Comments Add Comment

सुस्तावासीको खुसीमा तुषारापात : पुल निर्माणले गति लिएन

२२ वैशाख, नवलपरासी । नेपाल सरकारसँग सुस्तावासीको पहिलो माग सधै भारतले अतिक्रमण गरेको भूमि फिर्ता पाउनु पर्ने भन्ने हुन्थ्यो । दोस्रो क्रममा नारायणी नदीमा पुल निर्माणको माग हो । उनीहरुले सके पक्की पुल नसके झोलुङ्गे पुल भएपनि निर्माण गरिदिनु सरकारसँग सधै अनुरोध गरिरहन्थे ।

सुस्तावासीको चाहना अनुसार नै भारतले अतिक्रमण गरेको भूमि सुस्तालाई नेपाली भूमिसँग सोझै जोड्ने गरी नारायणी नदीमा झोलुङ्गे पुल निर्माणको लागि ठेक्का लाग्यो । यो दिन सुस्तावासीमा खुसीको सीमा नै थिएन । उनीहरुलाई एउटा ठूलै युद्ध जितेझैं लागेको थियो ।

तर, त्यो खुसीले अझै पूर्णता पाउन भने सकेको छैन । पुल निर्माणको कामले गति लिन नसकेपछि सुस्तावासीको खुसीमा तुषारापात भएको हो ।

ठेक्का सम्झौता अनुसार काम अगाडि बढेको भए सुस्तावासीले आगामी असोजसम्ममा झोलुङ्गे पुलबाट यात्रा गर्न पाउँथे । तर, ४ वर्ष वितिसक्दा पनि काम निकै सुस्त गतिमा छ ।

०७३/ ७४ सम्ममा निर्माण गरिसक्ने गरी ठेक्का भएको पुल ०७४/७५ सम्म पनि काम शून्यमै थियो । स्थानीय सरकारले ठेकदारलाई पटकपटक ताकेता गरेरपछि ०७६/७७ सम्ममा सक्ने प्रतिबद्धताका लागि पुनः काम सुरु भयो ।

पश्चिम नवलपरासीको पक्लिहवाबाट सुस्ता गाउँपालिकाको सुस्ता जोड्ने गरी झोलुङ्गे पुल निर्माणको लागि केभी एण्डे पशुपति कन्सट्रक्सन कम्पनीले जिम्मा लिएको थियो । बीचमै छोडेपछि त्रिशुली एण्ड साहारा जेभीले लिएको छ । १५७१ मिटर लम्बाई र १.७ मिटर चौडाइको पुल निर्माणको सम्झौता २२ करोड ८० लाखमा भएको हो ।

अहिलेसम्म जमीनमुनीको पाइलिङ्ग गर्ने काम पनि नसकेको सुस्ता गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनका अनुसार ठेकेदारले अहिले ३ वटा पिल्लरको पाइलिङ्ग (जमीनमुनिको काम) सकेको छ । जब कि पुलको डिजाइनमा १४ वटा भन्दा बढी पिल्लर राख्नु पर्ने गरी डिजाइन गरिएको छ ।

सुस्ता बचाउ अभियानका अध्यक्ष गोपाल गुरुङ्गले झलुङ्गे पुल निर्माण हुन सके सुस्ताबासीका आधा समस्या हल हुने बताउँछन् । पुल निर्माण भए सधै भारतीय बाटो प्रयोग गरेर बजार आउजाउ गर्नु नपर्ने भन्दै उनले सुस्तामा उत्पादिन उखु, भेली जस्ता सामग्रीहरु सजिलै नेपाली बजारसम्म ल्याउन सकिने बताए ।

कम्पनीले निर्माण सम्झौता गरे लगतै केही निर्माण सामग्रीहरु फलामे रड, फलामे पाता, जेनेरेटर, जेसिभी, फलामका जालीलगायतका सामग्रीहरु छाडेर गएको छ भने बेलाबेलामा प्राविधिक आएर डि्रलिङ्ग गरेर जमीनमुनिको सतहको अवस्था परीक्षण गर्ने गरेका छन् तथापि अहिलेसम्म जम्मा ३ वटाको मात्र सकिएको छ ।

यो वर्ष पुल निर्माणको केही काम भएको भए पनि ठेकेदार पक्ष पुनः एक महिनादेखि काममा नफर्किएको अध्यक्ष पाण्डेले बताए ।

ठेकेदार पक्षले निर्माण स्थलमा विद्युतको सहज आपूर्ति गरिदिन माग गरेको उनको भनाइ छ । पाण्डेले भने – अलि धेरै निर्माण सामग्री झारेर काम गर्छ भन्ने विश्वास दिलाए, मैले विद्युत आपूर्तिको व्यवस्था मिलाउने थिएँ । केही सामग्री झारेकै छैन । कसरी विश्वास गरेर उनीहरुले भनेको मान्ने ?

सुस्ताबाट नेपालका अन्य भूभाग आउन नारायणी नदीमा डुंगा तर्नु पर्छ कि त भारतबाट आउनु पर्ने बाध्यता छ ।

वषर्ामा भारतले सीमामा कडाइ गरिदिने र नारायणी नदीमा पानीको सहत बढ्दा डुंगासमेत नचल्ने हुँदा आवतजावतमै समस्या हुने गर्छ । यसले गर्दा सुस्तावासीले नेपाली बजारमा र नेपालको अन्य भूभागसँग सहजै जोडिनका लागि नारायणी नदीमा पुल निर्माणको माग गर्दै आएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment