Comments Add Comment

च्याम्पियन्स लिग : युभेन्टसलाई आयाक्सको चुनौती

२७ चैत, काठमाडौं । च्याम्पियन्स लिग क्वार्टरफाइनलको पहिलो लेगमा बुधबार राति नेदरल्याण्ड्सको क्लब आयाक्स र इटालियन क्लब युभेन्टस साथै स्पेनिस क्लब बार्सिलोना र इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडबीच खेल हुँदै छ ।

राति पौने १ बजे हुने आयाक्स र युभेन्टसबीचको खेल आयाक्सको जोहान क्रुफ मैदानमा र म्यानचेस्टर युनाइटेड र बार्सिलोनाको खेल म्यानचेस्टरको मैदान वल्ड ट्राफोर्ड र हुनेछ ।

युभेन्टसलाई आयाक्सको चुनौती

युभेन्टसका क्रिष्टियानो रोनाल्डो आयाक्सविरुद्धको खेलमा मैदान उत्रने प्रशिक्षक मासिमिलियानो एलेग्रीले बताएका छन् । तिघ्रामा समस्या देखिएपछि उनी खेल्ने नखेल्ने दुविधा बढीरहेका बेला प्रशिक्षकले यस्तो बताएका हुन् । रोनाल्डो एथ्लेटिको मड्रिडविरुद्ध ह्याट्रिक गरेको १२ मार्चको खेलपछि युभेन्टसका लागि मैदानमा देखिएका छैनन् ।

यस्तै युभेन्टसका जर्जियो चिलेनी र इमेरी कान पनि चोटका कारण समस्यामा नै छन् । आयाक्स टिममा भने सबै खेलाडी फिट देखिएका छन् ।

सिरी ए मा लगातार आठौं उपाधिको नजिक भए पनि युभेन्टसले १९९६ पछि च्याम्पियन्स लिग जितेको छैन । त्यसैले नै रियल मड्रिडबाट रोनाल्डोलाई ल्याएको युभेन्टसले यसपटक उपाधिमा दाबेदारी देखाइरहेको छ ।

डिफेन्डिङ च्याम्पियन रियल मड्रिडलाई अन्तिम १६ मा नै पाखा लगाउँदै क्वार्टरफाइनलमा पुगेको आयाक्स यसपटक नसोचेको तर अब्बल टिम बनिरहेको छ ।

आयाक्सका प्रशिक्षक इरिक टेन ह्यागले पनि आफ्नो टिम अप्रत्याशित लागे पनि राम्रो खेल देखाउन सक्षम रहेको बताएका छन् । ‘नेदरल्याण्ड्स जस्तो देशबाट फुटबलको यो स्तरमा आउनु सामान्य कुरा होइन, अरु देशले खर्च गर्ने पैसाको तुलनामा नेदरल्याण्ड्समा निकै कम छ । पछिल्ला केही वर्षदेखि फेरिएको फुटबल च्याम्पियन्स लिगको मैदानमा पनि देखिँदै छ’ उनले भनेका छन् ।

केही तथ्य

आयाक्स र युभेन्टस युरोपियन प्रतिस्पर्धामा १० औँ पटक भेट हुँदै छन् । यो २००४ पछिको उनीहरुको पहिलो भेट हो । १९७३ को युरोपियन कप फाइनलमा १–० ले जितेपछि आयाक्सले अहिलेसम्म युभेन्टसलाई हराउन सकेको छैन ।

यसअघिको ९ भेटमा युभेन्टस पाँच खेलमा विजयी भएको छ भने चार खेल बराबरी भएको छ । १९९६ को च्याम्पियन्स लिग फाइनलमा दुवै टिमले बराबरी खेलेपछि टाइब्रेकरमार्फत नतिजा युभेन्टसको पक्षमा पुगेको थियो ।

२००३ पछि आयाक्स यसपटक च्याम्पियन्स लिग क्वाटरफाइनलमा पुगेको हो । साथै यसपटक आयाक्स च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पुग्ने सबैभन्दा युवा टिम पनि हो । औसतमा उनीहरुको उमेर २४ वर्ष २०२ दिनको रहेको छ ।

आयाक्सका डुसान टेडिकले जारी सिजनको च्याम्पियन्स लिगमा ६ गोल गरेका छन् भने तीन गोलको अवसर बनाएका छन् । युभेन्टसका क्रिष्टियानो रोनाल्डोले आयाक्सविरुद्धको पछिल्लो चार खेलमा सात गोल गरेका छन् । जसमा अक्टोवर २०१२ को खेलमा उनले ह्याट्रिक गरेका थिए ।

युभेन्टस यसपटक लगातार तेस्रो वर्ष च्याम्पियन्स लिग क्वार्टरफाइनलमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment