Comments Add Comment

रौतहटमा नियम मिचेर निजी विद्यालयलाई अनुमति

रौतहट । जिल्लाको गरुडा नगरपालिकाले शिक्षा ऐन र नियमावली विपरीत निजी विद्यालयलाई एकै पट १० कक्षासम्मको अनुमति दिएको पाइएको छ ।

शिक्षा ऐन २०२८ तथा शिक्षा नियमावली २०५९, स्थानीय सरकार संचालन ऐन २०७४ को आधारमा संस्थागत विद्यालयलाई एक पटकमा एक कक्षाको मात्रै अनुमति दिने प्रावधान भए पनि नगरका केही विद्यालयले १० कक्षासम्मको अनुमति एकैपटक लिएका छन् ।

शिक्षा ऐनअनुसार नयाँ विद्यालयले पहिलो वर्ष कक्षा एकको मात्रै अनुमति पाउने र त्यस पछि प्रत्येक वर्ष विद्यालयको भौतिक पूर्वाधार लगायतका मापदण्डहरु पूरा गरेका एक तह थप गर्दै जाने व्यवस्था रहेको छ ।

गरुडा नगरपालिकाको शिक्षा शाखाले हिमाल एकेडेमी, सिभिल, सुन्दरम, गुरुकुललगायत आधा दर्जन निजी विद्यालयलाई नियम विपरीत अनुमति प्रदान गरेको हो । आर्थिक प्रलोभनमा परी जनप्रतिनिधि र कर्मचारीले नियम विपरीत अनुमति दिएको भन्द आलोचना भएको छ ।

नयाँ विद्यालयको लागि शिक्षा ऐन वा नियमावलीमा एकै पटकमा एक भन्दा बढी कक्षाको अनुमति दिने प्रावधान नरहेको शिक्षा विकास तथा समन्व इकाइ रौतहटका प्रमुख जयप्रसाद महतले बताए । ‘नियमावलीमा कुनै पनि ठाउँमा एक कक्षा भन्दा माथिको अनुमति प्रदान गर्ने भनेर उल्लेख गरिएको छैन’ उनले भने ‘कहि कसैले एकै पटकमा ५, ८ वा १० कक्षा सम्मको अनुमति दिएका छन भने त्यो कानून विपरीत हो ।’

गरुडा नगरपालिकाको उक्त निर्णको निजी विद्यालयको प्रतिनिधिमूलक संगठन प्याब्सनले विरोध जनाएको छ । ‘सरकारले व्यवस्था गरेको नियम भन्दा बाहिर गएर नातावाद वा कृपावादको आधारमा बोर्डिंङको अनुमति बाडनु सरासर गलत कार्य हो’ प्याब्सन रौतहटका अध्यक्ष वीरेन्द्र ठाकुरले भने ।

निजी विद्यालयहरु कम्पनी ऐन अन्तर्गत दर्ता गर्न बन्द भए पछि अहिले शैक्षिक गुठी अन्तर्गत दर्ता गरेर स्थानीय तहबाट कक्षा सञ्चालनको अनुमति लिनुपर्ने व्यवस्था रहेको छ । अनुमति विना सञ्चालन भएका कतिपय निजी विद्यालयले पनि रौतहटमा अभिभावक झुक्याउँदै भर्ना अभियान चलाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment