Comments Add Comment

वास्नादार धुवाँ, गन्धरहित भ्रष्टाचार

झन्डै एक वर्ष अगाडि गौशाला  चोकनजिकै एउटा पर्यटक बसले फालेको धुवाँको मुस्लोले एकछिन प्राणै जालाजस्तो भयो। तत्कालै  भिडियो खिचेँ र ‘हेल्लो सरकार’ मा उजुरी गरें। हेल्लो सरकारले उपत्यका ट्राफिक प्रहरीलाई निर्देशित गर्यो । ट्राफिकले पनि म (उजुरीकर्ता) लाई धन्यवाद भन्दै दोषीलाई कारवाही गर्ने आश्वासन दियो। पछि, मैले खबरदारी गर्न बिर्सें, उसले जिम्मेवारी महसुस गर्न बिर्स्यो।

आजभोलि त सवारीले फाल्ने धुवाँको विषयलाई लिएर गुनासो पनि के गर्नु, वा कसलाई गर्नु ? जबकि, सेतो प्लेट टल्काएर हुँइकिने २ पाङ्ग्रे र ‘लालबत्ती’वाला ४ पाङ्ग्रेकै धुवाँ छिचोल्न हम्मे-हम्मे हुन्छ। सवारी मर्मत खर्चवापत वार्षिक करोडौँ रुपैयाँ पत्पताउँदो धुवाँको मुस्लो उड्दा, हाम्रा प्रधानमन्त्रीको पजेरोभित्र त्यो धुवाँको गन्ध छिर्छ, छिर्दैन होला ?

हेल्लो सरकारप्रति मलाई झिनो आशा थियो । किनभने झन्डै २ वर्षअघि शहरमा बजाइने अनावश्यक हर्न नियन्त्रण गर्न हेल्लो सरकारमै उजुरी गरेको थिएँ। थाहा छैन, मैले गरेको गुनासोले काम गर्यो वा गरेन, यद्यपि, छोटै समयका लागि भए पनि उपत्यकामा हर्न बजाउन नपाउने नियम कार्यान्वयनमा आयो र धेरैका कानले राहत पाए। आजभोलि शहरको भिडभाडमा, बिहेमा सहनाई बजेसरी  पुन: हर्न बज्न थालेका छन् । तर, सबैका कान आराम-कुशलै छन्।

 गन्धप्रतिरोधी नाक भएका हाम्रा विद्वत प्रधानमन्त्रीको श्रवणशक्ति कमजोर होला भन्ने मलाई लाग्दैन। किनभने प्रतिपक्षीले उहाँको आलोचना गर्दै गरेको खासखुसको तरंगलाई एम्प्लिफाई गरिकन जब एउटा लयमा भाषण गर्नुहुन्छ, सुनेर हाँस्ने धेरैमध्ये म पनि एक हुन्छु । तर, तालीचाहिँ बजाउँदिन।

उहिले-उहिले मेरा पुर्खालाई बुढ्यौलीमा आक्कल-झुक्कल लाग्ने रोग, आजभोलिका मेरा पुस्ताका निम्ति नियति बनिदिएका छन्। रसायन शास्त्रको गहिराइमा नपुगिकनै सामान्य विद्यालय शिक्षाको ज्ञानका आधारमा भन्ने हो भने कार्वन मोनोअक्साईड क्यान्सरजन्य रोगको एक मुख्य स्रोत हो, जुन डिजेलबाट चल्ने सवारी साधनले फालेको धुवाँमा मनग्गे हुन्छ। अनि यसको असरको लेखाजोखा गर्नलाई हाम्रो समाजमा बढेका क्यान्सर रोगीका संख्या हेरे पुग्छ। शहरको यत्रो जनघनत्वमा श्वास फेर्ने वायुमण्डल नै धुवाँको मुस्लोबाट बनेको भान हुन्छ, त्यसको असर कस्तो छ चर्चा गर्ने सामर्थ्य ममा छैन।

विश्वास बाबु पोखरेल 

हाम्रा पुर्खाले उमेरमा डल्ला फोर्दै गलत तरिकाले भारी बोक्दा, कालान्तरमा ढाडको नशा च्यापिने समस्याबाट पीडित हुन्थे। आजभोलि कार्यालयको कुर्सीमै दिन बिताउँदै, बिहान-बेलुका मोटरसाइकल/ स्कुटर चलाउने युवा जमातमा नशासम्बन्धी रोग बर्ग्रेल्ती देखिन थालेका छन्।

राजधानीको पिच रोडमै, गाउँको ग्राभेलमा ट्राक्टर उफ्रेजस्तो मोटरसाइकल उफ्रिँदा मेरुदण्ड र कुम फत्लक्कै गल्छ। यो पीडा सुविधासम्पन्न साइरनजडित गाडीमा हुईंकिनेलाई बुझाउन मुस्किल छ। जसरी हालसालै बारा-पर्सामा आएको विपत्तिको रिपोर्टिंग गर्न गएका केहिथान शहरिया पत्रकारले त्यहाँका वासिन्दाको वास्तविक दु:खलाई प्रस्तुत गर्दै बुनेको समाचार हाँसोको विषय बनेको थियो, त्यस्तै जनताका आधारभूत दु:ख पनि प्रधानमन्त्री कार्यालयमा पुग्दा सायद त्यस्तै बन्छ होला। र, त प्रधानमन्त्रीज्यूले गज्जब-गज्जबका आइडिया पस्किदिनुहुन्छ: दूध नबिके कुराउनी बनाउनु, मुला नबिके सिन्की बनाउनु आदि इत्यादि। कुराउनी र मुलाको अचार नसुनेका किसान अब धन्य भए होलान्।

झन्डै २ वर्ष हुन लाग्यो, चाबहिल आसपासका सडकको दुर्दशा भोग्नुपरेको।  चाबहिल चोकबाट गौशालातर्फ लाग्दा पैदल होस् वा दुई पाङ्ग्रे सवारी, यात्रा दौरान गरुड पुराणमा विवेचना गरिएका नर्कका अधिकांश बयान एकै निमेषमा अनुभूति गर्न पाइञ्छ। चाबहिलबाट उत्तरतर्फ जोरपाटीतिरको बयान गर्दै, पापिष्ठले भोक्नुपर्ने सजायका रुपमा शास्त्रमा वर्णन गरिदिने हो भने, पाप गर्नुअघि जो कोहीले एकफेर सोच्थे होलान्।

हाल विमानस्थलको धावनमार्ग मर्मतको काम चलिरहेको छ। रात्रिकालीन उडान रातको १० बजेअगावै बन्द हुन्छ। धेरैवटा उडान लगभग एकै समयमा हुने भएपछि यात्रुको चाप बढ्ने नै भयो। श्रमिक भिसामा गन्तब्यतर्फ जानको लागि ‘ए1’ प्रवेशद्वार छुट्याइएको छ। साँझका बेला यात्रुको चाप सो द्वारबाट विमानस्थलको अपरेसन्स बिल्डिंग परको पार्किङ्गसम्म पुगिसक्दा पनि द्वारमा कागजात चेकजाँचका लागि  दुईजना प्रहरी खटाउने सुद्दी, विमानस्थल प्रशासनलाई आउँदैन। निरीह श्रमिक आफ्नो जहाज त नछुट्ला नि भन्दै केही तनाव अनि धेरै आशा लिएर पंक्तिवद्ध भएकै हुन्छ।

अनि कोही हुन्छन, नेपालको तौर-तरिका राम्रोसँग बुझेका। जान्छन् सीधै द्वारमा, बनाउँछन् बहाना, अनि छिर्छन् स्वाट्टै, पंक्तिवद्द भएकाहरुको परवाहै नगरिकन।

छैनभन्दा सबैथोक छ यो मुलुकमा। पढ्नका लागि देशभरि हजारौँ सरकारी विद्यालय छन्। उपचारका लागि हरेक प्रदेशमा, प्राय: सबै जिल्ला सदरमुकाममा अस्पताल छन्। अस्पताल र विद्यालयमा आवश्यक दरवन्दी छुट्याइएकै छ। हवाई उडानका लागि नेपाल वायुसेवा निगम छ। उद्योगधन्दा नभएर के भो त, युवाले जापान, कोरिया, खाडी मलेसिया जाने अवसर पाएकै छन्।  त्यहाँ जान नसक्नेलाई यत्राविघ्न राजनैतिक दलले पालिदिएकै छन्।

आखिर के छैन यो देशमा ? धुलो बढार्ने ब्रुमर छ। राजधानीका कतिपय चाेकमा प्रदूषणमापक यन्त्रजडित छन्। केही मुख्य चाेकमा ट्राफिक लाइटजडित नै छन्। दुब्ला-पातला कोल्टिएर हिँडे दुई जनासम्म अट्ने सडकपेटी छँदैछन्। कर्मचारी, नेता, मन्त्री सलललल गुड्ने गाडी चढेकै छन्। सेनाले टहरो बनाएकै छ, प्रहरीले स्कर्टिङ्ग गरेकै छ।  नयाँ-नयाँ गाडी भित्रिएको राजस्वले देश चलेकै छ।

जनता आजभोलि सुती-सुती खान पाएर अलिक अल्छे भएका भने पक्कै हुन्। खेत बाँझो राख्न थाले। तिनलाई कारवाही गरेपछि लगभग यो देशको समस्या सकियो। देशभरि रेलै-रेल अनि ठूला नदी जति सबैमा पानीजहाज चलाएपछि  पानीजहाज कार्यालय र रेल विभागले पनि रोजगार पाउँथे अनि त “समृद्द नेपाल, सुखी नेपाली। “

जय होस्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment