Comments Add Comment

गौरिकाले जितिन् १२ स्वर्ण

११ वैशाख, नेपालगञ्ज । ओलम्पियन पौडीबाज गौरिका सिंहले आठौं राष्ट्रिय खेलकुदमा १२ स्वर्ण जितेर कीर्तिमान बनाएकी छन् ।

नेपाली सेनाको त्रिभुवन आर्मी क्लबकी सिंहले प्रतियोगिताको अन्तिम दिन बुधबार नयाँ राष्ट्रिय कीर्तिमानका साथ चार स्वर्ण जितेकी हुन् । यससँगै आठौं राष्ट्रिय खेलकुदमा उनको स्वर्ण संख्या १२ पुगेको हो ।

गौरिकाले बुधबार ५० मिटर फ्रिस्टाइल २७ दशमलव ५९ सेकेण्डमा पूरा गरिन् । यस अघि उनले यो दुरी २७ दशमलव ८१ सेकेण्डमा पूरा गरेकी थिइन् । यस्तै एक सय मिटर ब्याकस्ट्रोकमा उनले नयाँ राष्ट्रिय कीर्तिमानका साथ स्वर्ण पदक जितेकी हुन् ।

उनले निर्धारित दूरी एक मिनेट आठ दशमलव ६२ सेकेण्डमा पूरा गरिन् । यस अघि गौरिकाले सो दूरी एक मिनेट नौ दशमलव ३० सेकेण्डमा पूरा गरेकी थिइन् । गौरिकाले महिला दुई सय मिटर व्यक्तिगत मिड्लेमा आफ्नै नाममा रहेको दुई मिनेट ३२ दशमलव ५१ सेकेण्डको रेकर्डमा सुधार गर्दै सो दूरी दुई मिनेट ३२ सेकण्डमा पूरा गरेकी हुन् । यस्तै उनले महिला चार गुणा एक सय मिटर रिलेमा समेत स्वर्ण पदक जितिन् ।

गौरिकाले पहिलो र दोस्रो दिन २–२ स्वर्ण जितेकी थिइन् भने तेस्रो दिन चार स्वर्ण जितेकी थिइन् ।

धेरै मेहनतपश्चात् प्रतियोगितामा १२ स्वर्ण पदक जित्न सफल भएको उनले बताइन् । ‘राष्ट्रिय खेलकूदमा जितेको पदकले थप हौँसला मिलेको छ”, उनले भनिन् ।

यसअघि पाँचौ राष्ट्रिय खेलकूदमा पौडी खेलाडी करिश्मा कार्कीले पनि १२ स्वर्ण पदक जितेकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment