Comments Add Comment

श्रम दुःख होइन, यस्तो छ यसको मूल्य र महिमा

श्रम के हो ? हामी भन्छौं, श्रम गर्नु भनेको काम गर्नु हो । काम गर्नुलाई हामी ‘दुःख गर्नु’ भन्छौं । के त्यसो भए श्रमको अर्थ दुःख हो ?

श्रमको मर्म र महत्वलाई हामीले यसरी अपव्याख्या गर्नु ठिक होइन । सार्थक ढंगले गरिने कुनैपनि श्रमले मान्छेलाई सफलताको उचाईमा पुर्‍याउँछ । श्रमले बाँच्न सिकाउँछ । श्रमले जीवनको सार्थकता बुझाउँछ । श्रम गर्नु भनेको संघर्ष गर्नु पनि हो । संघर्षले नै जीवन सार्थक बनाउँछ । यसर्थ श्रम कुनै दुःख होइन ।

पूर्विय दर्शनमा भनिएको छ, ‘श्रम गर, फलको आशा नगर ।’ सार्थक ढंगले गरिएको कुनैपनि श्रमले नतिजा त दिन्छ नै । यद्यपी श्रम गरिरहँदा त्यसको नतिजाप्रति आशक्ति रहनु वा व्यग्र रहनु उचित होइन । श्रम गरेपछि त्यसले आवश्य सुख दिन्छ ।

बुद्ध दर्शनले पनि श्रमको मर्म र महिमा बताएको छ । सार्थक र सही श्रमलाई नै धर्मको अंश मानेको छ । अतः श्रमप्रति इमान्दार र अनुशासित रहन प्रेरित गरेको छ । यस किसिमको श्रमबाट सुख र शान्ति प्राप्त हुने बाटो देखाइएको छ ।

श्रम दुःख हो ?

वर्तमान समाजले श्रमको अपव्याख्या गर्दै गएको छ । श्रमलाई दुःख र श्रम गर्नेलाई ‘दुखी’ भन्ने गरेको छ । हाम्रो मनस्थिती नै यस्तो भएको छ कि, श्रमलाई हामी दुःख ठान्छौ । त्यही कारण आज हामी श्रम गर्नबाट पन्छिने गरेका छौ ।

हामीलाई श्रम गर्न आज लाज लाग्छ । श्रम गर्नु भनेको सानो हुनु भन्ने बुझाई छ । श्रम गर्दा दुःख हुन्छ भन्ने बुझाई छ । यही बुझाईको कारण आज श्रम र श्रम गर्नेलाई हामी हेय दृष्टिले हेरिरहेका छौ । जबकी श्रम नै सुखको सर्वोच्व स्रोत हो ।

खासगरी शारीरिक श्रम आज एक लाज लाग्ने कृतय भएको छ, यो लाजको विषय बनेको छ । श्रमप्रतिको यस्तै बुझाईमाथि कटाक्ष गर्दै एक पश्चिमी विचारकले भनेका थिए, ‘अब एक जमाना यस्तो पनि आउनेछ कि, मान्छेले आफ्नो प्रेम पनि कामदारलाई गर्न लगाउनेछन् ।’

श्रम र शरीरको सम्बन्ध

दार्शनिक ओशो भन्छन्, ‘सारा जीवनको जो शक्ति छ, त्यो गुमाइरहेका छौ । किनकी मानिसको शरीर, मानिसको प्राण कुनै विशिष्ठ श्रमका लागि निर्मित भएको हो ।’

श्रम मानसिक तथा शारीरिक दुबै किसिमको हुन्छ । हामी आज मानसिक श्रम गर्नेलाई उच्च र शारीरिक श्रम गर्नेलाई कमजोर ठान्ने गर्छौं । जबकी शारीरिक श्रम नै मानिसको चेतना र उर्जा जगाउने अनिवार्य स्रोत हुन् ।

श्रमको सन्दर्भमा एउटा घतलाग्दो कथा छ ।

अब्राहम लिंकन, जो अमेरिकी राष्ट्रपति थिए, उनी बिहान आफ्नो घरमा बसेर जुत्ता पालिश गरिरहेका थिए । त्यहीबेला उनका एक मित्र आइपुगे । मित्रले आश्चर्य मान्दै भने, ‘तिमी यो के गर्दैछौ, तिमी आफ्नो जुत्ता आफै पालिश गर्छौ ?’

लिंकनले भने, ‘तिमीले मलाई बडो चिन्तित बनाइदियौ । के तिमी आफ्नो जुत्ता अरुलाई पोलिश गर्न लगाउँछौ ?’

मित्रले गर्वसाथ भने, ‘हो, म यस्तो काम अरुलाई नै लगाउँछु ।’

तब लिंकनले दुःख मान्दै भने, ‘अर्काको जुत्ता पोलिश गरिदिनुभन्दा पनि खराब कुरा त अर्कालाई जुत्ता पोलिश गर्न लगाउनु हो ।’

यसको अर्थ के हो भने, जीवनको सोझो सम्बन्ध हामी गुमाउँदैछौ । जीवनसँग हाम्रो सोझो सम्बन्ध श्रमको समबन्ध हो । प्रकृतिसँग हाम्रो सोझो सम्बन्ध हाम्रो श्रमको सम्बन्ध हो । ओशो यसै भन्छन् ।

जब मानिस श्रमबाट टाढा हुन्छन्, तब उनीहरु जीवनबाट टाढा हुन्छन् ।

जीवन र श्रम समानार्थक हो । जीवन र श्रमले एकै अर्थ राख्छ । तर, अहिले हामी सुविधाभोगी हुने चक्करमा र सुखको खोजीमा श्रम त्याग्दैछौ । श्रम गर्नबाट पन्छिदैछौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment