Comments Add Comment

विस्तारै उठ्दैछ काष्ठमण्डप

१० वैशाख, काठमाडौं । सातौं शताब्दीको सत्तल, जुन २०७२ वैशाख १२ को महाभूकम्पमा सखाप भयो । लगत्तै पुनर्निर्माणको आवाज उठ्यो, तर त्यसपछिका तीन वर्ष विवादमै रुमल्लियो ।

गत वर्ष वैशाख ३१ देखि पुनर्निर्माण थालिएको हनुमान ढोका दरबार क्षेत्रको यो सत्तलमा त्यसपछि भने विवाद देखिएको छैन । यसलाई भूकम्पपछिको पुनर्निर्माणमा नमूना मानिएको छ ।

काष्ठमण्डप पुनर्निर्माणको काम स्थानीय उपभोक्ता समितिमार्फत अगाडि बढेको छ । पुनर्निर्माणमा तीन वर्ष लाग्ने छ । पहिलो एक वर्षमा चारवटा मुल थाम ठड्याइएको छ । जगको काम सकिएपछि २७ माघमा थाम र निनाको विशेष पूजा गरेर मुख्य काम थालिएको हो ।

अब क्रमशः दोस्रो, तेस्रो र चौथो घेरामा उसैगरी थाम ठड्याइनेछ । विश्व सम्पदा सूचीमा सूचीकृत तीनतले यो सम्पदाको पुनर्निर्माण पुरानै ढाँचामा हुनेछ ।

काठमाडौं महानगरपालिकाले काष्ठमण्डप पुनर्निर्माण समितिलाई साढे पाँच करोड रुपैयाँ दिएको छ । त्यसमध्ये चैतसम्म २ करोड ३२ लाख खर्च भएको समितिले जनाएको छ ।

असारसम्म पहिलो तला

विनाशकारी भूकम्पपछि लामो समयसम्म काष्ठमण्डप कसले, कस्तो बनाउने भन्ने विवाद भयो । अहिले महानगरपालिकाको आर्थिक सहयोग र निगरानीमा विज्ञ सम्मिलित स्थानीयबासीको समितिले काम गरिरहेको छ ।

पुनर्निर्माण भएका धेरै सम्पदा विवादित छन् । सम्पदा पुनर्निर्माण गर्दा मौलिक स्वरुप बिगार्ने, कंक्रिट प्रयोग गर्ने जस्ता हर्कतहरु भएका छन् ।

काष्ठमण्डपमा भने यो विवाद देखिएको छैन । पुनर्निर्माण समितिका अध्यक्ष रहेका प्रदेश ३ को प्रदेशसभा सदस्य राजेश शाक्य पुरातत्व विभागको ड्रोइङ/डिजाइन अनुरुप काम गरेको बताउँछन् । भन्छन्, ‘कस्तो बनाउने भन्ने अन्यौल छैन, प्रत्येक विहीबार विज्ञहरुको राय लिएर काम गराइरहेका छौं ।’

चार घेराको काष्ठमण्डपमा १०० वटा थाम हुनेछन् । संकल्प पूजा गरेर गत माघमा ठड्याइएका २५ फिट अग्ला चारवटा मूल थाम पहिलो घेरा हो । दोस्रो घेरामा जोडाका दरले ३२ वटा थाम ठड्याइनेछ । तेस्रो र चौथो घेरामा एक-एक वटाका दरले क्रमशः २८ र ३६ वटा थाम राखिनेछ ।

दोस्रो घेरामा १२ फिट, तेस्रो घेरामा १५ र चौथो घेरामा १२ फिट अग्ला थाम हुनेछन् । सबैलाई चुकुलले अड्याइने छ । मूल थामहरु उठाएर त्यसमाथि सिंहमुखी र शंखमुखी मेथ राखिएको छ । मेथमाथि मूल निदालहरु राख्ने काम पनि सकिएको छ ।

काष्ठमण्डप पुनर्निर्माण आयोजना प्रमुख मणिन्द्र श्रेष्ठका अनुसार, मूल थामहरुको मुनि र माथि तामाको पाता बेरेको पाइएको थियो । अब पुनर्निर्माण गर्दा सबै थाममा तामाको पाताले बेरिने उनले बताए ।

सिकर्मीहरुले अहिले दोस्रो घेराको थाम र मेथको काम गरिरहेका छन् । दोस्रो घेरामा राखिने थामहरु तयार भइसकेको पुनर्निर्माण समितिका सचिव गौतम डंगोलले बताए ।

प्राविधिकहरुले काष्ठमण्डपको बीच भागमा उत्खनन् गरिएको ठाउँमा १० किलोको ढक खसालेर ‘टेम्पिङ टेस्ट’ गरेका थिए । यो परीक्षणका आधारमा काष्ठमण्डपको जगको माटो बलियो रहेको निर्क्यौल गरियो

हनुमानढोका दरबारको उत्तर-पश्चिममा रहेको पुरानो जिल्ला प्रहरी कार्यालय परिसरमा काठको काम भइरहेको छ । काष्ठमण्डप बनाउँदा काठकै काम धेरै गर्नुपर्नेछ ।

दोस्रो, तेस्रो र चौथो घेराको थाम ठड्याउने काम सकिएपछि गारोको काम आउँछ । दोस्रो घेराको गारो दलिनसम्म हुनेछ । यो काम निकै चुनौतीपूर्ण हुने आयोजना प्रमुख श्रेष्ठ बताउँछन् । उनले भने, ‘अनेक खोपा, तान मिलाउँदै क्रमबद्धरुपमा लगाउनुपर्ने भएकाले गारोको काम संवेदनशील पनि छ ।’

काष्ठमण्डपको तेस्रो र चौथो घेरामा गारो हुनेछैन । दोस्रो र तेस्रो घेराको बीचमा चारैतिर बुर्जा हुनेछ, त्यसैमा गारो उठाइनेछ । चार घेराको थाम र गारो उठेपछि तीनै तलाको छानो झिंगटीले छाइनेछ ।

सिकर्मीहरुले तेस्रो घेराको बुट्टेदार चारवटा थाम, बुर्जाको गारो, भुइँ तल्लाको छानामाथि रहने बुट्टे झ्याल र ढोकाहरु बनाइरहेका छन् ।

असारसम्म पहिलो तल्लाको काम सक्ने योजना छ । ‘यो धेरै हतारमा गर्न मिल्ने काम हैन’, आयोजना प्रमुख श्रेष्ठ भन्छन्, ‘काम सुस्त नै भएपनि सन्तोषजनक छ, असारसम्ममा सकिन्छ ।’

जग नखोतलिएको सम्पदा

भूकम्पपछि पुनर्निर्माण गरिएका धेरै सम्पदाको जगमै विवाद भयो । एकथरिले जग नयाँ बनाउने कुरा गरे भने अर्काथरिले चलाउनै नहुने तर्क गरे । काष्ठमण्डपमा भने त्यस्तो विवाद भएन ।

पुनर्निर्माण समिति अन्तर्गतको विज्ञ समूहमा रहेका प्रा. डा. प्रेमनाथ मास्केको उपस्थितिमा रेजिलियन्ट स्ट्रक्चर प्रालिका प्राविधिकहरुले काष्ठमण्डपको बीच भागमा उत्खनन् गरिएको ठाउँमा १० किलोको ढक खसालेर ‘टेम्पिङ टेस्ट’ गरेका थिए । यो परीक्षणका आधारमा काष्ठमण्डपको जगको माटो बलियो रहेको निर्क्यौल गरियो । त्यसपछि बेलायतको दुरहाम् विश्वविद्यालय र पुरातत्व विभागले काष्ठमण्डपको जगबारे विस्तृत अध्ययन गरेका थिए । अध्ययनहरुका आधारमा जग नचलाइ पुनर्निर्माण गर्ने निर्णय भएको थियो ।

बेलायतको स्टरलिङ विश्वविद्यालयको प्रयोगशालामा गरिएको जगको माटो र कोइला परीक्षणले काष्ठमण्डप सातौं शताव्दीमा बनेको पत्ता लागेको थियो । त्यसअघि काष्ठमण्डप १२ औं शताव्दीमा बनेको मान्यता थियो ।

बर्दिवासको काठ, काभ्रेको ढुंगा

काष्ठमण्डप एउटै रुखको काठबाट बनेको मानिन्छ । पुराना काठमध्ये करिब १५ प्रतिशत पुनः प्रयोग हुनसक्ने देखिएको पुनर्निर्माण आयोजनाका सचिव डंगोलले बताए ।

राजा लक्ष्मीनरसिंह मल्लको पालामा एउटै सालको रुखबाट काष्ठमण्डप बनेको भन्ने किम्बदन्तीलाई दुरहाम् विश्वविद्यालयले गरेको ‘कार्बन डेटिङ्ग’ परीक्षणले काल्पनिक सावित गरिसकेको छ

उनका अनुसार, काष्ठमण्डप पुनर्निर्माणका लागि १७ हजार ५८ क्युविक फिट काठ आवश्यक पर्नेछ । त्यसका लागि नेपाल टिम्बर अफ कर्पोरेशन (टीसीएन) सँग सम्झौता गरिएको छ ।

टीसीएनले दुई हजार ४६९ क्युफिट सालका काठ उपलब्ध गराएको छ । बर्दिवासबाट ल्याइएका काठका लागि एक करोड ३६ लाख खर्च भएको डंगोलले बताए । ढुंगाचाहिँ काभ्रेबाट मगाइएको छ । माटो रानीपोखरी र ताहाचलको चलाइँदैछ ।

डंगोलका अनुसार, काष्ठमण्डप पुनर्निर्माणमा साना-ठूला गरी दुई लाख माःअप्पा इँटा लाग्ने अनुमान छ । ठूलो आकारको २७ हजार ७६८ र साना सात हजार ३३० वटा माःअप्पा ल्याइसकिएको छ ।

काष्ठमण्डपको इतिहास

विश्व प्रसिद्ध यो काण्ठमण्डपलाई हिन्दुको नाथ सम्प्रदायसँग जोडेर हेरिन्थ्यो । यसलाई बौद्ध धर्मसँग जोड्नेहरु पनि थिए । तर, सत्तलको अर्थ र उपयोगिता कुनै एक धर्मसँग मात्र नजोडिने सम्पदाविदहरु बताउँछन् ।

त्यसो त राजा लक्ष्मीनरसिंह मल्लको पालामा एउटै सालको रुखबाट काष्ठमण्डप बनेको भन्ने किम्बदन्तीलाई दुरहाम् विश्वविद्यालयले गरेको ‘कार्बन डेटिङ्ग’ परीक्षणले काल्पनिक सावित गरिसकेको छ । परीक्षणले काष्ठमण्डपको मूल थाम माथिको मेथ पाँचौं, भित्री जगको गारो सातौं र त्यस बाहिरको जग नवौं शताव्दीको बनाइएको प्रमाणित गरेको छ ।

अनुसन्धानले काष्ठमण्डप दुई चरणमा बनेको पुष्टि गरेको छ । सत्तल -काष्ठमण्डप) निर्माण हुनुभन्दा करिब दुई हजार वर्षअघि त्यहाँ खेती हुने गरेको दुरहाम विश्वविद्यालयको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनले काष्ठमण्डपलाई उपत्यकाको सबभन्दा पुरानो र ठूलो सार्बजनिक स्थल मानेको छ । उपत्यकाको नाम काष्ठमण्डपबाटै काठमाडौं भएको मानिन्छ ।

हरेक १ माघमा काष्ठमण्डपमा वार्षिक पूजा (बुसादँ) गर्ने परम्परा छ । सत्तल स्थापना दिवसको बुसादँमा ज्यापू गुठीको अहं भूमिका रहने गरेको छ ।

यो पनि पढ्नुस्ः-

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-१ : भूकम्पको ‘इपिसेन्टर’ बारपाक : न गाउँ, न शहर !

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-२ : महाभूकम्पले तोडेको ‘लाइफलाइन’ : नेपालको हुटहुटी पूरा गर्न चीनको चटारो

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-३ : भूकम्पले जुटाएको अवसर : गाउँमा सुविधापूर्ण विद्यालय भवन

०७२ सालको भूइँचालोलाई फर्केर हेर्दा-४ : घर उठ्यो, रातो मछिन्द्रनाथ उठेन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment