+
+
Shares

कतारमा वनमन्त्रीको प्रस्ताव : एसियाली मुलुकलाई जलमार्गले जोडौं

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २० गते १२:२३

२० वैशाख, काठमाडौं । वन तथा वातावरण मन्त्री शक्ति बस्नेतले एसियाली मुलुकलाई जलमार्गले जोड्न प्रस्ताव गरेका छन् । कतारको दोहामा जेठ १८ र १९ गते आयोजित एसिया को–अपरेशन डायलग (एसीडी) को १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी मन्त्री बस्नेतले एसियाली मुलुकहरुबीचको सहकार्य अझ बढी प्रभावकारी र उपयोगी बनाउन जलसञ्जालमा जोडिनुपर्ने प्रस्ताव राखेका हुन् ।

एसीडीको १६ औं मन्त्रीस्तरीय बैठकमा सहभागी भएर वन तथा वातावरणमन्त्री बस्नेत बिहीबार स्वदेश फर्किएका छन् । उनले एसिया महाद्वीपका सबै मुलुकलाई एउटै मञ्चमा आवद्ध गरी समग्र एसियाको विकासमा सदस्य राष्ट्रहरुबीच सहकार्य तथा एकता प्रवर्द्धन गर्नुपर्ने भनाइ राखेका थिए ।

यस्तै जलवायु परिवर्तनको असरले साना तथा अल्पविकसित मुलुकहरुमा आइपरेको जोखिम एवं प्राकृतिक विपत्तिजस्ता समस्याहरुको दीर्घकालीन समाधानका लागि सबै एसियाली मुलुक एकजुट हुुनुपर्ने विचारसमेत व्यक्त गरे ।

नेपालमा लगानीमैत्री वातावरण निर्माणका लागि आवश्यक कानूनी तथा संस्थागत सुधार गरिएकाले एसिया क्षेत्रका लगानीकर्तालाई नेपालमा ऊर्जा, पर्यटन, यातायात पूर्वाधार, कृषि, वन पैदावार तथा सूचना प्रविधिलगायत क्षेत्रमा लगानी गर्न अपिल पनि गरेका थिए ।

बैठकले दोहा घोषणापत्र जारी गर्दै दिगो विकास तथा शान्ति, कनेक्टिभिटी, व्यापार तथा पारवहन सहजीकरण, पर्यटन प्रवद्र्धन, जलवायु परिवर्तनका असर न्यूनीकरण, प्राकृतिक विपद व्यवस्थापन, साइबर सुरक्षा, आतंकवाद नियन्त्रणविरुद्धको सहकार्य, स्वास्थ्य तथा खेलकुद क्षेत्रको विकासजस्ता क्षेत्रीय तथा अन्तर्राष्ट्रिय सरोकारका महत्वपूर्ण विषयहरुमा सहकार्यको घोषणा गरेको छ ।

एसिया महाद्वीपका मुलुकहरुबीच एउटै मञ्चमा अवद्ध भई विभिन्न विषयमा सहकार्यका लागि सन् २००२ मा एसीडी गठन भएको हो । उक्त मञ्चमा नेपाल सन् २०१६ मा सदस्य बनेको थियो । मञ्चमा एसियाका ३४ राष्ट्र सदस्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?