
भोली शुक्रबारदेखि रिलिज हुन लागेको चलचित्र ‘ए मेरो हजुर ३’को भव्य प्रिमियर काठमाण्डौको कुमारी हलमा आयोजना गरिएको छ । झरना थापा निर्देशित चलचित्र हेर्नका लागि चलचित्रकर्मी, पत्रकार र निर्माण टिमका आफन्तहरुको बाक्लो भीड थियो ।
कुमारी हलमा निकै नै व्यवस्थित तरिकाले आयोजित प्रिमियरमा चलचित्र हेरिसकेपछि अधिकांशले नायिका सुहाना थापाको कामको तारिफ गरेका छन् । केही चलचित्रकर्मीले यसलाई नायक अनमोल केसीले उत्कृष्ट काम गरेको चलचित्र बताए ।
सुहानाले पहिलो चलचित्रमा नै देखाएको अभिनयको उच्च क्षमताको सबैले मुक्तकण्ठले प्रशंसा गरे । एक फ्यान र एक स्टारको कथालाई प्रस्तुत गरिएको यो चलचित्रले दर्शकको मन जित्ने विश्वास चलचित्रकर्मीको छ । प्रिमियरमा चलचित्रका मुख्य नायक अनमोल केसी, नायिका सुहाना थापा, निर्देशक झरना थापा, नायक सलोन बस्नेत, निर्माता सुनिलकुमार थापा उपस्थित थिए ।
यस्तै, चलचित्र हेर्नका लागि निर्माता तथा कलाकार दिपकराज गिरी, निर्देशक दीपाश्री निरौला, नायिका करिश्मा मानन्धर, नीता ढुंगाना, निर्देशक तथा कोरियोग्राफर रेनशा वान्तवा राई, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरे, निर्देशकहरु दिवाकर भट्टराई, सुरेन्द्र पौडेल, निर्माता सुवास गिरी, माधव वाग्ले, रोहित अधिकारी लगायत हल पुगेका थिए ।
चलचित्र हेरिसकेपछि निर्देशक दीपाश्री निरौलाले भनिन्–‘झरनाजीले छोरी त जन्माउनुभयो, तर चलचित्र क्षेत्रका लागि एउटा उत्कृष्ट कलाकार जन्माउनुभएको छ । अनमोल त अनमोल भैहाले ।’ यस्तै, दिपकराज गिरीले पनि राम्रो चलचित्र बनाउन मिहिनेत गरिएको बताए । हरेक कुरामा चलचित्र उत्कृष्ट रहेको उनले बताए ।
यस्तै, सामाजिक अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमिरेले चलचित्र उत्कृष्ट भएको बताए । उनी हरुले सुहाना र अनमोलको कामको प्रशंसा गरे । नायिका नीता ढुंगानाले पनि आफूलाई चलचित्रले छोएको बताइन् । उनले, सुहानाको काम उत्कृष्ट रहेको बताइन् ।
यस्तै, निर्देशक रेनशा वान्तवा राइले पनि चलचित्र पूर्ण रुपमा एउटा प्याकेज भएको बताइन् । चलचित्रको कथालाई एकदमै आकर्षक तरिकाले प्रस्तुत गरिएको बताइन् । यस्तै, उनले अनमोल केसीको अभिनयको हिसाबले उत्कृष्ट काम भएको चलचित्र बताइन् । उनले सुहाना चलचित्र क्षेत्रका लागि एउटा उज्ज्वल भविष्य भएको पनि प्रतिक्रिया दिइन् ।
प्रिमियरमा निकै नै राम्रो तारिफ पाएको चलचित्र ‘ए मेरो हजुर ३’ले हलमा कस्तो व्यापार गर्ने हो, त्यो हेर्न बाँकी छ ।
प्रतिक्रिया 4