Comments Add Comment

मेलम्चीको ठेकेदार सीएमसी कर नतिरी भागेको खुलासा

१५ वैशाख, काठमाडौं । इटालियन कम्पनी सीएमसी कोअपरेटिभा मुराटोरी ई केमेन्टिस्टी (सीएमसी) आफूले तिर्नुपर्ने कर पनि नतिरी भागेको खुलेको छ । मेलम्ची आयोजना बीचैमा छाडेको इटालियन कम्पनीले ठूला करदाता कार्यालयमा बुझाउनुपर्ने करिब १८ करोड बराबरको कर नतिरेको हो ।

ठूला करदाता कार्यालयले सीएमसीलाई कर तिर्न आउन आह्वान गर्दै सार्वजनिक सूचना जारी गरेको कार्यालयका प्रमुख धनिराम शर्माले बताए । ‘हामीले आव २०७१/७२को कर तिर्न आउन आह्वान गरेका हौं,’ शर्माले भने,’उसको करिब १८ करोड बराबरको कर निर्धारण भएको छ ।’

यो आय कर र मूल्य अभिवेद्धि कर (भ्याट) हो । त्यसपछिका वर्षको भने कर निर्धारण हुनै बाँकी छ । कम्पनी नै भागेका कारण अब कर असुल्न गाह्रो पर्ने अधिकारीहरु बताउँछन् ।

सीएमसी भागेपछि कार्यालयले मेलम्ची खानेपानी विकास समितिलाई पत्र लेख्दै उसका नाममा कुनै बैंक खाता र जमानत भए रोक्का राख्न पत्राचार गरेको छ । तर, उसको नाममा कतै बैंक खाता रहे/नरहेको बारे ठूला करदाता कार्यालय जानकार छैन ।

सीएमसीलाई पनि पत्र लेख्दै कार्यालयले १५ दिनभित्र कर दाखिला लगर्न आग्रह गरेको छ । तर, सीएमसीले अहिलेसम्म त्यसको जवाफ पनि फर्काएको छैन ।

कार्यालयले कर निर्धारण चित्त नबुझे आन्तरिक राजश्व विभागमा प्रशासकीय पुनरावलोकनका लागि निवेदन दिन आग्रह गरेको छ ।

मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग र हेडवर्क्स निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसी बीचमै काम छाडेर भागेको थियो ।

सरकारले सीएमसीले ठेक्का जमानतबापत राखेको २ अर्ब ५६ करोड आफ्नो खातामा ल्याएको छ । कम्पनी वित्तीय संकटमा फसेपछि सीएमसीले मेलम्चीको साइट छाडेको थियो ।

सरकार मेलम्ची आयोजनालाई कसरी अघि बढाउने भन्नेबारे अनिणिर्त छ । कर्मचारीहरुले अवैध हुने भन्दै ठेक्का तोडेर गएको इटालियन फर्काउने गरी निर्णय गर्न  अस्वीकार गरेका छन् ।

खानेपानी मन्त्री विना मगर भने सीएमसीलाई फिर्ता  बोलाएर पुनः काममा लगाउने पक्षमा उभिएकी छिन् । यसका कारण मेलम्ची अन्योलको भुमरीमा छ ।

असमतिका कारण खानेपानी सचिव गजेन्द्र ठाकुरलाई सुरुवा गराएर मन्त्री मगरले शर्मालाई मन्त्रालय ल्याएकी थिइन् । तर सचिव शर्मा पनि मन्त्रीको चाहानाभन्दा पनि कानुन हेर्नुपर्ने पक्षमा उभिएका छन् ।

सीएमसी इटालीमा टाँट पल्टिएको पुष्टी हुने चरणमा छ । ऊसँग कर्मचारीलाई तलव खुवाउने रकमको समेत अभाव छ ।

सीएमसीले क्षतिपूर्ति, बोनस, पुरानो दावी तथा बक्यौतासहित करिब २ अर्ब ५० करोड रुपैयाँ भुक्तानी गरिए काममा फर्किने बताएको छ ।

हाल मेलम्ची खानेपानी आयोजनामा काम ठप्प छ । सीएमसीले पुस २ गते कम्पनी आर्थिक संकटमा परेको भन्दै ठेक्का तोडेको पत्र दिँदै साइट छाडेको थियो । त्यसपछि सरकारले नै ठेक्का तोडेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment