
१९ वैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपाल र नयाँ शक्तिबीच २३ गते पार्टी एकता गर्ने आन्तरिक तयारी गरेका छन् । तर, अघिल्लो पटक अन्तिम चरणमा आएर एकता प्रक्रिया भाँडिएका कारण नेताहरुले औपचारिक रुपमा भन्न रुचाएका छैनन् ।
स्रोतका अनुसार दुई दलको वार्ता समिति स्तरमा छलफल टुंगिएको छ । दुबै पार्टीका अध्यक्ष एकीकृत पार्टीको अध्यक्ष हुनेछन् । संघीय परिषद्को अध्यक्षता डा. बाबुराम भट्टराई र केन्द्रीय समितिको अध्यक्षता उपेन्द्र यादवले गर्ने सहमति जुटेको छ । पार्टीको पदाधिकारीमा फोरमबाट १६ र नयाँ शक्तिबाट ९ जना रहनेछन् ।
प्रदेश तथा जिल्ला स्तरमा पार्टी एकताको प्रस्ताव फोरमले नयाँ शक्तिलाई दिएको थियो, त्यसमा नयाँ शक्तिले संशोधन गरेर फर्काएको छ ।
वार्ता टोलीले एकीकृत पार्टीको नाम समाजवादी पार्टी प्रस्ताव गरिएको छ, जसमा अगाडि नेपाल थप्ने विकल्प पनि दिइएको एक सदस्यले बताए । ‘हाम्रो स्तरमा छलफल टुंगिएको छ, भोलि शीर्ष नेताहरु बसेपछि एकता प्रक्रियाबारे टुंगो लाग्छ’ नयाँ शक्तिका एक नेताले भने ।
सरकार छाड्नुपर्ने शर्त
वार्ताकारहरुका अनुसार फोरम र नयाँ शक्तिको एकतामा अड्एिको विषय सरकार छ ।
१६ सदस्यीय भएको फोरम संघीय सरकारमा छ भने एक सिट भएको नयाँ शक्ति प्रतिपक्षमा । एकताबारे भइरहेको छलफलमा नयाँ शक्तिले संघीय सरकार छाडेर प्रतिपक्षमा बस्नुपर्ने शर्त राखेको छ ।
फोरमका नेताहरुले भने पार्टी एकता गरेपछि सरकारबारे निर्णय लिने बताएका छन् । उसो त केही दिनअघि संसदको बजेट अधिवेशनको पहिलो दिन फोरम सहअध्यक्ष राजेन्द्र श्रेष्ठले संविधान संशोधन गर्ने सहमति कार्यान्वयन नभए सरकार छाड्ने बताएका थिए ।
तर, नयाँ शक्तिका नेताहरु एकतापछि सरकार छाड्ने प्रस्तावमा सहमत देखिएका छैनन् । एक नेता भन्छन्, ‘हतारमा पार्टी एकता गरेर भोलि विवाद गर्नुभन्दा सबै विषय टुंग्याएर जान चाहन्छौं ।’
स्रोतका अनुसार सरकारसहितका विषयमा सहमति भए २३ गते पार्टी एकता घोषणा हुनेछ । नभए फेरि तत्कालका लागि एकता टर्नसक्छ ।
राजपा र जनमुक्तिसँग छलफल
एकता प्रक्रियामा रहेका संघीय समाजवादी फोरम र नयाँ शक्ति पार्टीका नेताहरुले शुक्रबार राष्ट्रिय जनता पार्टी र जनमुक्ति पार्टीका नेताहरुलाई बोलाएर छलफल गरेका छन् । सम्भव भए चार पार्टीबीच एकै पटक एकता घोषणा गर्नेबारे छलफल भएको छ ।
यसबारे पर्सि फेरि छलफल हुनेछ । तर, तत्काल राजपा र जनमुक्ति पार्टीसँग एकताको सम्भावना नरहेको एक नेताले बताएका छन् ।
प्रतिक्रिया 4