Comments Add Comment

सञ्चिता लुइटेलको अनुभव : बच्चालाई पहिलो पटक विद्यालयमा पुर्‍याउँदा

यसै शैक्षिक सत्रदेखि बच्चालाई पहिलो पटक विद्यालय पठाउँदै हुनुहुन्छ ? के उनीहरु खुसीसाथ विद्यालय जान्छन् ? विद्यालयमा बस्न रुचाउँछन् ? कक्षाकोठामा रमाउँछन् ? शिक्षक/शिक्षिकासँग झ्याम्मिन्छन् ? आफ्ना साथीहरुसँग घुलमिल हुन्छन् ?

सबै बच्चाको हकमा यी प्रश्नहरुले सकारात्मक उत्तर नदिन सक्छ । किनभने पहिलो पटक बच्चालाई भर्ना गरिदिएपछि उनीहरु खुसीसाथ विद्यालय जान मान्दैनन् । आमा र बुवा छाडेर शिक्षक/शिक्षिकासँग झ्याम्मिदैनन् । आफ्नो ओछ्यान, खेलौना छाडेर विद्यालयको कक्षाकोठामा बस्न रुचाउँदैनन् ।

यस्तो अवस्थामा कसरी बच्चालाई विद्यालय पुर्‍याउने ? कक्षाकोठामा बस्नका लागि कसरी अभ्यस्त गराउने ?

कतिपय आमाबुवासँग यसको खास अनुभव नहुन सक्छ । उनीहरु आफ्ना बच्चालाई सहजै विद्यालय पुर्‍याउन सकिरहेका हुँदैनन् । यसै सन्दर्भमा अनलाइनखबरले सञ्चिता लुँइटेलको अनुभव यहाँ साझेदार गरेको छ । सञ्चिता एक अभिनेत्री मात्र होइनन्, आमा पनि हुन् । एक बर्ष अन्तरालको दुई सन्तान हुर्काइरहेकी सञ्चिता बालबच्चाको लालनपालनमा निकै ध्यान राख्छिन् । बालबच्चा कसरी हुर्काउने भन्ने सन्दर्भमा उनीसँग खास अनुभव पनि छ ।

अतः यहाँ उनको अनुभव उनकै भाषामा प्रस्तुत गरिएको छ ।

मैले यसरी बच्चालाई विद्यालयमा अभ्यस्त गराएँ

छोरा आर्थव र छोरी जान्वीलाई विद्यालय पठाउन त्यती गाह्रो भएन । उनीहरु विद्यालयसँग डराएनन् पनि । सजिलै विद्यालय गए र त्यहाँको माहौलमा घुलमिल भए । अहिलेसम्म उनीहरु विद्यालयप्रति नकारात्मक छैनन् । शिक्षक/शिक्षिकासँग भयभित छैनन् । खुसीसाथ जान्छन् । रमाउँछन् ।

तर, उनीहरुलाई विद्यालयमा बानी पार्नका लागि मैले सुरुवाती दिनमा निकै मेहनत गरेकी छु । दुबैलाई युरो किड्समा भर्ना गरिदिएकी थिएँ ।

जब उनीहरुलाई विद्यालय भर्ना गरियो, तब म पनि विद्यालय धाउन थालें । म आफै उनीहरुलाई विद्यालय लगेर गएँ । त्यहाँको माहौल देखाएँ । साथीभाईसँग घुलमिल गराएँ । तर, विद्यालय पुर्‍याएर छाड्दा उनीहरुले नियास्रो मान्ने, आमाको अभाव महसुष गर्ने हुन्छ भन्ने लाग्यो ।

यदि उनीहरु कक्षाकोठामा नियास्रो भए, अर्को पटक विद्यालय पुर्‍याउन गाह्रो हुन्थ्यो । उनीहरुलाई दोस्रो दिन विद्यालय पुर्‍याउनका लागि केही झुट बोल्नुपर्ने हुन्थ्यो । वा फकाउनु/फुल्याउनु पर्ने हुन्थ्यो । त्यसो गर्दा पनि मनेनन् भने लोभ वा डर देखाएर उनीहरुलाई विद्यालय पठाउनुपर्ने हुन्छ । यी सबै उपाय त्यती राम्रो होइन भन्ने मलाई लाग्छ ।

बच्चालाई लोभ देखाएर, डर देखाएर, झुट बोलेर विद्यालय पठाउँदा त्यसले उनीहरुको कलिलो मनमा ठेस पुग्छ । यही क्रममा उनीहरु विद्यालयप्रति नकारात्मक हुन पुग्छन् । शिक्षाप्रति उनीहरुको मनमा वितृष्णा जाग्न सक्छ ।

त्यसैले सुरुवाती दिनहरुमा म उनीहरुसँग कक्षा कोठामा बसें । उनीहरुसँगै खेलें । आफ्ना आमाबुवासँग बस्न पाएपछि बच्चाहरु त्यहाँको माहौलमा सजिलै घुलमिल हुन सक्छन् ।

बिहान बच्चालाई विद्यालय पुर्‍याउने । कक्षाकोठामा उनीहरुसँगै बस्ने । अनि उनीहरुसँगै घर र्फकने । यसरी विस्तारै विस्तारै उनीहरुमा बानी पर्‍यो । कक्षाकोठामा उनीहरु आफै रमाउन सक्ने भए ।

जब बच्चालाई विद्यालय जान मन लाग्दैन

कहिले काहीँ बच्चाले भन्छन्, ‘आमा आज म स्कुल जान्न ।’

उनीहरुलाई म जबरस्ती गर्दिन । विद्यालय किन नजाने भनेर केरकार पनि गर्दिन । विद्यालय जानैपर्छ भनेर दबाव दिन्न । विद्यालय नगएकोमा दुःखी हुँदिन । सहज रुपमै भन्छु, ‘ठिक छ, आज नजाने भए केही छैन ।’

बच्चालाई कहिले काहीँ विद्यालय जान अल्छी लाग्छ । उनीहरु घरमै बस्न रुचाउँछन् । यस्तो बेलामा बच्चालाई जबरजस्ती विद्यालय पठाउनु उचित लाग्दैन मलाई ।

विद्यालय नगएका बेला उनीहरु घरमै खुसीसाथ बस्छन् । दिनभर खेल्छन् । रमाउँछन् । भोलिपल्ट उनीहरुलाई विद्यालयका लागि दबाव दिनुपर्दैन । आफै तयार हुन्छन् ।

बच्चाको मुड सधै एकनास हुँदैन । तर, हामी उनीहरुप्रति सधै एउटै व्यवहार गछौर्ैं । उनीहरुको अवस्था र मनोदसा बुझ्दैनौ । जान मन नलागेको बेला विद्यालय जानुपर्दा उनीहरुलाई दिक्क लाग्छ । त्यही दिक्दारीले कक्षाकोठाप्रति वितृष्णा जाग्न सक्छ ।

मनमा चिन्ता, पिर र डर बोकेर विद्यालय पुगेका बच्चा त्यहाँ रमाउँदैनन् । खुसीसाथ नयाँ कुरा सिक्दैनन् । त्यसैले विद्यालय पठाउँदा बच्चालाई सकेसम्म खुसी बनाएर वा उत्साहित बनाएर पठाउनुपर्छ । अझ उनीहरु आफै विद्यालयप्रति उत्सुक भए राम्रो ।

अनलाइनखबरसँगको कुराकानीमा आधारित

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment