Comments Add Comment

रसुवागढी र सान्जेनको १५ सय कित्ता सेयर किन्न सभामुखको आवेदन

Photo Credit : फाइल फाेटाे

६ बैशाख, काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले जलविद्युत आयोजनाको सेयरका लागि आवेदन दिएका छन् । सभामुख महराले सरकारले शुरु गरेको ‘जनताको जलविद्युत’ कार्यक्रम अन्तर्गत शुक्रबार रसुवागढी तथा सान्जेन जल विद्युत आयोजनाको सेयरको आवेदन खुला गर्दै आफूले पनि पहिलो पटक लगानीका लागि आवेदन दिएका हुन् ।

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आयोेजित कार्यक्रममा उनले रसुवागढी जलविद्युत कम्पनीको १ लाख बराबरको एक हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए ।

कार्यक्रममा सभामुख महराकी पत्नी सिता महराले पनि रसुवागढी जलविद्युत आयोजनाको १ लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत कम्पनीको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिएकी छन् ।

त्यसैगरी उर्जा, जलस्रोत तथा सिँचाई मन्त्री वर्षमान पुनले रसुवागढी जलविद्युत कम्पनीको एक लाख बराबरको १ हजार कित्ता र सान्जेन जलविद्युत आयोजनाको ५० हजार बराबरको ५ सय कित्ता सेयर खरिदका लागि आवेदन दिए ।

मन्त्री पुनकी पत्नी पूर्व सभामुख ओनसरी घर्तीले पनि मन्त्री पुने बराबरनै सेयर खरिदका लागि दुवै जलविद्युत आयोजनामा आवेदन दिएका छन् । कार्यक्रममा बोल्दै सभामुख महराले जनताको जलविद्युत आयोजनामा जनताको लगानी गर्ने नयाँ कार्यक्रम सरकारले सुरु गरेकोमा खुशी व्यक्त गरे ।

उनले सो कार्यक्रममार्फत् आफू पहिलो पटक सेयर बजारमा प्रवेश गरेको पनि बताए । सभामुख महराले जलविद्युत आयोजनाको सेयरमा जनताको लगानी सुनिश्चित गर्न पनि सरकारलाई सुझाव दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको जलविद्युत कार्यक्रमको आरम्भ गर्दै यस अघि नै माथिल्लो त्रिशुली जलविद्युत बी आयोजनामा सेयर आवेदन गरी २० कित्ता सेयर प्राप्त गरेका थिए ।

सरकारले जनताको जलविद्युत कार्यक्रम अन्तरगत २१ वटा जलविद्युत आयोजनाको छनौट गरी लगानीका लागि सर्वसाधारणमा समेत सेयर आवेदन खुला गरेको यो दोस्रो पटक हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment