
२० वैशाख, काठमाडौं । १ किलो सुनसहित रौतहटमा एक युवक पक्राउ परेका छन् । शुक्रबार विहान साढे ५ बजे रौतहटको गौर नगरपालिका ४ बसपार्कबाट प्रहरीले सुनसहित २१ वर्षका अनुकेशकुमार साहलाई पक्राउ गरेको हो ।
लु ४ प ५८०३ नम्बरको मोटरसाइकलमा रहेका उनलाई प्रहरी निरीक्षक पपु नायक नेतृत्वको टोलीले चेकजाँच गर्दा ४ टुक्रा सुन भेटेको हो । साहबाट बरामद पहेँलो धातु सुनचाँदी व्यवसायी संघ गरुडामा परीक्षण गर्दा सुन भएको पुष्टि भएको प्रहरीको भनाइ छ ।
साहलाई राजस्व छली कारबाहीको लागि बाराको पथलैयास्थित राजस्व अनुसन्धान विभाग मध्यमाञ्चल क्षेत्रीय कार्यालय पठाउने प्रहरीले जानकारी दिएको छ ।
। बरामद गरीएको सुनको मुल्य करिब ६० लाख रुपैयाँ रहेको छ । सुन कुन प्रयोजनका लागि कसरी ल्याएको भन्ने बारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक भुपेन्द्र खत्रीले बताए ।
सीमावर्ती क्षेत्रहरुमा अवैध सुनको कारोबार भइरहेको खबरलाई समेत यो घटनाले पुष्टि गरेको छ । संगठित तस्करहरुले काठमाडौंलगायत देशका विभिन्न स्थानहरुबाट लुकाईछिपाई ल्याएका सुन भारतीय बजारसम्म रौतहटका मुख्य नाकाबाटै तस्करी गरेर पुर्याउने गरेका छन् ।
प्रतिक्रिया 4