+
मेरो कथा :

३ खेलमा १४ गोल गरेपछि डिफेन्डर !

२०७५ चैत  २८ गते १४:४९ २०७५ चैत २८ गते १४:४९
३ खेलमा १४ गोल गरेपछि डिफेन्डर !

सानोदेखि नै खेलको रहर धेरै थियो, त्यसमा अलि बढी फुटबलको । मिलेमा सबै खेल खेल्थेँ तर फुटबल नियमित थियो । खेलाडी बन्छु, फुटबलमा केही गर्छु भन्ने सोचेर होइन रमाइलो लागेर खेलेँ, त्यही रहरले खेलाडी बनायो ।

उमेर समूह हुँदै राष्ट्रिय टिममा आइपुग्दा फुटबललाई धेरै बुझियो, कति कुरा अझै बुझ्न बाँकी छन्, कति कुरा अझै देखाउन बाँकी छन् । तर चोटले धोका दिइरहेको छ ।

खेलाडीका लागि अप्ठ्यारो समय भनेको चोटका कारण बाहिर बस्नुपर्दाको रहेछ । खेलिरहेका बेला एक्कासी बाहिर बसेर अरुले खेलेको हेरेर बसिरहन सजिलो छैन । चोटले सताएको पनि दुई वर्ष भइसक्यो ।

००००

कुरा चोटबाटै गरौं । किनभने अहिले पनि त्यसबाट बाहिर निस्कने प्रयासमा नै छु । यति लामो समय चोट बल्झिएला जस्तो लागेको थिएन तर, सताइरहेको छ ।

२०७३ चैतमा एसियन कप छनोटको बेला दोस्रो चरणमा फिलिपिन्ससँगको खेलका बेला अन्तिम समयतिर खुट्टामा चोट लागेको हो । त्यसपछि एक वर्षजतिमा ठीक भएर राष्ट्रिय टिमसँग थाइल्याण्डमा भएको अभ्यासमा सामेल भएको थिएँ ।

थाइल्याण्डमा मैत्रीपूर्ण खेलमा चोट फेरि बल्झियो । यसपटक अप्रेसन नै गर्नुपर्ने भएपछि एन्फाले कतारमा अप्रेसन गर्न मिलाइदिएको हो । कतारमा नै अप्रेसन भयो । एक महिना त्यहीँ बसेर फिजियोथेरापी गराएँ । अहिले नेपालमा हाइड्रोथेरापी गरेको एक महिना भयो । फेरि फलोअपको लागि कतार जानुपर्ने भएको छ ।

सबै जाँच गरेपछि बल्ल कहिलेदेखि खेल्न मिल्छ भन्ने थाहा हुन्छ । पहिलोपटक समस्या आउँदा फिट हुन ८ महिना जस्तो लागेको थियो । अहिले फिजियोथेरापिस्टहरुको सल्लाह अनुसार एक वर्ष कम्तीमा पनि कुर्नुपर्ने अवस्था छ । एक वर्ष फिजियोथेरापी र ग्राउण्ड रिह्याब सकाएर कमब्याक गर्ने सोचमा छु ।

खेलिरहेको बेला घाइते भएर बाहिर बसेर हेरिरहनुपर्ने पीडा हुन्छ नै । नियमित खेलिरहेको, टिमसँग नियमित खेलमा हिँडिरहेको खेलाडी घाइते भएर बस्नुपर्दा नरमाइलो पनि लाग्नेरहेछ । अहिले समयलाई कसरी मिलाउने भन्ने कुरा पनि कठिन नै छ ।

जे होस्, घाइते भएर पनि धेरै कुरा सिकियो । पहिला फुटबलमै लागेर दिनभर हिँडिन्थ्यो, अहिले त घरमा नै बसेर भएको समय के गर्ने भन्ने हुन्छ । कसरी ठीक हुने भन्ने कुरा मनमा आइरहन्छ । कतिपय समय त मनमा नकरात्मक कुरा पनि आउने रहेछ । तर यसो सोच्दा जीवनमा यस्तो अवस्था पनि आउनै पर्ने रहेछ जस्तो लाग्छ । किनभने त्यसले तपाइँलाई मानसिक रुपमा थप बलियो बनाउने रहेछ ।

हुन त खेलाडीहरु मानसिक रुपमा बलियो हुन्छन् भनिन्छ तर, खेलबाटै छुटिन्न पर्दा अलिकति मन त खस्किन्छ नै । फेरि खेलमा आउनका लागि आत्मविश्वास बढाउन असाध्यै जरुरी रहेछ । म त्यसरी नै बढिरहेको छु । मनलाई नियन्त्रणमा राख्न सिकिरहेको छु । खेल्न पाएँ भने त अहिले पनि खेलिहालौं जस्तो त हुन्छ । तर लागेर मात्र भएन, आफू ठीक पनि हुनुपर्‍यो ।

खुट्टाले नदिँदा नदिँदै बलजफ्ती गर्नु पनि भएन । यस्तो अवस्थामा परिवारको महत्व झनै बढ्ने रहेछ । आफूलाई मनपर्ने काम गर्न नपाएर निराश भएका बेला परिवारको साथ ठूलो कुरा हो । परिवारमा सबै आफ्नो काममा व्यस्त हुँदा पनि मेरो लागि समय निकाल्ने, सँगै बसेर कुराकानी गर्ने गरिरहेका हुन्छन् । जसले मलाई हौसला मिलिरहेको हुन्छ ।

घाइते भएर बसे पनि नेपाली फुटबलसँग नजिक छु । आफ्नो क्लब र राष्ट्रिय टिमका खेलहरु विचार गरिरहेको हुन्छु । आफ्नो क्लब गएको प्रतियोगितामा त धेरै नै ध्यान हुन्छ ।

००००

म फुटबलकै लागि हो भनेर कहिल्यै लागेन तर, सानोदेखि नै खेल्न असाध्यै रमाइलो लाग्थ्यो । सानोमा त जे पायो, त्यही खेल खेलिन्थ्यो । तर फुटबल भने नियमित नै थियो । म महोत्तरी जिल्लाको जलेश्वरमा हुर्किएको हो । मेरो खेलको रुचिमा पनि परिवारबाट सधैँ साथ पाएँ । बुबाले त सानोदेखि खेलमा असाध्यै सहयोग गर्नुभयो ।

१९९८ को विश्वकपको बेला एउटा समय याद आउँछ । म ७ वर्षको थिएँ । आफूसँग राखेर बुबाले विश्वकप देखाउनुभएको थियो । फ्रान्समा भएको त्यो विश्वकपमा ब्राजिललाई हराएर फ्रान्सले उपाधि जित्यो । बुबा ब्राजिलको समर्थक भएकाले त्यो बेलादेखि म पनि ब्राजिलकै समर्थक भएको हुँ । फाइनलमा हार्दा नमज्जा पनि लाग्यो ।

सानोमा फुटबल त्यसरी नै अगाडि बढ्दै गयो । मलाई भन्दा धेरै चासो त बुबालाई थियो । काठमाडौंमा यू–१४ को छनोट हुँदै छ रे भन्ने थाहा पाएपछि जिल्लाबाट हामी पनि टिम बनाएर आएका थियौं । सानो गौचरणमा सभापति कप प्रतियोगिता भएको थियो । त्यो बेला म फरवार्ड खेल्थेँ । त्यहाँ मैले तीन खेलमा १४ गोल गरेँ ।

त्यसपछि नै २००४ मा एन्फा एकेडेमीमा छनोटमा परेँ । एन्फामा भएपछि त बुबा ममी पनि धेरै खुशी हुनुभयो । ल्याब्रोटरी स्कूलमा पढ्ने र फुटबल अभ्यास गर्ने नै दैनिकी बन्यो । नेपाललाई यू–१४ मा प्रतिनिधित्व गर्न पाएपछि त अझ जोश बढ्यो । यू–१७ मा खेलेँ, यू– १९ मा खेलेँ, क्लबबाट अफर आयो अनि राष्ट्रिय टिमको बाटो बन्यो ।

००००

२००८ मा उत्तर कोरियासँग एएफसी च्यालेन्ज कपको फाइनल राउण्डमा भारतमा भएको खेल मेरो डेब्यू खेल हो । टिममा राकेश श्रेष्ठ, अनन्त थापा, पर्वत पाण्डे, भोला सिलवाल, युगल किशोर राई, विजय गुरुङ, विकास मल्ल, लोकबन्धु गुरुङ, जुमानु राई, निराजन खड्का दाइहरुसँगै एन्फामा एउटै विराज महर्जन दाइ र म पनि थियौं ।

त्यसैले डेब्यू गर्छु जस्तो नै लागेको थिएन । पहिलो खेलमा म्यानमारसँग हारेपछि दोस्रो खेल उत्तर कोरियासँग थियो । प्रशिक्षक विराट कृष्ण श्रेष्ठ सरले उत्तर कोरियासँग खेल हुनु अघिल्लो दिन ‘तिमी तयार होऊ’ भोलि प्लेइङमा खेल्नुपर्छ भन्नुभयो । मलाई भने डर पनि लागिरहेको थियो । विराट सरलाई भेटेर डर लागेको सुनाएँ । उहाँले ‘आत्तिनु पर्दैन, तिमीले आफ्नो खेल खेल्ने हो’ भनेपछि डर हराएको थियो ।

खेल्ने बेला त उत्सुक नै थिएँ । डराएको महसुस पनि भएको थिएन । उत्तर कोरियासँग ३९ औं मिनेटमा गोल खाएर खेल हारे पनि डेब्यू खेल भएकाले मेरा लागि अविस्मरणीय बन्यो ।

राष्ट्रिय टिममा खेल्ने बेला भने म लेफ्ट ब्याकमा खेलिरहेको थिएँ । फरवार्डबाट कसरी लेफ्ट ब्याकमा पुगेँ भन्ने कुरा पनि अलि अनौठो नै छ । हामी यू–१४ बाट भारतमा हुने सुब्रोतु कप खेल्न गएका थियौं । तर हाम्रो तीन जना खेलाडीको उमेर बढी भएकाले खेल्न पाएनन् । त्यसले गर्दा टिममा डिफेन्सको कमी भयो । डेकेन सुवाल सरले त्यही प्रतियोगितामा मलाई लेफ्ट डिफेन्समा राखिदिनुभयो ।

पछि यू–१७ मा राजुकाजी शाक्य सरले तिमी डिफेन्समा खेल न त भनेर डिफेन्डर बनाउनुभयो । तिम्रो भविश्य लेफ्ट डिफेन्समा राम्रो छ भन्नु भएपछि थप मेहनत गर्न हौसला मिल्यो । सन् २००६ मा यू–१७ एसिया कप छनोट खेलेका थियौं । उज्वेकिस्तान र किर्गिस्तानविरुद्ध खेलेपछि पूरा लेफ्ट डिफेन्डर भएर निस्किएँ । त्यसपछि त फरवार्डको बारेमा सोच्दा पनि सोचिनँ । राष्ट्रिय टिमबाट देशको प्रतिनिधित्व गर्दा जुन पोजिसनमा भएपनि खेल्नुपर्छ भन्ने लागेको थियो ।

हुन पनि सानोमा घरतिर खेल्दा गोलकिपर थिएँ । ज्यान सानो भएकाले पनि सबैले ‘हेपेरै’ तँ किपर बस भनिदिन्थे, म खुरुक्क गएर बस्थेँ । विस्तारै खेल देखाउँदै गएर फरवार्ड बनेँ । त्यसैले राष्ट्रिय टिममा डिफेन्डर खेल्दा पनि मलाई फरवार्डमा खेल्न पाइन भन्ने कहिल्यै लागेन । बरु, डिफेन्स गर्दा पनि फरवार्डको मनस्थिति बुझ्न सक्छु जस्तो लाग्छ ।

ओभरल्याप जाने, क्रस बल फाल्ने कुरामा फरवार्ड खेल्दाका कुराले पनि धेरै नै सहयोग गरेको हो । हुन त राष्ट्रिय टिमबाट ४३ खेल खेलिसक्दा पनि मैले गोल गर्न सकेको छैन, तर क्लबबाट भने धेरै गोल गरिसकेको छु । त्यसमा पनि पहिलेका दिनले सहयोग गरेको छ जस्तो लाग्छ । नेपाल पुलिस क्लबमा आवद्ध भएपछि मेरो खेलमा अझ सुधार आयो । अहिले जे छु, त्यसमा पुलिस क्लबको ठूलो योगदान छ

००००

क्लब फुटबल सुरु भएको क्षण पनि रोचक छ । ०६३ सालमा हामी यू–१७ मा विश्वकप छनोट खेलेर सिंगापुरबाट फर्किएका थियौँ । यता ए डिभिजनमा हामीलाई संकटामा अनुबन्ध गर्ने सम्झौता एन्फासँग भइसकेको रहेछ । ए डिभिजन खेल्न पाउने कुराले असाध्यै खुशी लागेको थियो । हामीले प्रतियोगिताभर राम्रो खेल्यौं, त्यसैले प्रतियोगिता सकिने वित्तिकै नेपाल पुलिस क्लबबाट प्रस्ताव आइहाल्यो ।

भविष्य राम्रो हुन्छ भनेर पुलिस क्लबमै गएँ । लिग च्याम्पियन पुलिसमा असाध्यै राम्रा खेलाडीहरु थिए । त्यहाँ जान पाउनु भाग्यकै कुरा पनि थियो । कति वर्ष ए डिभिजन लिग नै नहुँदा पनि आरामले बाँच्न सक्ने अवस्था पुलिस क्लबबाट नै मिलेको हो । एक हिसाबले भन्दा बिहान तीन घण्टा अभ्यास गरेपछि हाम्रो अरु केही काम हुँदैन । हामीलाई ‘तपाईँहरु खेलका लागि हो, खेल्नुपर्छ’ भन्ने सधैं हौसला पायौं ।

०६३ सालको माघमा पुलिस क्लबमा गएपनि आधिकारिक रुपमा ०६४ साल असारदेखि आबद्ध भएँ । त्यतिबेला प्रहरी जवानमा थिएँ । हामीले लगातार तीन पटक ए डिभिजन लिग जित्यौं, मोफसलका प्रतियोगिताहरु पनि जित्यौं । आहा रारा गोल्डकपमा त ह्याट्रिक नै गर्‍यौं । यो सबैले बढुवा भएर अहिले प्रहरी सहायक निरिक्षक पदमा छु । पुलिस क्लबमा आवद्ध हुन पाउँदा असाध्यै गर्व लाग्छ ।

००००

खेलाडीलाई जीवनभर याद आउने डेब्यू खेल नै रहेछ । त्योबाहेक मैले राम्रो गर्न सकेको २०१३ को साफको बेला हो । त्यसैले त्यो प्रतियोगिता पनि सम्झिरहेको हुन्छु । हुन त हामी सेमिफाइनलमा अफगानिस्तानसँग १–० ले हारेका थियौं तर मेरो खेल राम्रै थियो जस्तो लाग्छ । किनभने मैले उत्कृष्ट खेलाडीको अवार्ड पनि पाएको थिएँ ।

त्यो बेला काठमाडौंको माहोल फुटबलमय थियो । हरेक मानिस फुटबलकै कुरा गरिरहेका थिए । खेलाडीहरुको आत्मविश्वास पनि बलियो थियो । हामीले दर्शकको माया धेरै पाएका थियौं । मानिसहरु त्यसरी एक ढिक्का भएर फुटबलमा लागेको पहिलोपटक देखिरहेको थिएँ । रंगशालामा २० हजार मान्छेले नेपालका लागि गरेको समर्थन असाध्यै अदभूत हो । त्यो प्रतियोगितापछि हामीले सिकेका कुराहरु धेरै छन् । हारले पनि मान्छेलाई अगाडि बढ्न राम्रो शिक्षा दिने रहेछ ।

जितेका बेलामा या हारेका बेलामा मात्रै होइन, म त घाइते भएर बाहिर बसिरहँदा पनि केही सिकिनै रहेको छु । घाइते भएँ भनेर दुःख मानेर बसिरहेको पनि छैन । दुःख मन गरेर बस्नु पनि हुँदैन । पीडा त कसको जीवनमा नहोला र ? तर त्यसलाई कसरी पन्छाएर आफू अगाडि बढ्ने भन्ने कुरा महत्वपूर्ण हुन्छ । टिममा हुँदा पनि खेलबाहेक हाँसिमजाकको माहोल बनाइरहेका हुन्छौं । साथीहरु पनि रमाइलो गर्ने, एक अर्कालाई हौसला दिने छन् । जीवन रमाएर बाँच मिल्छ भने किन दुःखी हुनू ?

०००

सानोमा जलेश्वरमा खेल्ने बेलाका साथीहरु त अहिले फुटबलमा छैनन् । त्यो बेला काठमाडौं आउने धेरै नै थियौं, फुटबलमा लागिरहेको म एक्लो छु । अब जलेश्वरबाट अरु भाइहरु फुटबलमा आउन् भन्ने लागेको छ । किनभने फुटबल असाध्यै रमाइलो छ ।

फुटबलले मलाई कहिल्यै निराशा दिएको छैन, कहिल्यै दुःख दिएको छैन । आज जे छु त्यो सबै फुटबलले गर्दा नै हो । हुन त सिक्न बाँकी कुरा अझै छन्, गरेर देखाउन बाँकी कुरा पनि अझै छन् । म मैदानमा पुग्न कहिलेसम्म कुर्नुपर्छ भन्ने त थाहा छैन । अब एक वर्षमा त फर्किन्छु कि ? फर्किएपछि राम्रो खेल्ने जोश र उत्साह अझै धेरै छ ।

प्रस्तुति : ऋग्वेद शर्मा

तस्वीर : शंकर गिरी

(अनलाइनखबरले सुरु गरेको खेलाडीहरुको जीवन भोगाइ र खेल यात्रा समिटिने ‘मेरो कथा’ को ३१ औं श्रृङ्खलामा यो हप्ता फुटबल खेलाडी रविन श्रेष्ठको कथा प्रस्तुत गरिएको हो ।)

धेरै कमेन्ट गरिएका

लेखक
रबिन श्रेष्ठ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय