Comments Add Comment

भैरहवा भन्सारमा घुसको दररेट, एजेन्टले नै चलाउँछन् कार्यालय

३ वैशाख, काठमाडौं । राजधानी काठमाडौंबाट आज प्रकाशित दैनिक पत्रिकाहरुले विविध विषय उठाएका भए पनि अनियमितता र बेथिति नै सबैजसोको पहिलो प्राथमिकतामा परेको छ । सरकारी सम्पत्ति हिनामिनादेखि सरकारी अड्डामा हुने खुलेआम घुस कारोबारसम्मका विषयलाई पत्रिकाहरुले उठाएका छन् । त्यस्तै, वैदेशिक रोजगारीको कहर, मेडिकल कलेजको ठगी, निःशुल्क औषधि वितरणमा देखिएको बेथितिलाई पनि आजका पत्रिकाहरुले स्थान दिएका छन् ।

भैरहवा भन्सार कार्यालयको चिरफार आजको अन्नपूर्णले गरेको छ । अन्नपूर्णका अनुसार यो भन्सार कार्यालयमा खुलेआम घुस कारोबार हुने गरेको छ । भन्सार कार्यालय सञ्चालनका लागि सरकारले कर्मचारीको व्यवस्था गरेको छ । तर, यो कार्यालयमा कर्मचारीको कुर्सी प्रायः खाली हुन्छ । एजेन्टले नै भन्सार चलाइरहेका हुन्छन् ।

अन्नपूर्ण लेख्छ– भन्सारमा वस्तुका आधारमा भन्सार मूल्य तय गर्न दररेट बनेको हुन्छ । हरेक वर्ष नयाँ बजेटमा आउने यो सामान्य विषय हो । मुलुककै दोस्रो ठूलो भैरहवा भन्सारमा भने गाडी पास गराएबापत तिर्नुपर्ने घुसको समेत दररेट कायम छ । त्यो कुनै भित्तामा टाँसिएको त छैन । तर, कर्मचारी र एजेन्टलाई कण्ठै छ ।

अन्नपूर्णका अनुसार, भन्सार कार्यालय वरपर एजेन्टको अड्डा छ र त्यही दररेट पाइन्छ । भैरहवा भन्सारबाट दैनिक करिब साढे पाँच सय मालवाहक गाडी भित्रिने गरेका छन् । अन्नपूर्णको दाबी अनुसार, यो कार्यालयमा दैनिक सवा आठ लाखको घुस कारोबार हुन्छ । वर्षमा ३० करोडभन्दा बढी । यसरी कारोबार हुने घुस कार्यालय सहयोगीदेखि मन्त्रीसम्म पुग्ने गरेको अन्नपूर्णको समाचारमा उल्लेख छ ।

नेपाली जेलमा ११ सय विदेशी रहेको अर्को खबर पनि अन्नपूर्णमा छ । आपराधिक गतिविधिमा संलग्न विभिन्न मुलुकका नागरिक देशका जेलहरुमा सजाय काटिरहेका छन् । जेलमा सबैभन्दा बढी भारतीय नागरिक छन् । यसरी जेलमा रहेका १९४ जनालाई लागूऔषध कारोबारको अभियोग छ ।

ध्वंसात्मक गतिविधिको आरोपमा सरकारले प्रतिबन्ध लगाएको नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका शिक्षक संगठनका अध्यक्ष घनश्याम पाठक प्रवल जनसेवाश्रीबाट सम्मानित भएको रोचक खबर पनि अन्नपूर्णमा छ ।

अन्नपूर्णका अनुसार उनी गत वर्ष मात्रै अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय अध्यक्ष भएका थिए । राजनीतिक दलनिकट शिक्षक संगठनका अध्यक्ष भए पनि उनले नेतृत्व गरेको स्कुलको अध्ययनअध्यापन अब्बल छ । उनी बुटवल उपमहानगरपालिका–१० स्थित कालिका मानविज्ञान माविका प्रधानाध्यापक पनि हुन् ।

थिमिमा सोमबार सम्पन्न सिन्दूर जात्राको तस्वीर छापेको कान्तिपुरलले कतारमा कार्यरत ४६ नेपाली कामदार झण्डै १ वर्षदेखि तलब र भिसाविहीन बनेको लेखेको छ । पार्क, स्विमिङ पुल, मनोरञ्जन स्थल आदि निर्माण गर्ने कतारस्थित बहुराष्ट्रिय कम्पनी अक्वा मास्टर्समा कार्यरत ४६ नेपाली कामदार झण्डै १ वर्षदेखि अलपत्र परेका हुन् ।

लामो समयसम्म आर्थिक र मानसिक तनाव बेहोर्नुपर्दा यो कम्पनीमा ८ वर्षदेखि कार्यरत एक कामदारले आत्महत्या गरेका छन् भने अरू कामदार पनि भगौडा हैसियतमा कतारका विभिन्न क्याम्पसमा बसिरहेका छन् । अदालतले तलब दिन फैसला गरे पनि पाएका छैनन् । नेपालीले करिब ५ करोड रुपैयाँ लिन बाँकी छ ।

त्रिभुवन र काठमाडौं विश्वविद्यालयका मेडिकल कलेजहरुले विद्यार्थीबाट नियमविपरीत लिएको रकम फिर्ता नगरेकोलाई पनि कान्तिपुरले प्राथमिकताका साथ छापेको छ । शिक्षा मन्त्रालयले गत चैत ७ गते सरोकारवालाको छलफलमा विद्यार्थीबाट लिएको रकम एक महिनाभित्र फिर्ता गर्ने सहमति गरे पनि कलेजहरुले फिर्ता गर्न आनाकानी गरेका हुन् ।

समाचार अनुसार, कलेजहरुले बरु उल्टै अतिरिक्त शुल्क असुलीलाई निरन्तरता दिइरहेका छन् ।

नेपालको पहिलो भू–उपग्रह ‘नेपाली स्याट–१’ बिहीबार अमेरिकाबाट लन्च गर्न लागिएकोलाई कान्तिपुरले एंकर बनाएको छ । समाचार अनुसार नेपाली समयअनुसार बिहान २ बजेर ३१ मिनेटमा लन्च गर्ने तयारी गरिएको छ ।

नागरिकले प्रधानमन्त्रीले नयाँ वर्षका दिन गरेको सम्बोधन मन्त्रीले नै बहिस्कार गरेको लेखेको छ । तत्कालीन माओवादी केन्द्रबाट मन्त्री बनेकाहरु प्रधानमन्त्रीको सम्बोधनमा उपस्थित नभएको समाचारमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment