Comments Add Comment

आज चैतेदशैं र रामनवमी, देशभरका शक्तिपीठमा भक्तजनको भीड

३० चैत, काठमाडौं । हिन्दू धर्मालम्बीहरुले आज रामनवमी र चैतेदशैं पर्व मनाउँदै छन् । दशैं तथा रामनवमीको अवसरमा शनिबार बिहानैदेखि देशभरका शक्तिपीठमा भक्तजनको भीड लागेको छ ।

फरक–फरक दिनमा चैतेदशैं र रामनवमी पर्व पर्ने गरेको भए पनि यस वर्ष एकै दिन परेको पञ्चांग निर्णायक समितिले जनाएको छ । अष्टमीलाई पूर्वाह्न र नवमीलाई अपराह्नको समय लिनुपर्ने भएकाले एकैदिन दुवै पर्व परेको पञ्चांग निर्णायक समितिको भनाइ छ ।

असुर शक्तिमाथि दैवी शक्तिको विजय तथा असत्यमाथि सत्यको जितको रुपमा हिन्दूधर्मावलम्बीहरुले वर्षमा दुईपटक दशैं मनाउने गर्छन् ।

असोजमा मनाइने दशैंलाई बडादशैंको रुपमा मनाइन्छ भने चैत शुक्ल अष्टमीमा चैते दशैंको रुपमा मनाइन्छ । बडा दशैंमा जमरा र टीका लगाउने प्रचलन भए पनि चैते दशैंमा भने टीका लगाउने प्रचलन छैन ।

वर्षको दुई पटक चैत र असोजमा गरिने दुर्गापूजाको शास्त्रमा वर्णन गरिएको उल्लेख छ ।

चैते दशैंको दिन काठमाडौंका भद्रकाली, शोभाभगवती, दक्षिणकाली, गुहेश्वरी, संकटा, नक्साल भगवतीका साथै गोरखाको मनकामना, गोरखकाली, काभ्रेको पलाञ्चोक भगवती, पोखराको विन्धबासिनीलगायत देशभरका शक्तिपीठहरुमा बिहानैदेखि दर्शनार्थीको घुइँचो लागेको छ ।

चैत्र नवरात्रसमेत भनिने यस पर्वका अवसरमा शक्तिपीठमा गई पूजाआजा एवं दर्शन गरेमा शक्ति प्राप्त हुने धार्मिक विश्वास छ ।

चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी ‘रामनवमी’ पर्व मनाइन्छ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने रामनवमी पर्वका उपलक्ष्यमा भगवान् रामचन्द्रका मन्दिरमा पूजापाठ गरिन्छ । आज जनकपुरस्थित रामजानकीको मन्दिरमा मेला भर्न नेपाल तथा भारतका नरनारीको घुइँचो लागेको छ ।

त्रेतायुगमा आजकै दिन भारतको अयोध्यामा भगवान् श्रीरामको जन्म भएको स्मृतिमा पवित्र नदी, ताल तथा कुण्डमा स्नानका साथ व्रत बसी रामगीता पाठ, अध्यात्म, वाल्मीकीय, तुलसीकृत र भानुभक्तीय रामायण वाचन गर्ने र भगवान् रामको पूजा आराधना गरी रातभरि भजनकीर्तन गर्ने परम्परा छ ।

आजका दिन व्रत बसी श्रीरामको पूजापाठ र जपध्यान गर्नाले चिताएको कार्य पूरा हुने र अर्को जन्ममा बैकुण्ठ बास हुने धर्मग्रन्थमा उल्लेख छ । यसै विश्वासका आधारमा आज लाखौँ भक्तजन व्रत बसी श्रीरामचन्द्रको पूजा आराधना गर्छन् ।

अयोध्याका राजा दशरथका जेठा छोरा भई भगवान् विष्णुको छैटौँ अवतारका रूपमा जन्मिएका श्रीरामले मिथिलाका राजा जनककी छोरी सीतासँग विवाह गरेका थिए । उनले संसारबाट पापी तथा दुष्ट राक्षसहरूको नाश गरेको र आफ्ना पिताको कठोर आज्ञालाई सहजतापूर्वक ग्रहण गरी मानव जातिलाई सत्यको मार्गमा लाग्न प्रेरणा दिएको रामायणलगायत ग्रन्थमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment