Comments Add Comment

सिन्धुपाल्चोकको दुर्गम सामुदायिक विद्यालयमा ताप्लेजुङदेखिका विद्यार्थी

१५ वैशाख, सिन्धुपाल्चोक । राजधानीको सुविधासम्पन्न निजी बोर्डिङ स्कुलमा पढ्दै आएकी स्मृति खड्का यसपाली हेलम्बु गाउँपालिका-१ मा रहेको मेलम्ची घ्याङ माध्यमिक विद्यालयमा भर्ना हुन आएकी छन् । यस विद्यालयको विषयमा परिवार र आफन्तले बताएपछि निजी स्कुल छोड्ने सोचाइमा पुगेको उनले बताइन् ।

‘कम शुल्क गुणस्तरीय पढाई हुने थाहा पाएर आएकी हुँ, भर्ना पाउँछु कि पाउँदिन थाहा छैन,’ उनी भन्दै थिइन् । हुन पनि यो विद्यालयमा भर्ना हुन अरु सामुदायिक विद्यालयमा जस्तो सजिलो छैन । स्मृति जस्तै निजी स्कुल छाडेर यहाँ भर्ना हुन चाहने कैयन विद्यार्थी छन् । उनीहरु प्रवेश परीक्षामा पास भए मात्रै भर्ना हुन सक्छन् ।

देशभरका सामुदायिक विद्यालय विद्यार्थीको अभावमा सुक्दै गएका बेला सिन्धुपाल्चोकको अत्यन्त विकट स्थानमा रहेको मेलम्ची घ्याङ माध्यमिक विद्यालयमा भने विद्यार्थीको चाप थेगिनसक्नु छ । काठमाडौ मात्रै होइन देशका अन्य थुप्रै जिल्लाबाट विद्यार्थीहरु यहाँ आएका छन् । सिन्धुपाल्चोकको प्रमुख पर्यटकीय गन्तव्य हेलम्बु क्षेत्रमा रहेको यो विद्यालय जिल्लाको मात्र नभएर देशै अब्बल सामुदायिक विद्यालय मानिन्छ ।

नयाँ शैक्षिक सत्रमा विद्यार्थीको चाप बढेपछि प्रवेश परीक्षा लिएर मात्रै विद्यार्थी भर्ना गरेको विद्यालयका प्रधानध्यापक पूर्ण गौतमले जानकारी दिए । परीक्षामा अनुतीर्ण हुनेहरु भर्ना हुन सक्दैनन् ।

प्रवेश परीक्षामा सहभागी हुन अघिल्लो दिनदेखि नै विद्यार्थी र अभिभावक ओइरिएका थिए । तीन सिफ्टमा विद्यार्थीहरुको परीक्षा लिइएको थियो ।

यो वर्ष मात्रै होइन, विगतमा पनि यहाँ विद्यार्थीहरुको यस्तै भीड लाग्ने गरेको छ । इलाम, ताप्लेजुङ, झापालगायतका जिल्लाबाट समेत विद्यार्थीहरु आएको शिक्षक कुमार गौतम बताउँछन् । टाढाका अभिभावकहरु आफ्ना छोराछोरीलाई पढाउन झिटीगुण्टासहित बिद्यालयमा आइरहेका छन् । करिब ३० जिल्लाका विद्यार्थीहरु यहाँ पढिरहेका छन् ।

नयाँ वर्षको पहिलो दिन १०२ जना विद्यार्थी विभिन्न कक्षामा अध्ययनका लागि प्रवेश परीक्षामा सहभागी भएका थिए । वैशाख महिनाभर नै विद्यार्थीहरु आउने क्रम रोकिदैन । तर विद्यालयमा १ सय ५० जना मात्रै राख्न सकिने छात्राबास छ । विद्यार्थी बढी भए भने केही समय टेन्टभित्र राख्ने योजना बनाएको प्रधानध्यापक गौतम बताउँछन् ।

भुकम्पमा तहसनहस भएको विद्यालयमा यतिबेला पुनर्निर्माणको क्रम पनि चलिरहेको छ । केही समय अस्थाई टहरोमा नै राखेर पढाई र छात्राबास सञ्चालन गरेको विद्यालयमा अहिले केही संघ-संस्थाहरुले छात्राबास निर्माण गरेका छन् भने कक्षाकोठा निर्माणाधिन छन् ।

सफलताको रहस्य

२०४१ सालमा स्थापना भएको मेलम्ची घ्याङ माविले अहिलेसम्म असफलताको अनुभव गर्नुपरेको छैन । हरेक वर्षको एसएलसी/एसईई परीक्षामा उच्च अंकका साथ सत्प्रतिशत विद्यार्थीहरु उतीर्ण हुने गरेका छन् ।

मेहनति शिक्षक-शिक्षिका र प्रधानध्यापक पूर्ण गौतमको कुशल व्यवस्थापनले नै यो सम्भव भएको हो । प्रधानध्यापक गौतमका हरेका योजनामा शिक्षकहरुले साथ दिएका छन् । कक्षाकोठा, कार्यालय मात्रै होइन, शौचालयसमेत प्रधानध्यापक र शिक्षकहरु आफैंले सफा गर्ने गर्छन् । ‘हामी आफैले प्रयोग गर्ने शौचालय आफैले सफा गर्दा केही बिग्रन्न,’ गौतमले भने, ‘घण्टीसमेत हामी आफै लगाउँछौ ।’

हरेक वर्षको सुरुमा नै एक वर्षभरी विद्यालयमा सञ्चालन गर्ने कार्यक्रमहरुको खाका बनाइन्छ । कक्षा कोठामा छिर्नुअघि सबै शिक्षकहरुले अनिवार्य लेसन प्लान र मिनी लेसन प्लान तयार गर्नुपर्छ ।

प्रधानध्यापक गौतमले भने, ‘शिक्षकहरुले पढाउने मात्रै होइन, आफै पढेर मात्रै कक्षामा प्रवेश गर्नु पर्छ ।’

१४ रोपनी क्षेत्रफलमा फैलिएको विद्यालयमा अहिले साढे ३ सय विद्यार्थीहरु अध्ययन गरिरहेका छन् । विद्यालय राजनीतिक हस्तक्षेपबाट मुक्त रहेको सहायक प्रधानध्यापक टिका लिम्बु बताउँछन् ।

सबैजसो सामुदायिक विद्यालयहरुमा बिहान १० बजेदेखि मात्रै पढाई सुरु हुन्छ, तर मेलम्ची घ्याङ माविमा ९ बजेेदिख नै कक्षा सुरु हुन्छ । होस्टलमा बस्ने विद्यार्थीहरुलाई खाना, खाजा विद्यालयले नै उपलब्ध गराउँछ । बिहान १२ देखि १ बजेसम्म खानाको लागि ब्रेक दिइन्छ ।

‘हामीले यो रुटिङमा पढाउन सुरु गरेको धेरै वर्ष भयो,’ गौतमले भने- ‘पढाईको गुणस्तर वृद्धिमा यो रुटिङ निकै प्रभावकारी देखिएको छ ।’

होस्टलमा बस्नेे विद्यार्थीहरु कडा अनुशासनमा बाँधिएका छन् । बिहान ५ बजे उठेपछि बेलुकी १० बजेसम्म उनीहरुको निश्चित कार्यतालिका हुन्छ ।

होस्टलमा बसेर कक्षा ५ मा अध्ययन गरिरहेकी इलामकी मुना राई यसअघि काठमाडौको समता शिक्षा निकेतन माविमा पढ्थिन् । गत वर्ष मात्रै मेलम्चीमा आएकी उनी भन्छिन, ‘मैले धेरैवटा स्कुल फेरिसकेँ, तर यहाँको जस्तो पढाई अन्यत्र पाइनँ ।’

    

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment