Comments Add Comment

सम्पदा पुनर्निर्माण गर्दा मौलिकतामा हेलचेक्र्याइँ

११ वैशाख, काठमाडौं । १२ वैशाख २०७२ को विनाशकारी भूकम्पले क्षति पुगेको काठमाडौंको रानीपोखरीको पुनर्निर्माण सुरु हुनै चार वर्ष लाग्यो । ढिलाइको एक मात्र कारण हो, पुनर्निर्माणबारे विवाद ।

राजा प्रताप मल्लले विसं १७२७ मा बनाएको रानीपोखरीको पुनर्निर्माणमा कंक्रिट प्रयोग गरेर मौलिकता नास गर्न लागेको भन्दै सरोकारावालाले चर्को विरोध गरे । काठमाडौं महानगरपालिकाले ऐतिहासिक पोखरीलाई व्यापारिक थलो बनाउन मिल्ने गरी पुनर्निर्माण गर्न लागेको उनीहरूको गुनासो थियो ।

सम्बद्ध पक्षहरूबीच कंक्रिटका सबै सामग्री हटाउने र पहिलाकै शैलीमा बनाउने सहमति जुटेपछि २० फागुनदेखि पुनर्निर्माण कार्य शुरु भएको हो । अब पोखरीको पिँध र पर्खाल बनाउँदा कालो माटो, बालुवा, इँटा चलाउने र निर्माण कार्य उपभोक्ता समितिमार्फत गर्नुपर्नेछ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणकाअनुसार रानीपोखरीसम्बन्धी सबै विवाद सकिएको छ । प्राधिकरणले रानीपोखरी, धरहरा, काष्टमण्डपसहित काठमाडौं उपत्यकाका सातवटै विश्व सम्पदा क्षेत्रका सम्पदा पुनर्निर्माण भइरहेको जनाएको छ ।

‘सम्पदा जस्तो विषयलाई गम्भीरतापूर्वक लिन नसक्दा पुनर्निर्माण शुरु हुनै समय लाग्यो’ पुरातत्व विभागका पूर्व महानिर्देशक विष्णु कार्की भन्छन्, ‘यो काम कति गम्भीर छ भन्ने बुझ्न रानीपोखरी प्रकरण पर्याप्त छ ।’ रानीपोखरी विवाद समाधानमा भूमिका खेलेका कार्की अरु सम्पदा निर्माणमा रानीपोखरी प्रकरण एउटा पाठ भएको बताउँछन् ।

चार वर्षमा ३० प्रतिशत काम

नौहजार भन्दा बढीको ज्यान लिएको महाभूकम्पले ७५३ वटा सम्पदामा क्षति पुर्‍याएको थियो । तीमध्ये २२४ सम्पदा (३० प्रतिशत) को पुनर्निर्माण सकिएको जानकारी पू्रातत्व विभागका निमित्त महानिर्देशक दामोदर गौतमले दिए ।

सांस्कृतिक सम्पदा पुननिर्माणको जिम्मेवारी पुरातत्व विभागले पाएको छ । विभागका निमित्त महानिर्देशक गौतमका अनुसार, देशभर पुनर्निर्माण भइरहेको रानीपोखरीसहित २२४ सांस्कृतिक सम्पदामध्ये २० प्रतिशतको काम एकवर्षमा सकिने छ ।

पुनर्निर्माणको काम शुरु नै नभएका ३०० सम्पदा छन् ।

पुनर्निर्माण गर्नुपर्नेमध्ये १३३ वटा सम्पदा पूर्ण रुपमा क्षतिग्रस्त थिए । दक्ष जनशक्तिको अभाव र कसले बनाउने भन्ने निक्र्योल नहुँदा पुनर्निर्माणमा समय लागेको पुरातत्व विभागका निमित्त महानिर्देशक गौतम बताउँछन् । उनले भने, ‘ऐतिहासिकता र मौलिकता जोगाउन खोज्दा समय लाग्दो रहेछ ।’

सम्पदा पुननिर्माणमा विभिन्न देशका सरकारी तथा गैह्र–सरकारी दाताले सहयोग गरिरहेका छन् ।

पहिलो गाँसमै ढुँगा

पाँचौ शताब्दीका लिच्छवी राजा शिवदेवको पालामा बनेको खास्ती चैत्य (बौद्धनाथ) लाई पनि महाभूकम्पले क्षतिग्रस्त बनाएको थियो । विश्व सम्पदा सूचीमा रहेको यो स्तुपको पुनर्निर्माण अलि चाँडै सकियो ।

सम्पदा बचाउ अभियान संघर्ष समितिका संयोजक गणपतिलाल श्रेष्ठ बौद्ध स्तुपको पुनर्निर्माण छिटो हुनुलाई सकारात्मक मान्छन् भने त्यहाँ कंक्रिट प्रयोग हुनुलाई दुर्भाग्य ।

लापरवाही कति गरियो भने झिलीमिली नियोनलाइट बाल्न बौद्ध स्तुपमा ठोकिएको काँटी हटाउन पनि सम्पदाप्रेमीहरुले ठुलै दबाव सिर्जना गर्नु पर्‍यो । ‘एकातिर सस्तो प्रचार, तमासा र व्यापारिक लाभले सम्पदाहरु खतरामा परेका छन्’, संयोजक श्रेष्ठ भन्छन्, ‘अर्कोतिर सम्पदा पुनर्निर्माण ढिलो हुनुमा पनि व्यापारिक नाफाघाटाको हिसाबले नै काम गरेको देखिन्छ ।’

सम्पदा पुननिर्माणमा ठेक्का लगाउन नहुने श्रेष्ठको अनुभव छ । ठेकेदारले नाफा कमाउन बजारमा उपलब्धमध्ये सबैभन्दा सस्तो सामग्री प्रयोग गर्ने र त्यसले ऐतिहासिक सम्पदाको गरिमा समाप्त पार्ने उनको भनाइ छ ।

कतिपय सम्पदाको पुनर्निर्माण ठेकेदारकै कारण रोकिएको छ । ललितपुरको रातो मछिन्द्रनाथ मन्दिर त्यसमध्येको एक हो । सहकालको देवता भनिने मछिन्द्रनाथको मन्दिर पुननिर्माणको ठेक्का थेगिम/प्रेरा/तुलसी कम्पनीले लिएको थियो । दुई वर्षमा काम सक्नुपर्ने यो कम्पनी उल्टै मुद्दामामिला गर्दै हिँडेको छ ।

सडक बनाउने ठेकेदारलाई पुरातात्विक सम्पदा निर्माणको जिम्मेवारी दिनु नै गलत हुने प्राधीकरणका एक अधिकारी बताउँछन् । उनी भन्छन्, ‘ठेक्का पार्न कमिसन, सामान किन्न कमिसन अनि कस्तो होला सम्पदाको हालत ?’

माटोलाई हेला !

मौलिकता बिनाको ऐतिहासिक सम्पदाको कल्पना गर्न सकिँदैन । हाम्रा ऐतिहासिक सम्पदाहरुको मौलिकता भनेको माटो, इँटा र काठको प्रयोग हो । सम्पदाको जिर्णोद्धार र पुनर्निर्माणमा भने फलाम, सिमेन्ट प्रयोग गरिएको जानकारहरू बताउँछन् ।

वास्तुविद् तथा सास्कृतिक इतिहासकार सुदर्शनराज तिवारी अहिले जारी पुनर्निर्माणमा माटो, काठ जस्ता सामग्री वेवास्तामा परेको बताउँछन् । ‘सम्पदा पुनर्निर्माण गर्दा जगदेखि छानासम्मै परम्परागत सामग्री र शैली अपनाउनु अनिवार्य हुन्छ’ उनी भन्छन्, ‘तर काष्ठमण्डपमा बाहेकका सम्पदा पुनर्निर्माणमा माटो प्रयोग भएको छैन ।’

पुरातत्व विभागका पूर्व महानिर्देशक कार्की पनि कति सम्पदा पुनर्निर्माण भयो भन्दा त्यो काम कसरी गरियो भन्ने कुरा महत्वपुर्ण हुने बताउँछन् । ‘इतिहास जोगाएर भावी पुस्तामा हस्तान्तरण गर्ने काममा हेलचक्र्याई गर्नुहुँदैन’, उनी भन्छन्, ‘सा–साना स्वार्थमा लागेर सम्पदा विनास गर्ने अधिकार कसैलाई छैन ।’

यो पनि पढ्नुस्ः-

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-१ : भूकम्पको ‘इपिसेन्टर’ बारपाक : न गाउँ, न शहर !

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-२ : महाभूकम्पले तोडेको ‘लाइफलाइन’ : नेपालको हुटहुटी पूरा गर्न चीनको चटारो

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-३ : भूकम्पले जुटाएको अवसर : गाउँमा सुविधापूर्ण विद्यालय भवन

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-४ : घर उठ्यो, रातो मछिन्द्रनाथ उठेन  

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-५ : विस्तारै उठ्दैछ काष्ठमण्डप

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-६ : पुनर्निर्माणका सीइओलाई प्रश्न–कहाँ अड्कियो ‘हाउस पुलिङ’ ?

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-७ : घर नबनाउने ‘भूकम्पपीडित’बाट पीडित छन् स्थानीय सरकार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment