Comments Add Comment

कथा : घर छोड्ने ‘होमवर्क’

मैले घर छाड्ने भएँ । तर, छाडेर जाने कहाँ ? दश वर्षको सिँगाने फुच्चे कहाँ जाओस् । घरबाट पूर्व, पश्चिम, उत्तर, दक्षिण चारै दिशामा आधा घण्टाको बाटो बाहेक पर पुगेको छैन । अब कुन दिशामा कता जाऔँ ? दिनभरि त जहाँ पुग्छु पुगौँला, हिँडौँला । तर, घाम फुत्त डाँडापारि खसेपछि झ्याप्प्पै साँझ पर्छ । अनि कहाँ बस्ने ?

अझ त्यसपछि कालो अनुहार लगाएर डरलाग्दो रात आउँछ । अनि कसको घरमा पस्ने ? अर्काको घरमा बास माग्नुपर्ने अवस्थाको ज्ञान हुँदो हो त म घरै किन छाड्ने भन्थेँ र ? यी सब सम्भावनाहरू थाहा पाउँदो हो त म बुबाको गाली पचाएर चुपचाप घर बस्ने थिएँ । तर, म त मन भारी बनाएर घर छाड्ने भएँ ।

मलाई आफू गुटुटु गरेर भुइँतलामा धुलो झार्दै कुदेको चोटाकोठा आफ्नो लागेन । आमाले ‘चप्पल अलि परै खोलेर आइज’ भन्दा पनि नटेरेर पट्यास पट्यास चप्पल पड्काउँदै पसेको भान्साकोठा आफ्नो लागेन । मलाई त घरको आँगन, पींढि, भित्ता, दलिन सबै बाको लाग्यो। आफ्नो लागेन । मलाई आफुले लगाइराखेको सुकिलो लुगामा पनि बाको पसिना गनायो । त्यही भएर मलाई बुबाको सबथोक बुबाकै घरमा छोडेर हिँड्ने मन भयो ।

गाला रातै हुने गरी बा’ मलाई गोदिरहे । म हिक्का रोक्दै सहिरहेँ । मलाई त आमा पनि आफ्नै लाग्थ्यो । तर, आज आफ्नो लागेन

बाले साह्रै चित्त दुखाइदिएका थिए । मन कुँडिएको थियो । तर, यदि हेरेको थिएँ भने ऐना, म देख्ने थिएँ काटीकुटी बाको जस्तै अनुहार । म कसरी छोड्न सक्थेँ उप्काएर बुबाको अनुहार आफ्नो खप्परबाट ? ऐना हेरेको थिइनँ । र पो म निबुवा निचोर्दा चाउरिने हत्केलाजस्तो चाउरिएको मन बोकेर घर छाड्ने भएँ ।

बाले बेस्सरी हकारेका थिए । त्यति त सहेकै हो सधैँ । अलिअलि कुट्थे । त्यो पनि पचिरहेकै थियो । तर, आज गाला रन्किने गरी निर्मम कुटे । यो भने नयाँ भएको थियो । यदि यस्तो विशेष परिस्थिति नआएको भए म बस्ने थिएँ आफ्नै घर ठानेर । तर, मैले आफ्नो घर ठानेर बस्ने अनुमति गुमाइसकेको थिएँ । घर छाड्ने मन बनाइसकेको थिएँ ।

‘मेरो घरमा बस्न पर्दैन यस्तो चोर । आज पसलको सामान चोर्छ । भोलि चक्कु बोकेर बटुवाको खल्ती काट्छ । पर्सि खुकुरी बोकेर बजारमा डकैती गर्छ । यस्ता मान्छेलाई भात खुवाएर पाल्न सक्दिनँ म ।’ यति वाक्य बोलिरहँदा गाला रातै हुने गरी बा’ मलाई गोदिरहे । म हिक्का रोक्दै सहिरहेँ ।

मलाई त आमा पनि आफ्नै लाग्थ्यो । तर, आज आफ्नो लागेन । मेरो गालामा बाको मोटो हत्केलाको प्रहार पर्दा पनि आमा मौन बसिरहिन् । बाले एक थप्पड हाने। मैले आमालाई हेरेँ । आमा भावशुन्य थिइन् । एवं रीतले बाले पाँच थप्पड हानेपछि बल्ल आमा ‘भयो अब नकुट्नुस्’ भनेर छेक्न आइपुगिन्  ।

पाँच थप्पड यसले खानैपर्छ भन्ने मानसिकता बोकेर बाको प्रहारमा मौन सहमति जनाएकी आमा मलाई मायालु लागिनन् । जब बा दुश्मन लागे, आमा पराई लागिन्, तब मलाई घर आफ्नो लागेन । र, मैले मुटु गाँठो पारेर घर छोड्ने निर्णय गरेँ।

गोदाई खाएको रात आँशु पिएरै म बाको घरमा सुतेँ । घर त छोड्छु छोड्छु । तर, अहिले राति कता निस्किनु ? गाडी पनि त पाइँदैन । त्यसैले भोलि बिहान घर छोड्ने निधो गरेँ ।

त्यसरात मैले खाना पनि खाइनँ । दुश्मनले खेती गरेर ल्याएको चामलका दानाहरू निष्ठुरी पराइले पकाएकी थिइन् । एक थोपो पनि मायाको रस नभएको भातका सीता निल्न मलाई रहर जागेन ।

‘नखाए नखाओस् भातमारा चोरले । यही भात लतारेर बिग्रेको हो यो । यही भात बढी भएर यो अर्काको पसलबाट चाउचाउ चोर्ने भा’को ।’ बाले यति भनेपछि म सुतेको ओछ्यानमै भातको थाल बोकेर मलाई उठाउन कुममा घोचिरहेकी आमाले थाल लगेर झ्याँगामा खन्याइन् अनि चुलो लोटाई पोती गरिन् ।

बा त दुश्मन भैगए । खान दिन्नँ भने भने । तर, आमा ? किन कर गरिनन् मलाई ? किन आफ्नै हातले मुछेर कोच्याई कोच्याई खुवाइनन् ? किन भनिनन् ‘बाले त्यति भनेको सहनुपर्छ । बाले त्यति गोदेको पनि आफ्नै लागि हो । असल बन्नुपर्छ भनेर हो । अर्काको लहैलहैमा लागेर चोर्ने ठग्ने काम गर्नुहुन्न । ल यति भात खाइदेउ नत्र रातभरि पेट क्याउँ क्याउँ गर्छ ।’ तर, अहँ आमाले यस्तो भन्दै भनिनन् ।

बा त जहिल्यै गाली गर्ने, कुट्ने गर्थे । जब आमा पनि आफ्नो जस्तो लागिनन्, मलाई रातभरि पेटको भोकभन्दा बढी मनको भोकले सतायो । मायाको भोकले सतायो । आखिर को रहेछ र यो दुनियाँमा मलाई माया गर्ने ? कोही त रहेनछ ।

कोल्टे फेरिरहें । आँशु, सिँगान अनि र्‍याल सप्पै सोसेर सिरानी लपक्कै भिजेको थियो । मनभरि कुराहरु खेलिरहे । के गल्ती गरेको थिएँ र मैले ? साथीले चाउचाउ ल्याएको थियो । सँगै बसेर खाएँ । यही त हो । के थाहा उसले पैसा नतिरी ल्याएको कुरा ? पैसा दिन बिर्सेछ भनेर साथीसँग पैसा मागेको भए भैहाल्थ्यो त । कुरा लगाउँदै हिँड्नु जरुरी थिएन त्यो पसलेलाई पनि ।

साथीले दिएको जाबो दुई मुठ्ठी चाउचाउ खाँदैमा म कसरी चोर भएँ ? किन कुरा लगाउनुपरेको मेरो बालाई ? म घरमात्र हैन, गाउँ छोड्ने भएँ । जब गाउँ नै छोड्ने भएँ भने म किन बाँकी राख्नु त्यो पसलेलाई । मैले प्रण गरें । घरबाट निस्कँदा खुकुरी लिएर निस्किनेछु । छप्काउनेछु पसले बसन्तेलाई ।

फेरि सोचेँ । सकुँला र ? ज्यानै मार्नु त अलि अप्ठ्यारो कुरा । त्यसमाथि म फुच्चे मान्छे । उल्टै खुकुरी खोसेर मलाई नै छप्कायो भने ? धन्न यस्तो विचार आयो । मैले बसन्तेलाई नमारी गाउँ छोड्ने भएँ ।

कमेरो त कमेरो नै हो, तर आफ्नो घरको कमेरोको चमक बेग्लै उज्यालो हुने रहेछ । मलाई भने आजैका मितिदेखि बाको घर गन्हाउन थालेको थियो । अँध्यारो लागेको थियो

तर, के म कसैलाई केही प्रभाव नपारी गाउँ छोडौँ र ? बदला नलिकन त कसरी गाउँ छोड्नु ? ढुंगा या चिर्पटले हिर्काएर भाग्नेछु बसन्तेलाई । ऊ मलाई लखेट्दै पछिपछि आउन सक्छ । त्यसैले मैले चिर्पटको पहिलो प्रहार उसको घुँडामा गर्नुपर्छ । यसो भयो भने ऊ मलाई लखेट्न आउन सक्दैन । खुट्टा खोच्याएर भए पनि लखेट्दै आयो भने ढुंगाले निधारमा लाग्ने गरी हान्नुपर्छ । मैले योजना बनाएँ ।

तर, यसरी बसन्तेलाई हिर्काउँदा त हल्ला हुन सक्छ । अरु मान्छेले पनि लखेट्न सक्छन् । म समातिन सक्छु । समातिएँ भने त झन् बर्बाद ! शुरुमा गाउँलेहरुको कुटाई खान सक्छु । त्यसपछि बाबुको । साथीले चोरेर ल्याएको चाउचाउ अलिकति हत्केलामा थापेर खाँदा त कुट्ने बाउले मान्छे मर्ने गरी ढुंगाले हिर्काउँदा मलाई के गर्लान् ? मेरो सास ढक्क फुल्यो । अनि मैले बदला नलिइकन गाउँ छोड्ने निधो गरें ।

मैले योजना बनाएँ । म झिसमिसेमै उठ्नुपर्छ । आमाभन्दा पनि चाँडो । बत्ती नबालिकन अँध्यारैमा लुगा लगाउनुपर्छ। स्कुल जाने झोलामा केही लुगाहरु राख्नुपर्छ ।

अनि सोचेँ, बाटो त टाढा होला । यात्रा लामो हुन सक्ला । खर्च पनि त चाहिएला । सुस्तरी पस्नेछु बाआमाको कोठामा । ढोका छेवैको किलोमा झुण्डिरहेको हुनेछ बाको कमिज । त्यसैको खल्ती खाली गर्नेछु । तर, कमिज खस्यो भने ? ढोकामा चुकुल छैन, त्यो त थाहा छ । तर, ढोका ठेल्दा चुईचुई गरेर बज्यो भने ? बाको निद्रा खुलिसकेको रहेछ भने ? म फेरि नर्भस भएँ । झन् कति खाने होला त्यसपछि गोदाई ?

बरु उज्यालो भएपछि निस्किँदा ठीक होला । स्कुलबाट सोझै भाग्दा ठीक होला । बिहान बा यताउता लाग्दा बरु फुत्त पैसा निकाल्न पनि सजिलो हुन्छ । अब मैले अँध्यारोमा हैन, उज्यालोमा घर छोड्ने भएँ ।

घर छाड्ने अनेक योजनाहरु बने । स्कुलबाट भाग्ने योजना ठीक लाग्यो । साथीहरुको अनुहार झल्झली नाचे । सबै बिराना हुनेछन् । मैले घर छोडेपछि घर बिरानो हुनेछ । माटो त माटो नै हो, तर आफ्नो घरको भित्तो लिपेको माटोको बास्ना बेग्लै हुने रहेछ । कमेरो त कमेरो नै हो, तर आफ्नो घरको कमेरोको चमक बेग्लै उज्यालो हुने रहेछ । मलाई भने आजैका मितिदेखि बाको घर गन्हाउन थालेको थियो । अँध्यारो लागेको थियो । त्यसैले म यो घर छाड्ने भएको थिएँ।

गाउँ त गाउँ नै हो । तर, आफ्नो गाउँमा शीर बलियो गरी ठाडो हुँदोरहेछ । छाती फराकिलो भएर फैलिँदो रहेछ । तर, आजकै मितिदेखि मलाई मेरो गाउँमा आफ्नो शीर निहुरिएको महशुस भएको थियो । चौतारोमा बसेर उत्तम र मैले चाउचाउ खाइरहँदा बसन्तेले पछाडिबाट उत्तमको कठालो च्याप्प समाएको थियो । ‘चोर सालेहरु पख तिमार्का बाउहरुलाई नभन्दिई ।’

‘अबदेखि तँलाई खान मन भयो भने मलाई भनेस्। बाले यी यस्तो पनि ल्याइदिनुभाछ ।’ आमा मुस्कुराउँदै वाईवाई चाउचाउको कार्टुन बोकेर आउनुभो

यति भनेर उत्तमको गाला नीलो हुने गरी हिर्काएको थियो । ‘मैले घरबाट ल्याएको’ भनेर उत्तमले झोलाबाट निकालेको वाईवाई चाउचाउ अलिकति मेरो मुखमा थियो । मलाई निल्नु कि ओकल्नु भएको थियो । तर स्वाद मीठो भएर होला, चाउचाउ सुस्तरी घाँटीबाट पेटतिर ओर्लिएको थियो । चोरको पगरी गुथिएको भएर होला छाति साँघुरिएको थियो । त्यसैले त म गाउँ छोड्ने भएको थिएँ ।

कुराहरु पखेरामा बाँदरका बथान आएर खेलेझैं कहिले सोचको यो हाँगामा आएर खेल्थे । कहिले तर्कनाको त्यो हाँगामा गएर झुन्डिन्थे। बेस्सरी कल्यांग मल्यांग गरे एकछिन । अनि कता गए गए । हराए । म निदाएँ।

‘हैन स्कुल जानी बेला भैसक्यो, अझै उठ्दैन त यो ।’ आमाको आवाज कानमा आएर ठोक्किएपछि ब्युँझिएँ । रेडियोमा आठ बजेको अंग्रेजी समाचार बजिरहेको थियो । जेठको घाम, पनि चरक्क हुने गरी बिहानै चर्किएको थियो । उठेर हातमुख धोएँ । आमाले चिया दिनुभयो । अरे ! यो के अचम्म ? आमाले त दुनोट पनि दिनुभयो । म जिल्ल परेर हेरिरहें ।

‘हिजो राति भोकै सुतिस् भनेर बाले बिहानै मास्तिर बजार पुगेर ल्याइदिनुभा’। चाँडो उठ्यो भने दिनु भन्नु हुन्थ्यो तँ रातभरि यता र उता फर्केर सुँक्सुँकाइराथिस् । निद्रा नपुग्या होला भनेर सबेरै बोलाइनँ । अब यति खाएर एक्छिनाँ भात खानू ।’

मैले निन्याउरो अनुहार बनाएर हस् भनें । आवाज भने प्रष्ट गरेर निस्किनै मानेको थिएन ।

चियामा दुनोट चोबेर खाँदा झल्झली बा सम्झिएँ । कुट्ने बानी बदल्ने हो भने मेरा बाजस्ता असल मान्छे अरु कोही छैनन् ।

‘ए सुन् त ।’ आमाले फेरि भन्नुभयो ।

‘अबदेखि तँलाई खान मन भयो भने मलाई भनेस्। बाले यी यस्तो पनि ल्याइदिनुभाछ ।’ आमा मुस्कुराउँदै वाईवाई चाउचाउको कार्टुन बोकेर आउनुभो । मेरा आँखाबाट हर्षाश्रु बगे ।

‘सधैँ स्कुल जाँदा एउटा-एउटा खाजा लैजान्छु हई आमा ? मैले बल्ल प्रष्ट बोलीमा भनें । आमाले पनि हुन्छ भन्नुभो ।

त्यसदिन मैले कहिल्यै घर नछोड्ने निधो गरें ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment