Comments Add Comment

प्रदेश ५ को प्रदेशसभा हिउँदे अधिवेशन सकियो

२२ वैशाख, बुटवल । प्रदेश ५ को प्रदेशसभाको हिउदे अधिवेशन आइतबार राति १२ बजेदेखि अन्त्य हुने भएको छ ।

आइतबार बसेको प्रदेशसभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीले प्रदेश प्रमुखको कार्यालयबाट प्राप्त अधिवेशन अन्त्यको पत्र पढेर सुनाएका थिए ।

विधेयक अधिवेशनको रुपमा लिइएको प्रदेशसभाको तेस्रो अधिवेशनमा ३३ वटा बैठक बसी २३ वटा विधेयक पारित भएको छ । अन्तिम बैठकबाट आइतबार समेत दुई विधेयक पारित भएको छ ।

आइतबारको बैठकले प्रदेश लोकसेवा आयोगको गठन, काम, कर्तव्य र अधिकारको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र गाउँ सभा÷नगर सभाको कार्यसञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पारित गरेको छ ।

आइतबारको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोखरेलले अधिवेशनबाट महत्वपूर्ण उपलब्धी हासिल भएको बताए ।

कानून निर्माण, करका बिषयमा देखिएका अन्यौल हटाउने बिषयमा प्रदेशसभा तथा प्रदेश सरकारले महत्वपूर्ण उपलब्धी हासिल गरेको उनको दाबी थियो ।
अन्तर प्रदेश परिषद र अन्तर सरकारी वित्त परिषदको बैठकबाट पनि प्रदेश सरकारले महत्वपूर्ण उपलब्धि हासिल गरेको मुख्यमन्त्री पोखरेलले बताए ।
कानूनी जटिलताका कारण कतिपय बिषयमा अपेक्षित सफलता हासिल नभए पनि आगामी दिनमा सुधार गरिने उनले बताए ।

नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले एकाध बिषयमा बाहेक प्रतिपक्षी दलहरुसँग सहमति गरेर प्रदेशसभा र प्रदेश सरकार अगाडि बढेको बताए ।

सार्वजनिक लेखा समितिका सभापति डिल्लीबहादुर चौधरीले प्रदेशसभा बैठक लगातार तीन दिन भन्दा बढी समय चल्न नसकेको विजनेसको अभाव हुन नदिने गरी प्रदेश सरकारले तयारी गर्नुपर्ने आवश्यकता औंल्याए ।

संविधान कार्यान्वयन, संघीयता कार्यान्वयन र प्रदेशलाई बलियो बनाउने उद्देश्यले नेपाली कांग्रेसले प्रदेशसभा र प्रदेश सरकारलाई रचनात्मक सहयोग गर्दै आएको उनले बताए ।

प्रदेशसभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, तारा जिसी, कल्पना पाण्डेल प्रदेशसभा र प्रदेश सरकारलाई रचनात्मक सहयोग गर्दै आए पनि सरकारले प्रतिपक्षी दलसँग समन्वय र सहकार्य नगरेको गुनासो गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment