Comments Add Comment

जेभियर इन्टरनेशनलमा विदेशी व्यवस्थापन : फरक शैक्षिक प्रणालीको रोल मोडल बनाउने लक्ष्य

१० वैशाख, काठमाडौं । ठूला विकास आयोजनामा विदेशी लगानी भित्र्याउने उद्देश्यले नेपाल सरकारले केही दिन अघिमात्र लगानी सम्मेलन आयोजना गर्‍यो । आयोजनाका उपलब्धीबारे विभिन्न क्षेत्रका आ–आफ्ना टीका–टिप्पणी सुनिए ।

यता निजी क्षेत्रका व्यवसायीले पनि आ–आफ्नो स्तरमा अन्तर्राष्ट्रिय लगानी जुटाउने पहल गरिरहेका छन् । यसै क्रममा निजी क्षेत्रका शैक्षिक संस्थाहरू पनि जुर्मुराएका छन् ।

हालै मात्र काठमाडौँ जेभियर इन्टरनेशनल स्कुल तथा कलेजले आफूले विदेशी लगानी मात्र नभई व्यवस्थापन नै भित्र्याएको जानकारी दिएको छ । युगान्डाका एक जोडी जेभियरको व्यवस्थापन सम्हाल्नका लागि काठमाडौंमा छन् ।

डेढ दशकअघि जेभियर इन्टरनेशनल स्कूल र कलेजको शुरुवात गर्दा लोकबहादुर भण्डारी र गोपाल भण्डारीले जुन सपना देखेका थिए, समयसँगै ती सपना पनि परिस्कृत भए । उनीहरु छोराछोरीको पढाइका लागि अभिभावकले गरेको खर्चमा समेत मुनाफा दिने उपायको खोजीमा जुटे ।

यस क्रममा विभिन्न देशको अध्ययनपछि उनीहरुले निष्कर्ष निकाले– हामीले शिक्षामा लगानी गर्‍यौं, गुणस्तरीय शिक्षा दिएर अभिभावक तथा विद्यार्थीको मन पनि जित्यौं । तर हाम्रा विद्यार्थीलाई विश्व बजारमा प्रतिस्पर्धी बनाउन हामीले मात्र नसक्ने रहेछौं । त्यसका लागि विदेशी लगानी र विदेशी दक्ष जनशक्ति पनि चाहिने रहेछ । शतप्रतिशत रिजल्टले शिक्षण संस्थाको प्रतिष्ठा त बढ्ला तर देशको भरपर्दो पुस्ता तयार पार्न अझै नयाँ प्रयोग गरौं ।

खासमा शिक्षामा आएको विदेशी लगानीले नेपाली शैक्षिक क्षेत्रमा ल्याउने तात्विक परिवर्तन के हो ? नयाँ रणनीतिक साझेदार र व्यवस्थापक भित्र्याएर जेभियरले ल्याउन खोजेको शैक्षिक क्रान्ति चाहिँ कस्तो हो ? यसका चुनौती र अवसर केके हुन् ?

यिनै विषयमा केन्द्रित भई अनलाइनखबरले हाल जेभियरका रणनीतिक निर्देशक मोसेस इगार्डो तथा गुणस्तर सुनिश्चितता निर्देशक आगाथा इगार्डोसँग कुराकानी गरेको छ ।

लोकबहादुर भण्डारी, गोपाल भण्डारी

सुरुमा तपाईंहरू नेपालमा आउनु र काम गर्नुको कारणबारे बताइदिनूस् न ।

मोसेस : कुनै पनि देशको विकासका लागि शिक्षा सबैभन्दा महत्वपूर्ण तत्व हो । नेपाल अझै पनि मध्यमस्तरको आय भएको देश भएकाले मानव पुँजीको विकास महत्वपूर्ण हुन्छ । यदि तपाईँको देशमा शिक्षित मानिस नै छैनन् भने न बिजुली हुन्छ, न त अन्य पूर्वाधार । त्यसैले जेभियर इन्टरनेसनल आफ्ना विद्यार्थीलाई प्रेरक रोल मोडल बनाउन चाहन्छ ताकि उनीहरू नेपाल र समग्र संसारलाई नै अझ राम्रो बनाउन लागून् । हामी त्यसै लक्ष्यमा साथ दिनका लागि यहाँ आएका हौँ । यहाँ आफ्नो अन्तर्राष्ट्रिय अनुभव बाँड्न र नेपाललाई आफ्नो विकास यात्रामा सहयोग गर्न पाउँदा हामी खुशी छौँ ।

आगाथा : सानैमा स्कुल पढ्दादेखि नै मैले यो देशको नक्शा एटलसमा देखेकी थिएँ । त्यो बेला हामी यसलाई ‘नेपउल’ भनेर पढ्थ्यौँ र यो देश कहाँ छ भन्ने थाहा थिएन । संवत् २०७२ को भूकम्पभन्दा केही समयपछि यहाँ आउँदा यसलाई ‘नेपाल’ भनिने रहेछ भन्ने थाहा भयो । त्यो बेला विमानस्थलमा झर्नेबित्तिकै मैले यो देशका मानिसको सौन्दर्य र स्वभाव चाख्न पाएँ । जेभियरमा काम गर्न थालेपछि मैले नेपाल र अन्तर्राष्ट्रिय जगतको शिक्षाबीच के फरक छ भन्ने बुझ्न पाएकी छु ।

लगानीका अतिरिक्त तपाईंहरूको भूमिका यहाँ के हुन्छ ?

मोसेस : प्रायः संसारभरी नै विद्यार्थीको प्राप्ताङ्कलाई खुबै महत्व दिइन्छ । तर अब जेभियरको रणनीति मानव जगत्को सेवा गर्ने शिक्षा हो । हाम्रो शिक्षाले सीप र अनुभव विकासमा जोड दिन्छ । धेरै देशहरूमा उच्च शैक्षिक जनशक्ति हुँदाहुँदै पनि बेरोजगारीको समस्या व्याप्त छ ।

हामी नेपाललाई यस्ता चुनौती सामना गर्नका लागि सहयोग गर्न चाहन्छौँ । यसका लागि हाम्रा विद्यार्थीसँग अतिरिक्त सीप हुनेछ ताकि उनीहरू रोजगारी सिर्जना गर्न मात्र होइन, जस्तो जनशक्तिको बजारमा पनि निर्वाध जान सकुन् ।

प्रायः नेपाली स्कुलको शिक्षा प्रणालीमा सैद्धान्तिक र व्यवहारिक ज्ञानको अनुपात ६०ः४० हुनुपर्छ भन्ने रहेछ । अझ कतिपय अवस्थामा यो ९०ः१० र १००ः० पनि हुने रहेछ । तर हामीले ४० प्रतिशत भाग सैद्धान्तिक र बाँकी ६० प्रतिशत व्यावहारिक ज्ञान हुने रणनीति विकास गरेका छौं । बास्तवमा हामीले हाम्रा शिक्षकहरूलाई यो अनुपात कसरी सुनिश्चित गर्ने भनेर तालिम दिन सुरु गरिसकेका छौं । हाम्रो विश्वास के हो भने जे कुरा सैद्धान्तिक रूपमा पढाउन सकिन्छ, त्यो कुरा व्यावहारिकरूपमा सिकाउन पनि सकिन्छ ।

अर्कोतर्फ हामी हाम्रा विद्यार्थीलाई अन्य व्यावहारिक चुनौतीहरु कसरी सामना गर्ने भनेर सिकाउँदै छौँ । उनीहरू सधैँ स्कुलमा बस्दैनन्; पछि सामुदायिक अगुवा, व्यवसायी, राजनीतिकर्मी, सरकारी कर्मचारी हुन्छन् । ती भूमिकाका लागि उनीहरूलाई तयार गराउन हामी उनीहरूलाई सक्रिय विश्व नागरिकका रूपमा विकास गर्दै छौँ । त्यसका लागि सेवामा झुकाव हुनुपर्ने कुरा सिकाउँदै छौँ । उनीहरूले आवश्यक ज्ञान र सीप सिकेपछि त्यसलाई व्यवहारमा पनि उतार्छन् भन्ने कुरा सुनिश्चित गर्नुपर्छ । यी कुरा जति सानै उमेरमा सिकायो, त्यति नै गहिरोसँग उनीहरूको जीवनका अङ्ग बन्न पुग्छन् ।

हामी समग्र संस्थाले नै अझ राम्रो सेवा दिन सकोस् भन्ने हिसाबमा पुनर्संरचना गर्दै छौं । हामीले शैक्षिक उपलब्धी र सेवागत उपलब्धीमा जोड दिएका छौं । यस संस्थाको शैक्षिक उत्कृष्टतालाई कायमै राख्दै हाम्रा कर्मचारीको सेवाभावमा वृद्धि गर्न चाहन्छौं किनकी हामी पनि सेवामूलक संस्था हौँ ।

आगाथा : एउटा विद्यालयको गुणस्तर यसको जनशक्ति र विश्वासमा निर्भर हुन्छ । जनशक्तिमा शिक्षक मात्र होइन, प्रशासक, भान्छे, कुचीकार, पाले सबै पर्दछन् । हरेक कामको समग्र शिक्षामा भूमिका हुन्छ । क्यान्टिनको खाना नराम्रो भए वा स्कुल फोहोर भए विद्यार्थी बिरामी पर्छन् । हाम्रा सबै जनशक्तिले आ–आफ्नो भूमिका मात्र नभएर ती भूमिका एकअर्कासँग कसरी जोडिएका छन् भन्ने बुझ्नुपर्छ ।

यदि जनशक्तिमा लगानी गर्ने हो र उनीहरूलाई राम्ररी काम गर्ने वातावरण बनाइदिने हो भने उनीहरूले बिद्यार्थीमा अझ राम्रो प्रभाव पार्न सक्छन् । हाम्रो जनशक्ति उत्कृष्ट भए मात्र हाम्रा विद्यार्थी उत्कृष्ट हुन्छन् । हामी के सुनिश्चित गर्न चाहन्छौँ भने हाम्रा विद्यार्थी कुनै परीक्षाका लागि मात्र नभई समग्र जीवनकै लागि तयार होऊन् । जीवनका हरेक तनाव व्यवस्थापन गर्न तयार होऊन् ।

यी सैद्धान्तिक र व्यवस्थापकीय कुरा भए । खासमा वैदेशिक लगानीले नेपालको शैक्षिक गुणस्तरमा पार्ने ठोस प्रभाव चाहिँ के हो ?

मोसेस इगार्डो,आगाथा इगार्डो

मोसेस : हामीलाई लाग्छ, प्रत्यक्ष वैदेशिक लगानीबिना कुनै पनि देश विकास हुन सक्दैन । हरेक देशको विकासका लागि मुख्य तीन क्षेत्रको विकास हुनुपर्छ ः शिक्षा, उद्योग र पर्यटन । शिक्षामा वैदेशिक लगानीमार्फत् हामी पढाउने तरिका रूपान्तर गर्न खोज्दै छौं । हाम्रा विद्यार्थी शैक्षिक हिसाबले उत्कृष्ट रोल मोडल हुनेछन्, अनि हाम्रा कर्मचारी नयाँ शिक्षा विकास गर्न प्रतिबद्ध हुनेछन् । तर हामीलाई थाहा छ, एकै दिनमा सबै कुरा बदलिदैन, समय लाग्छ । मूल्य–मान्यता, सिद्धान्त, संस्कार, प्रणाली विकास भइसकेपछि इच्छाशक्ति भएका मानिसले परिवर्तन लेराउँछन् ।

आगाथा : नेपालसँग स्रोतसाधनयुक्त जनशक्ति पर्याप्त छ र उनीहरूसँग सीप पनि छ । तर सीप र स्रोत–साधन सदुपयोग गर्न प्रोत्साहन छैन । हाम्रो देशतिर चाहिँ शिक्षकका लागि कलेज र बिश्वविद्यालय हुन्छन् । त्यसैले शिक्षकहरू कसरी पढाउने भन्ने विषयमा पहिल्यै तालिमप्राप्त हुन्छन्, यसको अभ्यास पनि गरिसकेका हुन्छन् । बालबालिकालाई कसरी सम्झाउने, कसरी रेखदेख गर्ने भन्ने पनि जानिसकेका हुन्छन् । अब नेपालले पनि शिक्षकको तालिममा धेरै खर्चनुपर्छ भन्ने हामीले बुझेका छौँ । शिक्षकलाई ज्ञान प्रवाहमा रुचि बढाउनका लागि, अनि शिक्षणले विद्यार्थीको जीवनमा महत्वपूर्ण भूमिका खेल्छ भन्ने विश्वास दिलाउनका लागि तालिम दिनुपर्छ ।

अब हाम्रा शिक्षकले आफूलाई रुचि भएका कारणले पढाउनेछन् न कि अन्य विकल्प नभएका कारणले । अन्य ठाउँका शिक्षकलाई सोध्नुहोस्, उनीहरू जहिले पनि अर्को राम्रो अवसरको खोजीमा छन्, तर अब हाम्रा शिक्षकसँग कुरा गर्नुहोस् तपाईँले फरक उत्तर पाउनुहुनेछ । हामीले उनीहरूलाई संलग्न गराएरै उनीहरूको महत्व बुझाएका छौँ । यसले धेरै ठूलो परिवर्तन ल्याउँछ ।

तर तपाईंको संस्था नै यति महँगो छ कि मध्यमवर्गीय अभिभावक र बालबालिकाको तपाईं र तपाईंका शिक्षकसम्म पहुँच नै छैन । यसले आखिर के फरक पार्छ त ?

मोसेस : कहिलेकाहीँ केही नहुनुभन्दा थोरै हुुनु पनि जाति नै हुन्छ । हामीले खालि बाटो देखाउन खोजेका हौँ, केही नयाँ गर्न खोजेका हौं । यो अहिले एक थोपा मात्र होला, तर विस्तारै अन्यत्र फैलँदै जाने छ ।

हामीसम्म पहुँच नभएका जनसङख्याको आवश्यकताबारे पनि हामी सचेत छौँ । तपाईंलाई थाहा छ कि छैन कुन्नि, जेभियर इन्टरनेसनल सबैभन्दा धेरै सङ्ख्यामा छात्रवृत्ति दिने निजी शैक्षिक संस्थामध्ये एक हो । हाम्रो पहुँच बढाउनका लागि हामी ‘आउटरिच’ कार्यक्रम गर्छौँ । हामी अन्य साझेदारहरूसँग पुग्न प्रयास गर्नेछौं र हाम्रो प्रभाव छाड्छौँ । आखिर परिवर्तन कतै न कतैबाट सुरु हुनुपर्छ र हामीले यहाँबाट सुरु गर्‍यौं ।

आगाथा : परिवर्तनका लागि समय लाग्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ । तर जब परिवर्तन हुन्छ, यसको प्रभाव पर्छ, पर्छ । नेपालमा स्कुल मालिकका विभिन्न संस्था छन् र तिनमा उनीहरूबीच विभिन्न विषयमा कुराकानी हुन्छ । स्कुल खोल्ने हरेक व्यक्तिमा कुनै न कारण हुन्छ । हामी तिनैसँग कुरा गरेर बुझाउँछौँ कि तपाईंहरूले यहाँ अझ केही गर्न बाँकी छ ताकि तपाईंको प्रभाव अझ बढी होस् । हामी उनीहरूलाई परिवर्तनको सम्भावना कहाँ छ देखाइदिन्छौँ । उनीहरूमार्फत् नै यो सूचना अन्यत्र फैलिन्छ । सूचना प्रवाहका लागि मौखिक माध्यम नै सबैभन्दा राम्रो हुन्छ ।

परिवर्तनका लागि हामी सम्भाव्य सबै बाटा प्रयोग गर्छौँ । खालि अहिलेलाई आफ्नै घरबाट सुरु गरेका मात्र हौँ । जेभियर एउटा परिवर्तनको, एउटा फरक शैक्षिक प्रणालीको रोल मोडल बन्न खोजेको मात्र हो ।

कुनै पनि क्षेत्रमा प्रत्यक्ष वैदेशिक संलग्नताले नेपालको मौलिक परम्परा र संस्कृतिमाथि आक्रमण गर्ने डर पनि उत्तिकै रहन्छ । नेपाली शैक्षिक परम्पराका पनि आफ्नै सबल पक्ष होलान् । तर अब तपाईंको लगानीले तिनलाई कत्तिको ठाउँ देला त ?

मोसेस : सामान्यतया विविधतालाई हामी कमजोरीभन्दा पनि सबल पक्ष मान्छौँ । फरकफरक संस्कृतिको सहअस्तित्वले हामीलाई बलियो बनाउँछ । हामी ग्लोबल भिलेजको अवधारणामा विश्वास गर्छौं । नेपालका संस्कृति र परम्परा अत्यन्त सुन्दर छन् र यिनलाई कुनै पनि विदेशी अभ्यासले विस्थापित गर्न सक्दैनन् । हामी हाम्रा शिक्षकलाई तालिम दिँदा नेपाली नाचगानको अभ्यास गर्छौं, हामी त्यसमै रमाउँछौँ ।

विदेशी अभ्यासले गर्न सक्ने भनेको यहाँ कुनै काम जसरी भइरहेको छ, त्यसलाई अझ प्रभावकारी बनाउने मात्र हो । म विश्वस्त छु कि नेपाली संस्कृति बलियो जगमा उभिएको छ र यसले आगन्तुक विविधता थेग्न सक्छ । संस्कृतिको संरक्षण र संवर्द्धनमा पनि शिक्षाको भूमिका रहन्छ । हामीले अन्य विषय अङ्ग्रेजीमै पढाए पनि नेपाली विषयलाई पनि हरेक तहमा समावेश गर्दछौँ ।

आगाथा : तपाईं एक नेपाली हुनुहुन्छ र तपाईंलाई आफ्नो भाषा, संस्कृति र सम्पदाबारे ज्ञान छ । यदि तपाईं क्यानाडा जानुभयो भने पनि त्यो बदलिनेवाला छैन, तपाईं नेपाली नै रहनुहुनेछ । आफ्नो पहिचानप्रति तपाईँ गौरवान्वित हुनुहुन्छ भने अरूका लागि आफ्नो ढोका कत्तिको खोल्ने भन्ने तपाईं आफैँ निर्णय गर्नुहुन्छ । मैले भेटेका धेरै नेपालीहरू आफ्नो पहिचानप्रति गौरवान्वित छन् । आफूले कसैलाई हेर्‍यो भने उनीहरू हाँस्छन् । नम्र भएर तपाईंको प्रश्नको उत्तर दिन्छन् । संस्कृति भनेको यही हो ।

तपाईंहरूले नेपाली शिक्षण विधि बदल्न खोज्नुभएको रहेछ । तर विधि मात्र बदलिएर खासै के फरक पर्ला र ? पाठ्यक्रम र विषयवस्तुमै परिवर्तन ल्याउन सक्ने क्षमता तपाईंहरूसँग कत्तिको छ ?

मोसेस : हरेक विकासशील राष्ट्रको समस्या के हो भने उनीहरूका पाठ्यक्रम इतिहासप्रधान हुन्छन्, जसका कतिपय विषयवस्तु आजको सन्दर्भमा कामै लाग्दैनन् । यद्यपि तिनको पनि महत्व छ । तपाईं कहाँबाट यहाँसम्म आउनुभयो भन्ने कुरा थाहा हुनुपर्छ । त्यसैले, पाठ्यक्रम आफैँमा समस्या होइन, यो ठिकै छ । कसरी प्रयोग गरिएको छ भन्ने समस्या हो । पाठ्यक्रम बनाएपछि पाठ्यक्रम निर्माताले कसरी त्यसको प्रयोग गर्ने भनेर नसिकाएकाले समस्या आएको हो । हामी त्यही कुरा सिकाउन चाहान्छौँ कि पाठ्यक्रमका कुरालाई हिजोभन्दा पनि आजका सन्दर्भमा कसरी जोड्न सकिन्छ ।

आगाथा : सामान्य शब्दमा भन्नुपर्दा हामी हिजोको सन्दर्भलाई आजमा समायोजन गर्दै छौँ । यदि तपाईं कुनै क्रान्तिबारे पढाउँदै हुनुहुन्छ भने त्यो क्रान्तिले आजको हाम्रो अवस्थामा के प्रभाव पार्‍यो भन्ने कुरा स्पष्ट गरिदिनुपर्छ । आखिर हिजोको बारे थाहा नपाई आजलाई बदल्न त सकिदैन ।

अन्त्यमा तपाईंहरु आएपछि कक्षाकोठामै ठ्याक्कै के फरक हुन्छ ?

मोसेस : आजसम्म हाम्रा शिक्षकहरूले कक्षाकोठाभित्र मात्र पढाए, अब कक्षाकोठाबाहिरको पढाइ पनि उत्तिकै महत्वपूर्ण हुनेछ । जस्तै : विद्यार्थीलाई त्रिभुजबारे सिकाउनका लागि हामी उनीहरूलाई बास्केटबल कोर्टमा पुर्‍याउँछौँ र त्रिभुजाकार भई उभिन लगाउँछौँ ता कि उनीहरूले त्रिभुज के हो ठ्याकै बुझ्नेछन् ।

त्यसपछि हाम्रा शिक्षकलाई आफ्नो बिषयवस्तु रमाइलो गरी, विद्यार्थीलाई संलग्न गराएर कसरी पढाउने भनेर सिकाइनेछ । हाम्रो स्कुल आउने सबैले हाम्रा शिक्षक अन्यत्रभन्दा फरक भएको महसुस गर्नुहुनेछ ।

नेपालमा अङग्रेजी पढाउने शिक्षकले सामाजिक शिक्षा र गणित पढाउनेले विज्ञान पनि पढाइरहेका छन् । अब हामी सबै शिक्षकलाई आआफ्नो विषयमा केन्द्रित हुन लगाउँछौँ । यो त विशेषज्ञता भएन, व्यावसायिक पनि भएन । जेभियरको पुनर्संरचनामा हामी सबै शिक्षकलाई विशेषज्ञ बनाउँछौँ । यसले सकारात्मक परिवर्तन ल्याउँछ भन्ने हाम्रो विश्वास हो ।

त्यससँगै हामी बालबालिकालाई करिअरबारे मार्गदर्शन पनि दिनेछौँ ता कि उनीहरू स्वतन्त्र रूपमा आफ्ना लक्ष्य निर्धारण गर्न सकून् । आज त पत्रकारका छोराछोरी पत्रकार र शिक्षकका छोराछोरी शिक्षक नै हुन चाहन्छन् किनकि उनीहरूले आफ्ना आमाबुबामा त्यही देखेका छन् । कक्षा ४ देखि करिअर गाइडेन्स कार्यक्रम सुरु हुन्छ । यसका लागि एक छ्ट्टै विभाग गठन गरिएको छ । पाठ्यक्रमभन्दा बाहिरका मूल्य मान्यता र बजारलाई चाहिने विभिन्न सीप, अनि सञ्चार, समय व्यवस्थापन, रिस व्यवस्थापन, सहकार्य लगायतका सीप समावेश गरेर ‘कम्पिटेन्स एजुकेसन’ पनि लागू गर्छौँ ।

आगाथा : शिक्षक र विद्यार्थीबीचको अनुपात परिवर्तन हुनेछ । अर्थात् निश्चित विद्यार्थीका लागि कति शिक्षक आवश्यक हुन्छन् भन्ने विश्लेषण गरी शिक्षक राखिनेछ ताकि सबै विद्यार्थीले बराबर समय र ज्ञान पाऊन् । हामी देख्छौँ कि एउटा शिक्षकले दिनमा चार–पाँच कक्षा पढाइरहेका छन् । तर अब हामी हाम्रा शिक्षकलाई एउटै कक्षामा केन्द्रित भई त्यहाँ सर्वोत्तम नतिजा निकाल्न लगाउँछौँ । हामीले यसको अभ्यास सुरु गरिसकेका छौँ ।

हामी शिक्षा प्रणालीमा अभिभावकलाई पनि संलग्न गराउँछौँ । विद्यार्थीलाई स्कुलमा छाडेर ल्याएर मात्र उनीहरूको दायित्व पूरा हुँदैन । कतिपय अभिभावकहरू आफ्ना बच्चालाई होमवर्क पनि सिकाउन नसक्ने अवस्थामा हुन्छन् । त्यसैले हामी अभिभावकलाई विभिन्न सीपमा संलग्न गराउन चाहन्छौँ ।

मोसेस : नेपालमा शिक्षाको रूपान्तरण सम्भव छ । अभिभावक, शिक्षक, गैरशिक्षक कर्मचारी, सरकार लगायतका सरोकारवाला यसका लागि प्रतिबद्ध हुनुपर्छ । हामीले यसतर्फ पहिलो पाइला चालेका छौँ, कस्तो हुन्छ हेर्दै जाऔँ । तर बुझ्नुपर्छ कि सकारात्मक परिवर्तनका लागि समय लाग्छ र यस्तो परिवर्तन छुन र देख्नभन्दा पनि महसुस गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment