
८ वैशाख, विराटनगर । मलद्वारभित्र लुकाएर लागुऔषध तस्करी गरेको आरोपमा प्रहरीले सुनसरीका एक युवकलाई पक्राउ गरेको छ ।
शनिबार सीमावर्ती बजार जोगवनीबाट हिँडेर विराटनगरतर्फ आउँदै गरेका सुनसरी इटहरी उपमहानगरपालिका– ३ का २२ वर्षका राजन न्यौपानेलाई जतुवा नहरमा प्रहरीले पक्राउ गरेको हो ।
असजिलो गरी हिँडिरहेका उनलाई प्रहरीले चेकजाँच गर्दा एक एम्पुल लुपिजेसी, एक एम्पुल डाइजेल्याब, एक एम्पुल एभिल फेला पारेको थियो ।
सोधपुछकै क्रममा राजनले मलद्वारभित्र १८ एम्पुल लागु औषध लुकाएर ल्याएको पनि खुलाएका थिए । मलद्वारबाट ६ एम्पुल डाजेल्याब, लुपिजेसिक ६ एम्पुल, एभिल ६ एम्पुल निकालिएको मोरङका डीएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
मलद्वारभित्र र बाहिर गरी जम्मा २१ एम्पुल लागु औषध बरामद भएको प्रहरीले जनाएको छ । न्यौपानेलाई आइतबार लागुऔषध नियन्त्रण ऐन अन्तरगत जिल्ला अदालत मोरङबाट म्याद थप गरी अनुसन्धान सुरु गरेको प्रहरीको भनाइ छ ।
गत माघ १५ गते मलद्वारमा लागुऔषध लिएर विराटनगरतर्फ आउँदै गरेका एक युवक पक्राउ परेका थिए । धरान– १६ सुनसरी २८ वर्षका सुवास प्रधानबाट डाइजेल्याब ५, एभिल १३, लुपिजेसिक ११ एम्पुल लागूऔषध बरामद गरेको थियो ।
प्रतिक्रिया 4