Comments Add Comment

मणिपुरका नेपालीभाषीलाई मनको बाघले खाँदैछ : भवानी अधिकारी

३० चैत, मणिपुर (भारत) । भारतको सानोमध्येको एक राज्य मणिपुरमा झण्डै ५० हजारको सङ्ख्यामा नेपालीभाषी भारतीय नागरिकको बसोबास छ । १० बर्ग किलोमिटरभित्र नेपालीभाषीका चारवटा ठूला गाउँ छन् । यी गाउँमा परम्परागत नेपाली धर्म संस्कृतिको प्रचार गर्ने विभिन्न संघ संस्था खुलेका छन् ।

सानो सङ्ख्यामा भए पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा काम पनि भइरहेका छन् । धमाधम कृतिहरु निस्किएका छन् । यी सबै काममा नेपाली साहित्य परिषद् मणिपुरले नेतृत्वदायी भूमिका खेलेको छ । यही संस्थामार्फत मणिपुरी साहित्य परिषद् र प्रज्ञा सभा इमाखोल–आवाङ पोत्सङबममा नेपालीहरुले सहभागिता जनाउन थालेका छन् ।

नेपाली साहित्यलाई मणिपुरमा विभिन्न रुपमा स्थापित गर्ने व्यक्तिहरु मध्ये एक हुन्, भवानी अधिकारी । यिनैले मणिपुरका विद्यालयहरुमा नेपाली विषय पढ्न पाउनुपर्छ भन्ने वकालत गरेका थिए ।

सन् २०१३ देखि मणिपुरका विद्यालयहरुमा नेपाली विषयलाई अनिवार्य मातृभाषाका रुपमा स्वीकृति दिइएको छ । अहिले कक्षा ९ देखि १२ सम्म नेपाली विद्यार्थीहरुले अनिवार्यरुपमा नेपाली भाषा पढ्नुपर्छ । मणिपुर सरकारले भवानी अधिकारीलाई कक्षा ९ देखि १२ सम्मका नेपाली विषयका पाठ्यक्रम निर्माण गर्ने जिम्मा पनि दिएको थियो । अधिकारीले सम्पादन गरेका पाठ्यपुस्तकहरु अहिले मणिपुरका विद्यालयहरुमा अध्यापन गराइन्छन् ।

पेशाले हिन्दी भाषाका शिक्षक भवानी अधिकारी मणिपुर र नेपाली दुबै भाषामा कलम चलाउने साहित्यकार पनि हुन् । उनले सन् २००३ मा मणिपुरी कविता सङ्ग्रह ‘कोरौगी माकेश मङल’ प्रकाशित गरेर मणिपुरेहरुको ध्यान खिचेका थिए । २०१७ मा मणिपुरीमा निबन्ध सङ्ग्रह निकालेपछि उनी स्थापित भए । उनले त्यहाँको केही प्रसिद्ध पुरस्कार पनि प्राप्त गरेका छन् ।

नेपाली भाषामा भने उनका मनका आवेग र आँखीझ्याल भित्र मणिपुर नामक दुई निबन्ध सङ्ग्रह प्रकाशित छन् । अधिकारीले नेपाली साहित्य परिषद्, मणिपुरको मुखपत्र ‘नेती’ पनि सम्पादन गरे । उनी मणिपुर टेलिश्रृंखलाका लोकप्रिय लेखक पनि हुन् ।

मणिपुरबाटै भारत र नेपालका साहित्यिक पत्रिकामा लेख–रचना प्रकाशन गरिरहने भवानी अधिकारीसँग अनलाइनखबरले गरेको कुराकानीको सम्पादित अंश:

मणिपुरमा नेपाली भाषाको भविष्य कस्तो देख्नुहुन्छ ?

हिन्दी र अंग्रेजीको प्रभावका कारण मणिपुरमा मनिपुरी भाषा नै खतरामा परेको पश्चिमा भाषा बैज्ञानिकहरुको ठहर छ । मणिपुरभित्र अनेक जातजाति बस्छन् । ती सबैका भाषा संरक्षण गर्ने नीति सरकारले लिएको छ । तर, आजकालका विद्यार्थीहरु मातृभाषा भन्दा अंग्रेजी र हिन्दी पढ्न रुचाउँछन् । यस अर्थमा नेपाली भाषाको अवस्था पनि चिन्ताजनक छ ।

कक्षा ९ देखि १२ सम्म नेपाली विद्यार्थीले अनिवार्यरुपमा नेपाली भाषा पढ्नुपर्ने नियम छ, होइन ?

मणिपुरका अल्पसङ्ख्यक सबैले आ–आफ्ना मातृभाषा हराउने चिन्ताका कारण भाषाका लागि लडाईं गरे । तर, हामी माग गर्ने, त्यसको संरक्षण गर्न नजान्ने जातिमा पर्दा रहेछौं । सरकारले कक्षा नौदेखि १२ सम्म सय पूर्णाङ्कको नेपाली भाषा अनिवार्य गरे पनि नेपाली जातिले आफ्ना सन्तानको नम्बर कम आउँछ भन्ने भयले हिन्दी वा अङ्ग्रेजीलाई मातृभाषा लेख्न थाले । यसो किन पनि भयो भने कक्षा ८ सम्म हिन्दी र अंग्रेजी पढेको विद्यार्थीले ९ कक्षामा एकैपल्ट नेपाली पढ्न सकेन । यसका लागि सानो कक्षादेखि नै नेपाली लेखपढ गर्ने बानी बसाउनुपथ्र्यो ।

अहिले इन्टरनेटमा पनि नेपाली भाषा पढ्न पाइन्छ । त्यतातिर अभिभावकले ध्यान दिएनन् । एकैपल्ट कक्षा ९ मा दुःख हुने डरले नेपाली पढ्न मान्दैनन् । विशेष गरी सहरी र सम्पन्न नेपालीहरुमा नेपाली भाषा नपढे पनि हुन्छ भन्ने भावना देखिन थालेको छ ।

यो रोग नेपालमा बोर्डिङ् स्कुलमा अङ्ग्रेजी पढ्ने मोहजस्तै गरी बढेको छ । नेपाली पढेर रोगजारी पाइँदैन, किन एक दुःख गर्ने भाव बढेको देख्छु । त्यसकारण म सन्तुष्ट छैन ।

नेपाली भाषा अनिवार्य पढाउन अरु कुनै उपाय गर्दै हुनुहुन्छ कि ?

विश्वमा नेपाली नपुगेको सायदै कुनै देश होला । नेपालीको एक मात्र चिनारी नेपाली भाषा हो । भाषा नबचे केही बच्दैन भन्ने कुरा हामीले बुझाउनुपर्छ । मणिपुरका सबैजसो विद्यालयहरुमा नेपाली शिक्षकहरु विभिन्न विषय पढाउँछन् । यी शिक्षकले नै नेपाली भाषाको विषयमा बढी चिन्ता गर्नुपर्छ ।

जस्तो, म हिन्दी भाषाको शिक्षकका रुपमा नियुक्त भएको छु । विद्यालयमा हिन्दी पढाउनु मेरो जागिर हो । तर, घरमा म नेपाली ट्युसन सित्तैमा पढाउँछु । जबकि हिन्दी ट्युसन पढ्न आउने प्रसस्तै छन् र त्यसबाट मलाई राम्रो आम्दानी हुन्छ । तर, आम्दानीभन्दा मलाई आफ्नो भाषा नमरोस् भन्ने चिन्ता लाग्छ र नेपाली भाषा पढाउँछु । यस्तो काम हरेक शिक्षकले गर्नुपर्छ । अभिभावकलाई पनि बुझाउनुपर्छ ।

म बर्माका नेपालीबाट असाध्यै प्रभावित छु । त्यहाँका विद्यालयहरुमा नेपाली भाषा पढाइ हुँदैन । तर, उहाँहरुले आफ्ना सन्तानलाई तीन महिना अनिवार्यरुमा मन्दिरहरुमा नेपाली विषय पढाउनु हुन्छ । यसका लागि नेपाली समुदायले ठूलो खर्च गरिरहेको छ । त्यसबाट हामीले धेरै कुरा सिक्न सक्छौंँ ।

नजिकै बर्मामा त्यस्तो, मणिपुरमा यस्तो । यसको कारण के होला ?

बर्मामा नेपाली भाषा नपढे आफ्नो जाति नै हराउने चिन्ता छ । सैनिक सरकारको ‘एक जात, एक भाषा’ नीतिका कारण बर्माका धेरै जाति बमेरमा परिणत भए । केही दशकभित्रै आफ्नै आँखाअघि धेरै जातिको भाषा र संस्कृति हराएको देखेपछि त्यहाँका नेपाली विद्वानहरु झस्किए । परिणाम्, उनीहरु नेपाली भाषा बचाउने अभियानमा लागे ।

मणिपुरमा त्यस्तो भएन । अरु केही नभए नेपाल छँदैछ भन्नेहरु पनि प्रसस्त छन् । यसले गर्दा यहाँ लापरवाही भयो । भोलि नेपाल अथवा दार्जेलिङ्तिर बसाइ सरिन्छ, आफ्ना मान्छेहरुका बीचमा पुग्ने भए पछि के को चिन्ता भन्ने पनि होला । यहीँ जरो गाडेकाहरुलाई भने आफ्नो जाति मासिएला कि भन्ने चिन्ता छ ।

मणिपुर छाडेर भारतका अन्य सहर वा विदेश जानेहरु बढेको देखियो । यसको कारण के होला ?

नेपाली अवसरवादी जाति हो । जता अवसर देख्छन्, त्यतै फुर्र उडिहाल्छन् ।

नेपालबाट पनि अमेरिका वा अस्ट्रेलिया जानेको ताँती छ । पहाडबाट तराई वा काठमाडौं पुगिरहेका छन् । मणिपुरका नेपालीहरुको रगत पनि त्यही हो । यहाँका पढेका युवाहरु दिल्ली र ब्याङ्लोर जान हतारिन्छन् । अलि कमजोरहरु सके नेपाल जाने, नसके सिलिगुडी र मेची नदीका किनारका सस्ता जग्गाहरु किन्ने चलन छ । हाम्रा बाजेहरु पनि अवसरकै खोजीमा यहाँ आइपुगेका हुन् । आसाम र दार्जीलिङतिरका नेपालीहरुमा चाहिँ यसरी बसाईं सर्ने चलन अलि कम छ । असुरक्षाको भावले पनि हो कि !

कस्तो असुरक्षा ?

मणिपुरेहरुले यहाँका नेपालीलाई मणिपुर छाडेर जाऊ भनेका छैनन् । यहाँ गोर्खालीको ठूलो इज्जत छ । तर, हामी यहीँ जन्मेको भए पनि यिनीहरु नेपालबाट आएका हुन् भन्ने आम मनोभाव महसुस हुन्छ । यसले मनमा चिन्ता पैदा गर्छ । वनको बाघले नखाए पनि यहाँका नेपालीहरुलाई मनको बाघले खाने गरेको छ ।

मणिपुरमा धेरैथरिका विद्रोही समूह छन् । तिनको डरले पनि काम गरेको हुनसक्छ । सरकारले भने गोर्खालीको योगदान बिर्सिएको छैन । मणिपुर राज्यको रक्षा गर्ने क्रममा निरंजन क्षेत्रीलाई अंग्रेजले फासी दिएको इतिहास यहाँको सरकारले बिर्सिएका छैन ।

रानीको माइती नेपाल भएको र उनीसँगै ठूलो सङ्ख्यामा नेपालीहरु मणिपुर आएको इतिहासका कारण पनि उनीहरु हामीलाई इज्जत गर्छन् ।

हजारौंको सङ्ख्यामा नेपालीहरु आउँदा मणिपुरमा कस्तो प्रभाव परेको पाउनु हुन्छ ?

अंग्रेजी सेनालाई दूधको अभाव भएपछि गाई पाल्न धेरै नेपाली यहाँ आएका हुन् । त्यसअघि मणिपुरेले गाई–भैंसीले दूध दिन्छ र त्यसको सदुपयोग गर्न सकिन्छ भन्ने थाहा पाएका थिएनन् । उनीहरु खेतीपाती गर्न पनि उति जान्दैनथे । यी सब काम नेपालीहरुले सिकाए । युद्धकला र खेलकुदमा आज मणिपुर निकै अघि छ । गोर्खा सैनिकका कारण यी कुरा मणिपुरेलाई हामीले सिकाएका हौं । आसामको सिलोङ् सहर नै नेपालीले बसाएको हो । यस अर्थमा मणिपुरले नेपालीबाट धेरै पाएको छ ।

बर्मामा कडा सैनिक सासन हुँदा तपाईंले पुस्तकहरु लुकाएर पठाउने र त्यहाँका कवि लेखकका रचना नेपाल तथा भारतमा छपाउने गर्नुहुन्थ्यो रे । कुन प्रेरणाले त्यो चुनौति लिनुभयो ?

मेरो ससुराली मणिपुरको पुर्वी छेउ बर्माको सीमा नजिक रहेको नेपाली बस्ती मोरेमा हुन पुग्यो । त्यहाँबाट बस्तुस्थिति बुझ्दा पारि बर्माका नेपालीहरुले नेपाली अक्षर नदेखेको बर्षौ भएको थाहा भयो । यसले मलाई निकै चिन्ता दियो । पुस्तक पठाउन निकै कठिन थियो । त्यस्तो अवस्थामा मसँग भएका पुस्तकहरु दुधका भाँडाहरुमा प्लास्टिकले बेरेर पठाउन थालेँ । त्यसबाट उहाँहरु निकै खुसी भएको पत्रहरुमा लेख्नुहुन्थ्यो ।

दशरथ घिमिरे नामका एकजना कवि हुनुहुन्थ्यो । उहाँ राम्रो लेख्नुहुन्थ्यो । तर, त्यो छाप्ने ठाउँ थिएन । उहाँले दुधका ग्यालेनमा पलास्टिकले बेरेर आफ्ना रचना पठाउनु हुन्थ्यो । त्यसलाई मैले दार्जेलिङ्को ‘हाम्रो ध्वनी’ र नेपालको ‘गरिमा’ पत्रिकामा पठाउँथेँ । यस्ता रचना र रचनाकार अरु पनि भेटिन थाले । दार्जेलिङ् वा काठमाडौंमा आफ्ना रचना छापिएको थाह पाउँदा उहाँलाई निकै हौसला मिल्थ्यो ।

आज मणिपुर र म्यान्मारका लागि तपाईं आदर्श साहित्यकार मानिनुहुन्छ । यसको श्रेय कसलाई दिनुहुन्छ ?

आदर्श त अलि ठूलो उपमा भयो । सामान्य लेखकसम्म हुँ भन्ने लाग्छ । उहाँहरुले ठूलो बनाइदिनुभएको मात्र हो । खासमा मेरो प्रेरणाको स्रोत भनेको बर्माका नेपाली नै हुन् । कठिन सैनिक शासनका बेला पनि नेपाली भाषा साहित्यलाई जसरी जर्गेना गर्नुभयो, त्यो देखेर मलाई ठूलो हौसला मिलेको हो ।

ठाकुरप्रसाद गुरागाईंले त्यस्तो कठिन अवस्थामा पनि कक्षा एकदेखि १० कक्षाका पाठ्यपुस्तक तयार पार्नुभयो । सयौं बालगित र कविता रचना गर्नुभयो । गाउँ गाउँ गएर धार्मिक कुरा पढाएको भन्दै नेपाली भाषा साहित्यको उत्थान गर्नुभयो । यी कुराले नै मलाई मणिपुरमा नेपाली भाषा र साहित्यमा केही गर्ने हौसला दिएका हुन् । तर पनि मैले केही गर्न सकिन भन्ने चिन्ता लागिरहन्छ ।

मणिपुरमा तपाईंंपछि नेपाली साहित्यलाई थेग्ने व्यक्तित्व तयार हुन सकेन भन्ने चिन्ता गरिदो रहेछ । तपाईंलाई कस्तो लाग्छ ?

नयाँ पुस्ताका एक से एक छन् । महेश पौडेल सशक्त कवि, लेखक, समीक्षकका रुपमा उदाएका छन् । नेपाल बसे पनि उनलाई हामी मणिपुरकै नेपाली साहित्यकारका रुपमा लिन्छौं ।

१८९३ मा प्रकाशित ‘मणिपुरको सवाई’ र त्यसका लेखक तुलाचन आलेदेखि अहिलेसम्मका कृति हेर्दा दुःख मान्नुपर्ने अवस्था छैन । मुक्ति गौतम, आशारानी राई, पदमबहादुर राई, कृतिमणि खतिवडा, आलोक गौतम, दीपक पन्थी, नेत्र अधिकारी, होमप्रसाद शिवाकोटी, देवी थापा, बद्रीशरण खतिवडा, राहुल राई, घनश्याम कोइराला, डा. गोमादेवी शर्मा, कमल थापा, दीपक पन्थी, नेत्र अधिकारी, होमप्रसाद शिवाकोटी, देवी थापा, बद्रीशरण खतिवडा, डा. गोमादेवी शर्मा, कमल थापा ‘प्रकाश’, सृष्टि पौडेल, हरिदास बस्नेत, सीतादेवी क्षेत्री, सूरज चापागाईंहरु लेखिरहनु भएको छ ।

नेपाली साहित्य परिषद् मणिपुरले राम्रा साहित्यकार जन्माउने र साहित्यिक गतिविधिको काम गरिरहेको छ । अब स्तरोन्नतितर्फ ध्यान जानुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment