।

किनभने शुल्क बढी असुल गर्ने विद्यालयले विद्यार्थीप्रति त्यही किसिमको दायित्वभार लिन्छ भन्ने बुझाई छ । कक्षाकोठाको वातावरणदेखि विद्यालयको भौतिक पूर्वाधार राम्रो हुन्छ भन्ने लाग्छ । योग्य शिक्षक/शिक्षिका, गुणस्तरिय पढाई हुन्छ भन्ने लाग्छ ।

के त्यसो भए महंगा वा नाम चलेका विद्यालयमा पढेका विद्यार्थीहरु नै उत्कृष्ट हुन्छन् ?

निश्चय पनि सेवा सुविधाको हिसाबले महंगा शुल्क असुल्ने विद्यालयहरु अगाडि हुन्छ । यी विद्यालयमा भवन, खेलमैदान, पुस्ताकलय, विज्ञान प्रयोगशाला, क्यान्टिन, होस्टल, यातायात सबै सुविधा हुनसक्छ । कक्षाकोठा पनि तुलनात्मक रुपमा आकर्षक र भव्य हुनसक्छ । यस्ता विद्यालयमा बालबालिकालाई खेल्न र रमाउनका लागि पनि पर्याप्त साधन-स्रोत हुनसक्छ । तर, महंगा विद्यालय नै उपयुक्त वा उत्कृष्ट भन्न सकिदैन ।

महंगा विद्यालय नै स्तरीय हुन्छन् ?

विद्यालयको उत्कृष्टता मापन गर्ने पहिलो कडी भनेकै सिकाई विधी एवं पद्धती हो । अहिले महंगा र राम्रा भनिएका विद्यालयहरु नतिजाका लागि विद्यार्थीलाई पुस्तकमा बढी केन्दि्रत गराउछन् । अभिभावकको दवाव झेल्नका लागि पनि ति विद्यालयहरुले विद्यार्थीलाई पठनपाठनमा लगाउने गर्छ । जबकी सिकाई विधी एवं पद्धती राम्रो हुनु र विद्यार्थीलाई घोकाएर राम्रो नतिजा निकाल्नु फरक कुरा हुन् ।

सिकाई विधी मुलत कक्षाकोठा, पठन सामाग्री र शिक्षकमा निर्भर रहने कुरा हो । विद्यार्थीलाई कसरी पढाउदा बुझ्छन्, पढाउने सामग्रीलाई कसरी बुझ्ने भाषामा बदल्नुपर्छ, प्रभावकारी सिकाइको लागि के कस्ता पठन सामाग्री प्रयोग गर्ने भन्ने कुरा शिक्षकले जान्नुपर्छ । यससगै अर्को महत्वपूर्ण कुरा भनेको विद्यार्थीको रुची र क्षमताको सही आंकलन हो । एउटा शिक्षकले आफ्ना विद्यार्थीको रुची के छ, उनको क्षमता कस्तो छ भनेर सोही अनुरुप सिकाईको भाषा बदल्नुपर्छ । उनीहरुको रुचीलाई प्राथमिकता दिदै उनीहरुको क्षमता अनुसार पढाउनुपर्छ ।

शिक्षकहरु विद्यार्थीमैत्री हुनुपर्छ । जागिरमुखी वा ओभरस्मार्ट भएमा पनि विद्यार्थीहरु शिक्षकसग सहजै घुलमिल गर्न सक्दैनन् । विद्यार्थीलाई सहज हुनेगरी र विद्यार्थी रमाउनेगरी आफ्नो व्यवहार प्रदर्शन गर्नुपर्छ ।

अहिलेका विद्यार्थीहरु प्रविधिको पहुचले धेरै चलाख भएका छन् । उनीहरुमा धेरै किसिमको जानकारी हुन्छन् । यसर्थ एउटा शिक्षकले विद्यार्थीलाई कुनैपनि माध्यामबाट कसरी सही सूचना लिने, कसरी त्यसलाई जीवनोपयोगी ढंगले बुझ्ने भन्ने कुरा सिकाउनुपर्छ ।

यस किसिमका शिक्षक वा पठन-विधी भएका विद्यालय नै बालबालिका लागि उपयोगी र प्रभावकारी हुन्छ ।

त्यसैले कुनैपनि विद्यालय छनौट गर्नुअघि त्यसको चर्चा, तामझाम, शुल्कको आधारमा होइन, कक्षाकोठाको वातावरण, शिक्षकको योग्यता र व्यवहार, पठन शैली, उपलब्ध शैक्षिक सामाग्री आदिलाई मध्यनजर गर्नुपर्छ ।

यसको अर्थ के होइन भने, महंगो शुल्क असुल्ने विद्यालय खराब हुन्छन् । महंगा शुल्क असुलेर राम्रै शिक्षादिक्षा दिने विद्यालय पनि छन् । यद्यपी विद्यालयको गुणस्तर मापन गर्ने आधार त्यसले असुल्ने शुल्क होइन ।

यसपाली नया शैक्षिक सत्रलाई लक्षित गरेर काठमाडौं महानगरपालिकाले विद्यालयको बर्ग विभाजन गरेको छ । खासगरी विद्यालयको भौतिक संरचनालगायतलाई आधार मानेर निर्धारण गरिएको बर्गसगै शुल्कको अनुपात मिलाइएको छ । यद्यपी उच्च भौतिक पूर्वाधार भएका विद्यालय नै अनुकुल भन्ने पनि होइन । बाहिरबाट हेर्दा भव्य देखिने, चम्किलो लाग्ने विद्यालयमा तपाईंका छोराछोरीले कति सहज रुपमा, कति सौहार्द्धपूर्ण वातावरणमा, कति बुझ्ने भाषामा पढ्छन् ? त्यो महत्वपूर्ण कुरा हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment