Comments Add Comment

प्रतीक्षामा ‘गेम चेन्जर’ माथिल्लो तामाकोसी

कुलमान भन्छन्– अर्को वर्ष भारतलाई बिजुली बेच्छौं

९ वैशाख, दोलखा । दोलखामा निर्माणाधीन ४५६ मेगावाटको माथिल्लो तामाकोसी आयोजनको प्रगति विवरण सुनेपछि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको मुखबाट फ्याट्ट निस्कियो, ‘अर्को वर्ष भारतलाई विजुली बेच्छौं ।’

झट्ट सुन्दा यो पत्यार नलाग्न सक्छ किनकी १८ घन्टे लोडसेडिङबाट छुटकारा पाएको धेरै भएको छैन । अझै कतिपय मानिस ‘भारतबाट विद्युत आयात गरेर लोडसेडिङ नभएको त हो नि’ भन्छन् । त्यस्तो अवस्थामा भारतलाई विद्युत बेच्ने कुरा असहज लाग्नु स्वभाविक हो । तर कुलमानले सुनाएको योजना पनि असम्भव छैन ।

भारतलाई विजुली बेच्ने योजना बुन्नुको कारण हो, ‘गेम चेन्जर’ परियोजना माथिल्लो तामाकोसी ।

विनाशकारी भूकम्प, भारतीय नाकाबन्दी लगायतको अवरोध नभएको भए यो आयोजना निर्माण सम्पन्न भइसक्त्यो । त्यसमाथि डिजाइन परिवर्तन, हाइड्रोमेकानिकल (लट २) भारतीय ठेकेदारको कमजोर कार्यसम्पादन लगायतले पनि असर गर्‍यो । जसका कारण आर्थिक वर्ष २०७३/७४ भित्र विद्युत् उत्पादन गर्ने लक्ष्य प्रभावित भयो ।

अहिले आगामी पुस महिनाभित्र आयोजनाको निर्माण सक्ने लक्ष्यका साथ काम भइरहेको छ ।

कुलमान र टिमको दौडधुप

पुसमा आयोजना सम्पन्न हुने लक्ष्य त तय गरिएको छ, त्यसअनुसार काम भएको छ कि छैन भन्ने चासो छ ।

प्राधिकरणका प्रमुख घिसिङलाई पनि यहि चिन्ता छ । त्यसैले कार्यतालिका अनुसार काम भए नभएको हेर्न प्राधिकरणको टोली प्रत्येक महिना निर्माणस्थलमै पुगेर समीक्षा गर्न पनि थालेको छ । त्यही क्रममा शनिबार घिसिङ आयोजनाको ‘हेडवक्र्स’ लामाबगर पुगेका थिए । निर्माणस्थलको भ्रमणपछि आयोजनाको व्यवस्थापन, ठेकेदार कम्पनीहरु र परामर्शदाता कम्पनीका प्रतिनिधिलाई राखेर गोंगरमा समीक्षा बैठक गरे ।

‘यो आयोजना विद्युत प्राधिकरणका लागि मात्रै होइन, समग्र मुलुकका लागि नै महत्वपूर्ण छ’ बैठकपछि घिसिङले अनलाइनखबरसँग भने, ‘यो आयोजना अब पनि ढिलाइ हुनुहुन्न भनेर नै म महिनाको एकपटक तामाकोसी आउन सुरु गरेको छु । यसले आयोजनामा समस्या हल गर्न, सहजीकरण गर्न र उत्प्रेरणा थप्न सहयोग पुग्छ ।’

के हुँदैछ साइटमा ?

आगामी पुसबाट तामाकोसी आयोजनाको एउटा युनिट सञ्चालन गर्ने लक्ष्यसहित निर्माणका लागि काम भइरहेको छ ।

आयोजनाको हाइड्रो मेकानिकल ठेक्का लिएको भारतीय कम्पनी टेक्सम्याकोको कमजोर कार्यसम्पादनका कारण निर्माण प्रभावित भएपछि १५ पुस २०७६ (३१ डिसेम्बर २०१९) भित्र ७६ मेगावाटको एउटा युनिट चलाउन समयतालिका बनाएर काम हुँदैछ । हेडवक्र्सको काम लगभग अन्तिम चरणमा पुगेको छ । बाँध बाँध्ने, गेट बनाउने, बालुवा थ्रिग्याउने लगायतका कामका संरचनाको काम लगभग सकिएको छ । बाँध स्थलमा अन्तिम चरणमा ‘फिनिसिङ’को काम भइरहेको छ ।

सुरुङभित्रको काम पनि लगभग सकिने क्रममा छ । लाइनिङ गर्ने लगायतका काम पनि सकिने चरणमा रहेको आयोजनाले जनाएको छ । आयोजनाको सर्ज टनेललाई फिनिसिङ दिन सिभिल निर्माणका जिम्मा पाएको सिनो हाइड्रोले काम तीव्र गरेको छ ।

स्थानीय भैँसे खोलाको पानी तामाकोसीको सुरुङमा नै खसाउन बनाइँदै गरेको संरचनाको काम पनि अब सकिन लागेको छ । आयोजनाको माथिल्लो र तल्लो पेनस्टक साफ्टमा ३७२ मिटर पेनस्टक पाइप जडानको काम पनि भइरहेको छ । यो काम नै आयोजनाको अहिलेको सबैभन्दा जटिल एवं चुनौतिपूर्ण काम भनेको छ ।

माथिल्लो पेन्नस्टक साफ्टको काम सुरु भए पनि तल्लो सफ्टमा काम अझै तीव्र गतिमा अघि बढेको छैन । भारतीय टेक्सम्याकोकाले काम गर्न ढिलाई गरेपछि तल्लो साफ्टको काम गर्न अहिले इलेक्ट्रोमेकानिकल (लट ३)को ठेकदार अष्ट्रियन कम्पनी एन्ड्रिज हाइड्रोलाई जिम्मा दिइएको छ । तर, एन्ड्रिजले पनि ढिलाई गरेको छ ।

अपर तामाकोसी हाइड्रोपावर लिमिटेड, टेक्सम्याको र एन्ड्रिजबीच गत २३ पुसमा आयोजनालाई थप वित्तीय भार नपर्ने गरी यो काम गर्न त्रिपक्षीय सम्झौता भएको थियो । ७३२ मिटरमध्ये माथिल्लो पेनस्टकको काम भारतीय कम्पनी टेक्सम्याकोले नै गरिरहेको छ ।

भूमिगत विद्युत गृहमा टर्वाइन, जेनेरेटर लगायतका उपकरण जडान सकिएको छ भने प्रसारण लाइन तथा सबस्टेसन निर्माण अन्तिम चरणमा पुगेको कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले जानकारी दिए ।

‘ढिलाइ अस्वीकार्य’

निर्माणस्थल पुगेका प्राधिकरण प्रमुख घिसिङले सबै ठेकेदार कम्पनीलाई कुनै पनि बहानामा काममा ढिलाई नगर्न निर्देशन दिएका छन् । तोकिएको मितिभित्र आफ्नो काम सक्न सचेत गराउँदै उनले सहजीकरणका लागि आफूहरु तयार रहेको बताए ।

हामीलाई समयसीमाभित्र नै काम सक्नुपर्ने छ,’ उनले ठेकेदार कम्पनीसँगको छलफलमा भने, ‘यो आयोजनामा लगानी गरेका जनताले पनि हामीलाई आयोजना कहिले आउँछ भनेर सोधिरहेका छन् । त्यसैले काममा कुनै प्रकारले ढिलाई नहोस् ।’

लागतको चिन्ता

निर्माण अवधि लम्बिँदा तामाकोसी महंगो बन्दै गएको छ । त्यसैले अब तामाकोसीलाई समयमै सम्पन्न गराउन सबै खालका प्रयासहरु भइरहेको कार्यकारी निर्देशक घिसिङले बताए ।

सुरुमा अनुमानित लागत निर्माण अवधिको ब्याजबाहेक ३५ अर्ब २९ करोड ४१ लाख रुपैयाँ थियो । निर्माण अवधिको ब्याज १३ अर्ब २२ करोड र वित्तीय व्यवस्थापन तथा बैक कमिसनसहित आयोजनाको अनुमानित लागत ४८ अर्ब ८६ करोड हुन्थ्यो । त्यतिवेला एक अमेरिकी डलरको सटही दर ९७.६ रुपैयाँ थियो ।

अहिले आयोजनाको लागत ४९ अर्ब २९ करोड ५५ लाख र निर्माण अवधिको व्याज १९ अर्ब ८४ करोडसहित आयोजनाको अनुमानित लागत ६९ अर्ब ५९ करोड रुपैयाँ पुग्ने संसोधित अनुमान छ । हालसम्म साढे ४४ अर्ब रुपैयाँ खर्च भइसकेको छ ।

नेपाली मुद्राको अवमूल्यन र मूल्य अभिबृद्धिका कारण आयोजनालाई क्रमशः ७ र ५ अर्ब रुपैयाँ थप वित्तीय दायित्व सिर्जना भएको छ । भूकम्पले गर्दा झण्डै दुई वर्ष काम रोकिएको, बाँधस्थलतर्फ जाने सुरुङमार्ग बनाउनु परेको, केही संरचनाको डिजाइन हेरफेर, निर्माण अवधि बढ्दा ठेक्का मूल्य समायोजन, विदशी विनिमय दरमा भएको नोक्सानी, प्रशासनिक खर्चको बृद्धि लगायतले पनि लागत बढेको छ ।

आयोजनाले भूकम्पका कारण क्षति पुगेको विद्युतगृह गोंगरदेखि बाँधस्थल लामाबगरसम्मको पहुँच सडकमा पर्ने काभ्रेभीर नजिकै करिब ३६० मिटर सुरुङ मार्ग बनाएको छ ।

आयोजनामा कर्मचारी संचय कोषले १० अर्ब, नेपाल टेलिकमले ६ अर्ब, नागरिक लगानी कोषले तथा राष्ट्रिय बिमा संस्थानले २/२ अर्ब र अपुग ११ अर्ब ८ करोड रुपैया नेपाल सरकारले ऋण लगानी गरेका छन् । ऋणको ब्याजदर ११ प्रतिशत बढी छ । प्राधिकरणका कार्यकारी निर्देशक घिसिङले सरकारी निकायले महंगोमा ऋण प्रवाह गरेको बताउँछन् । ‘हरेक तीन–तीन महिनामा कम्पाउन्डिङ ब्याजदर तय हुन्छ, यसले गर्दा आयोजना महंगो बनिरहेको छ,’ उनी भन्छन् ।

कम्पनीमा प्राधिकरणको ४१, नेपाल टेलिकमको ६, नागरिक लगानी कोष तथा राष्ट्रिय बीमा संस्थानको २/२ प्रतिशत संस्थापक शेयर छ । कम्पनीमा सर्वसाधारणको १५, दोलखाबासीको १०, संचय कोषका संचयकर्ता, कम्पनी र प्राधिकरणका कर्मचारी तथा ऋण प्रवाह गर्ने संस्थाका कर्मचारीको २४ प्रतिशत सेयर छ ।

भारतलाई विद्युत बेच्ने योजना

थुप्रै अवरोधका बाबजुद आयोजना निर्माण अन्तिम चरणमा पुगेको छ र यो आयोजना बनेपछि उर्जामा नेपालले ठूलो फड्को माने निश्चित छ । प्राधिकरण प्रमुख घिसिङका अनुसार तामाकोसी बनेपछि पिक आवर (सबैभन्दा बढी विजुली माग हुने विहान–बेलुकीको समय) मा यो आयोजनाबाट ४५६ मेगावाट उत्पादन गर्न सकिन्छ ।

सुख्खा याममा साँझको समयममा ४ घण्टासम्म (पिकिङ) पानी थुनेर चलाउने योजना छ । अहिले नेपालमा पिक आवरको व्यवस्थापन गरेरै लोडसेडिङ हटेको हो । अन्य समयमा नेपालको सबै उत्पादित बिजुली पनि खपत हुने अवस्था छैन ।

माथिल्लो तामाकोसी साँझमा चलाए पिक आवरमा समेत भारतबाट बढीमा सय मेगावाट विद्युत ल्याउँदा पुग्छ । ‘हामी अन्य आयोजनाबाट ६ सय मेगावाट जति पिकिङ गर्छौं,’ उनी भन्छन्, ‘त्यसो गर्दा हिउँदको पिक आवरमै भारतबाट न्युनतम् विजुली ल्याउँदा पुग्छ ।’

यो आयोजना बनेपछि वर्षाको समयमा भने नेपालले राम्रै परिमाणमा विजुली बेच्न सक्छ । त्यो परिमाण हिउँदमा नेपालले भारतसँग किन्नेभन्दा बढी हुने प्राधिकरणको अनुमान छ ।

भारतको पावर एक्सचेन्ज मार्केटमा विजुली बेच्ने सम्झौता भएकाले बढी उत्पादन भएको दिन भारतीय बजारमा विजुली बेच्न सक्ने प्राधिकरण प्रमुख घिसिङले बताउँछन् । ‘यो आयोजना आएपछि प्राधिकरणको मात्रै हैन, समग्र ऊर्जा क्षेत्रको आत्मविश्वासले नयाँ उचाई लिन्छ,’ उनी भन्छन्, ‘प्राधिकरणको आयमा मात्र वृद्धि हुँदैन, विजुली आयातमा भइरहेको ठूलो खर्च पनि बचत हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment