Comments Add Comment

अन्तर प्रदेश परिषद बैठकमा प्रदेश २ का मुख्यमन्त्री अनुपस्थित

१३ वैशाख, काठमाडौं । अन्तर प्रदेश परिषदको बैठक काठमाडौंमा सुरु भएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सुरु भएको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, मन्त्रीहरु, ६ वटा प्रदेशका मुख्यमन्त्री सहभागी छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत भने बैठकमा सहभागी छैनन् । उनले पार्टी कामको व्यस्तताले बैठकमा सहभागी हुन नसकेको अनलाइनखबरसँग बताएका छन् । ‘म आफ्नो पार्टीको अधिवेशनमा छु लाहानमा । प्रतिनिधि पठाएको छु’ उनले भने ।

प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाही र सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट  बैठकमा सहभागी छन् ।

प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेल चीन भ्रमणमा रहेकाले कार्यवाहक मुख्यमन्त्रीको रुपमा आन्तरिक मामिला तथा कानूनमन्त्री शालिकराम जम्मकट्टेल बैठकमा सहभागी छन् ।

बजेट र योजनामा डुप्लिकेसन नहोस् भन्नका निम्ति राष्ट्रिय समन्वय परिषदको बैठक बस्न लागेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले जनाएको छ ।

यसअघि गत चैत २१ गते बसेको अन्तर प्रदेश परिषदको बैठकमा मुख्यमन्त्रीहरुले आर्थिक वर्ष २०७६र७७ मा कम्तिमा ३३ प्रतिशत बजेट माग गरेका थिए ।

संघ, प्रदेश तथा अन्तरप्रदेश बीचको विवाद समाधान गर्ने विषयमा छलफल गर्ने सम्बन्धी ब्यवस्था संविधानको धारा २३४ मा छ । संविधानको धारा २३४ मा प्रधानमन्त्रीको अध्यक्षतामा गृह, अर्थ र मुख्यमन्त्री सदस्य हुने अन्तरप्रदेश परिषदको व्यवस्था छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment