Comments Add Comment

सुरक्षा निकायका ३८ प्रतिशत संरचनाको मात्रै पुनर्निर्माण

Photo Credit : हालै पुनर्निर्मान सम्पन्न भएको महानगरीय प्रहरी प्रभाग साखु /रासस

११ वैशाख, काठमाडौं । मुलुकको अपराध नियन्त्रण गरी शान्ति, सुरक्षा र अमनचयन कायम गर्ने जिम्मेवारी बोकेको सुरक्षा निकायतर्फ भूकम्पबाट क्षति पुगेको आधाभन्दा बढी भवन चार वर्ष पुग्दा पनि पुनर्निर्माण हुन सकेको छैन ।

भूकम्पले च्यापेको घाउलाई एकातर्फ पन्छाएर अहिले पनि सकस झेल्दै सुरक्षा निकायले उपलब्ध साधन स्रोतलाई प्रयोग गरी अस्थायी आश्रयस्थबाट काम गरिरहेको छ । भौतिक संरचनाको अभावमा कतिपय अनुसन्धान प्रभावित भएको र अभिलेखमा समेत समस्या हुने गरेको प्रहरी अधिकारीको भनाइ छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार कूल ८३ प्रतिशत पुनर्निर्माणमा उपलब्धी भएकोमा सुरक्षा निकायतर्फ ३८ प्रतिशत मात्रै प्रगति छ । अपराध अनुसन्धानजस्तो संवेदनशील विषयमा चार वर्ष पुग्दासमेत त्रिपालमुनि बसेर काम गर्न बाध्य हुनु विडम्बना हो ।

काठमाडौँ उपत्यकाको मुख्य अपराध अनुसन्धानको जिम्मेवारी लिएको महानगरीय अपराध महाशाखा तथा काठमाडौँ जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएको महानगरीय प्रहरी परिसरकै हालत देख्दा भूकम्पले क्षति पुगेको समग्र प्रहरी कार्यालयको अवस्था प्रष्टिन्छ ।

महाशाखाका टहरामा घाम र पानीले मख्खिएको त्रिपाल छ । कतै प्वाल परेको छ । पानी पर्दा राम्ररी ओत दिँदैन भने घाम लाग्दा पनि उस्तै सकस हुन्छ । तीन वर्ष अघि ल्याएको त्रिपालको आयु सकिए पनि त्यसैमा ओत लागेर बस्नु परिसर र महाशाखाको बाध्यता हो ।

नेपाल आयल निगमले किनेको तत्कालीन नेसनल ट्रेडिङको भवन खाली गराउन महानगरीय प्रहरी परिसर काठमाडौँलाई पटकपटक पत्र पठाएर ताकेता गरिरहेको छ । विकल्प नहुँदा पत्रलाई बेवास्ता गरेरै भए पनि बसिरहनु बाध्यता भएको महाशाखाका प्रमुख धीरजप्रताप सिंहले बताए ।

प्रहरीको नयाँ भवनका लागि प्रक्रिया अघि बढेको भए पनि ठोस निर्णय नहुँदा समस्या छ । बसेको स्थानमा पनि पूर्वाधार अभावका कारण शान्ति सुरक्षा तथा अपराध अनुसन्धानमा ठूलो समस्या छ । अहिले पनि प्रहरीको काम गर्नेदेखि सुत्ने बस्ने सबै पालमुनिनै छ ।

सङ्गठित अपराध, हत्या, डकैती, अपहरण, फोनबाट हुने धम्की तथा साइबर अपराधको विषयमा अनुसन्धान गर्दै दोषीलाई पक्राउ गरी कारवाहीको दायरामा पुर्‍याउने मुख्य जिम्मेवारी महानगरीय अपराध महाशाखाको हो ।

‘संवेदनशील क्षेत्रमा सुविधायुक्त साधन स्रोत र भवन हुनुपर्छ, कतिपय गोपनीयताका कुरा हुन्छन्, जाडोमा चिसोले कर्मचारी बिरामी हुन्छन्, नजिकै पार्टी प्यालेस भएकाले होहल्ला हुन्छ, हावाहुरी पानी र घामको सामना गर्नुपर्छ, गम्भीर अनुसन्धान गर्न सकिँदैन, अनुसनधानमा धेरै समस्या छ’, महाशाखा प्रमुख सिंहले भने ।

विसं २०७२ को गोरखा भूकम्पमा प्रहरीको आफ्नै हनुमानढोकाको भवनमा क्षति पुगेपछि तत्कालै त्रिपाल हालेर टेकुमा परिसर सरेको थियो । भूकम्पका बेला परिसरका दुई प्रहरीको मृत्यु भएको र २५ जना घाइते भएको प्रवक्ता होबीन्द्र बोगटीले जानकारी दिए ।

‘गृहमन्त्रालयले जग्गा हेरिरहेको छ, सिंहदरबार अगाडिको जग्गामा कुरा पनि भइरहेको छ, तर अहिलेसम्म निचोड नआउँदा काम हुन सकेको छैन’, बोगटीले भने। सरकारले चाँडो निर्णय गरेर ठोस निर्णय दिए अपराध अनुसन्धान र शान्ति सुरक्षाका लागि महत्वपूर्ण काम हुने प्रहरीले जनाएको छ ।

राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका सहप्रवक्ता मनोहर घिमिरेले सुरक्षा निकायका ३८३ भवन क्षति भएको जानकारी दिए । जसमा अहिलेसम्म १४५ भवन निर्माण भएको छ । हाल तिनै सुरक्षा निकायका गरी ७१ भवनमा निर्माणको काम भइरहेको छ ।

समग्रमा ६३ प्रतिशत सरकारी भवनको पुनःनिर्माण भएको र ३५ प्रतिशत पुनःनिर्माणका क्रममा रहेको प्राधिकरणले जनाएको छ । शान्ति सुरक्षाको महत्वपूर्ण अङ्ग मानिने सुरक्षा निकायको जम्मा ३८ प्रतिशत मात्रै प्रगति छ ।

प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले समयमै भवन बन्न नसक्दा अपराध अनुसन्धानका क्षेत्रमा भने ठूलै समस्या परिरहेको बताउँदै त्यस बाबजुद शान्ति सुरक्षामा कुनै कमी हुन नदिएको बताए ।

प्रहरीतर्फ १३९ मा ५१ वटा भवन बनेको जनाएको छ । सशस्त्र प्रहरीतर्फ ३१ मध्ये २९ र नेपाली सेनातर्फ २०४ मध्ये ५७ भवन निर्माण सम्पन्न भइसकेको प्राधिकरणका सहप्रवक्ता घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment