Comments Add Comment

क्यानाडा जाने आशमा ऋणको भारी, पैसा उठाएर दलाल फरार

Photo Credit : दलाल राजन राजवंशी

१८ वैशाख, विराटनगर । कटहरी २ आदर्श टोलका अशोककुमार राजवंशी ग्रिल उद्योगमा काम गरेर गुजारा गर्दै थिए । उनले दलालमार्फत सुने, क्यानडा गए मासिक २ लाख पारिश्रमिक पाइन्छ । दलालले उनलाई क्यानाडामा फुड प्याकिङको काममा ४ लाखमै पठाइदिने पनि बताए ।

क्यानाडाको हुटहुटीले सयकडा ३ का दरले जेठीसासुको ५ कट्ठा जग्गा दृष्टिबन्धकमा राखेर २ लाख रुपैयाँ ऋण लिए । बाँकी रकम आफै जोहो गरे । एक वर्षभित्र तिर्ने भाकामा जग्गा दृष्टिबन्धक राखेको ६ महिना पुग्नै लाग्यो । यो समयमा उनले क्यानडा जान पाएनन्, न दलालले लगेको ४ लाख रुपैयाँ नै फिर्ता पाए ।

अशोकसहित ६ जना युवासँग जनही ४ लाख रुपैयाँ उठाएर दलाल राजन राजवंशी फरार भएका छन् । धनपालथान घर भएका दलाल राजवंशी फरार भएपछि पैसा फिर्ता गराउन भन्दै पीडित युवाहरु श्रम तथा रोजगार कार्यालय विराटनगर धाइरहेका छन् ।

सुनबर्सी नगरपालिका– २ का राजु राजवंशी, पुष्पकुमार राजवंशी, श्रवण राजवंशी, सुनबर्सी– ९ का लक्ष्मण सहनी, दयानन्द सहनीले श्रम कार्यालयमा उजुरी गरेका हुन् ।

विदेश जाने लोभमा कमजोर आर्थिक अवस्था भएका उनीहरु सबैले सयकडा ४ रुपैयाँसम्म ब्याज तिरेर ऋण लिएका छन् । तर विदेश नपठाई दलाल फरार भएपछि ऋण तिर्न समस्या भएको पुष्पकुमार बताउँछन् । उनले दुई माइक्रोफाइनान्स कम्पनी र केही व्यक्तिबाट ऋण लिएर दलाललाई रकम बुझाएका थिए ।

क्यानाडा नै पठाउने भन्दै सुनसरी रामधुनी नगरपालिकाका ६ जना स्थानीय युवाहरुबाट ३७ लाख उठाएर अर्का दलाल पनि फरार भएका छन् । धर्मेन्द्र चौधरी, योगनारायण चौधरी, सुरज चौधरी, लिलेन्द्र चौधरी, कृष्णकुमार चौधरी र सन्तोष चौधरीलाई नक्कली भिषा देखाएर ३५ लाख ठगी गरेका थिए ।

असारमा नै पठाउने भन्दै रकम लिएर दलाल बेपत्ता भएपछि ठगिएकाहरु श्रम कार्यालय विराटनगर आएका थिए । श्रम कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेलले दलालबाट ७ लाख ६७ हजार रुपैयाँ फिर्ता गराए पनि धेरै युवाको न रकम फिर्ता भएको छ, न विदेश जान पाएका छन् ।

गाउँका युवा फसाउने, दिल्लीमा लुक्ने

मोरङको कटहरी, सनुबर्सी र सुनसरीको रामधुनीका युवालाई ठगी गर्ने गिरोहका स्थानीय एजेण्ट हुन् राजन राजवंशी । रामधुनीमा भने किशोरकुमार ठाकुर, विनोद कुमार ठाकुर पनि थिए ।

क्यानाडाका नाममा ठगी गरिरहेको गिरोहमा देखिएका नाइके निरञ्जन पुरी, गणेशप्रसाद गिरी, दिपेन्द्रकुमार झा हुन् । उनीहरु भारतको दिल्लीमा लुकेर बस्दै आएको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख प्रेमप्रसाद सञ्जेल बताउँछन् ।

गिरी र पुरीसहितको समुहले नक्कली भिसा र प्लेन टिकट देखाएर मोरङ रंगेली, सुनबसी आसपासका ३० जना युवालाई ठगी गरेका छन् । ४ देखि ७ लाख रुपैयाँका दरले गिरोहलाई रकम बुझाएकाहरु मध्ये मोरङका ६ जनाले श्रम कार्यालय विराटनगरमा लिखित उजरी श्रम कार्यालय हुदै बैदेशिक रोजगार विभाग पुगेको छ ।

ठगी गिरोहको नाइके भनिएका निरञ्जनको स्थायी ठेगाना नेपालगञ्ज हो । झापाको गौरीगञ्ज गाउँपालिका ४ का गणेशप्रसाद गिरी र दिपेन्द्रकुमार झा पनि दिल्ली नै बस्दै आएका छन् ।

मोरङ सुनसरी र झापामा क्यानडा पठाउने नाममा ठगी गर्ने दलालको गिरोह एउटै रहेको श्रम तथा रोजगार कार्यालय विराटनगरका प्रमुख सञ्जेल बताउँछन् ।

रंगेली र सुनबर्षी आसपास ३० जना भन्दाबढीबाट डेढ करोड उठाएर दलाल फरार भएको जानकारी आएको उनले बताए । ठगीमा संलग्नलाई पक्राउ गरी उपस्थीत गराउन श्रम कार्यालयले प्रहरी कार्यालयहरुलाई पत्र लेखेको छ । तर उनीहरु अहिलेसम्म पक्राउ परेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment