Comments Add Comment

युक्रेनको चुनाव : टीभी सिरियलका राष्ट्रपतिले सम्हाल्ने भए सत्ता

मत परिणाम अगावै प्रतिस्पर्धीद्वारा हार स्वीकार

काठमाडौं । युक्रेनियन हास्य कलाकार भोलोडिमिर जेलेन्स्की अपार जनसमर्थनका साथ राष्ट्रपतिमा निर्वाचित हुने सुनिश्चित देखिएको छ । उनका मुख्य प्रतिस्पर्धी तथा बहालबाला राष्ट्रपति पेट्रो पोरोशेन्कोले मत परिमाण घोषणा नहुँदै हार स्वीकारेका छन् ।

निर्वाचनपश्चात गरिएका ‘एक्जिट पोल’ले अत्याधिक मतका साथ जेलेन्स्की निर्वाचित हुने देखाएकाे हाे ।

तीन साता अगाडिको पहिलो चरणको मतदानमा उनले ७० प्रतिशत मत प्राप्त गरेका थिए ।

४१ वर्षीय जेलेन्स्कीको जितले जितको खुशीयाली मनाउन थालिसकेका छन् । ‘म कहिल्यै तपाईंहरुलाई निराश बनाउने छैन,’ उनले आइतबार आफ्ना समर्थकहरुमाझ भने । यद्यपि, उनले औपचारिकरुपमा आफू राष्ट्रपति बनिनसकेको बताए ।

यदि एक्जिट पोलले देखाएको नतिजा सही सावित भएमा जेलेन्स्कीले आगामी पाँच वर्ष यूक्रेनको नेतृत्व सम्हाल्नेछन् । यूक्रेनमा राष्ट्रपति शक्तिशाली हुन्छ, जसको हातमा देशको सुरक्षा, रक्षा तथा वैदेशिक नीतिको साँचो हुन्छ । मत परिणामको घोषणा आज रातिसम्म हुने अपेक्षा गरिएको छ ।

बहालबाला राष्ट्रपतिलाई हास्य कलाकारले चुनौती दिएपछि युक्रेनको राष्ट्रपति चुनाव विश्वव्यापी चर्चाको विषय बनेको थियो । धेरैले यो राष्ट्रपति पेट्रो पोरोशेन्कोका लागि अपमानको विषय ठानेका थिए ।

पहिलो चरणबाट ३७ जना उम्मेदवारहरु रिंग आउट भए भने राष्ट्रपतिले ९ प्रतिशत मत मात्रै प्राप्त गरे । यता जेलेन्स्कीले झण्डै ४५ प्रतिशत मत आफ्नो पोल्टामा पारेका थिए । यसबाटै राष्ट्रपति पोरोशेन्कोलाई ठूलो झट्का लागेको थियो भने जेलेन्स्कीका समर्थकले खुशीयाली मनाउन थालेका थिए ।

सन् २०१४ देखि सत्तामा रहेका पोरोशेन्कोले एक्जिट पोलको नतिजा बाहिरिएपछि भनेका छन्, ‘चुनावको नतिजाले हामीलाई अनिश्चितता र अन्योलमा पारिदिएको छ । म कुर्सी छोड्दैछु तर, राजनीति छोड्दिन ।’

किन लोकप्रिय बने जेलेन्स्की ?

जेलेन्स्कीले लामो समयसम्म प्रशारण भएको हास्यव्यंग्य सिरियल ‘सर्भेन्ट अफ द पिपल’ मा युक्रेनको राष्ट्रपतिको भूमिका निभाएका थिए । उनी सुरुमा एक शिक्षक हुन्छन्, जो सामाजिक सञ्जालमा भ्रष्टाचारविरोधी अभियान चलाएर भाइरल हुन्छन् । त्यसपछि उनले एउटा राजनीतिक पार्टी गठन गरेर चुनाव लड्छन् ।

उक्त सिरियलमा उनको राजनीतिक पार्टीको नाम जे थियो, त्यही नामबाट पार्टी खोलेर अहिले चुनाव लडेका हुन् । उनीसँग कुनै पनि राजनीतिक अनुभव भने थिएन । कुनै विशेष राजनीतिक दर्शन अघि सार्नुभन्दा पनि उनले आफूलाई अन्य उम्मेदवारभन्दा व्यवहारमा फरक देखाउन खोजेका थिए ।

विश्लेषकहरुले विश्वास गरेका छन् कि जेलेन्स्कीको अनौपचारिक शैली र युक्रेनको राजनीतिमा थुप्रिएको फोहोर सफा गर्ने प्रतिवद्धताले जनता प्रभावित बनेका छन् ।

पोरोशेन्कोको कार्यशैलीसँग जनता पटक्कै सन्तुष्ट थिएनन् । यसले पनि जेलेन्स्कीलाई फाइदा पुगेको छ ।

टिभी सिरियलमा जस्तै जेलेन्स्कीले चुनाव लड्दा भ्रष्टाचारलाई नै प्रमुख मुद्दा बनाएका थिए । उनका आलोचकहरुले भने जेलेन्स्कीसँग राजनीतिक अनुभव नभएकाले देश चलाउन नसक्ने ठोकुवा गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment