Comments Add Comment

आजका पत्रपत्रिका : मठाधीशले तीन करोडमा बेचे गुठीको जग्गा

२३ वैशाख, काठमाडौं । संघीय राजधानी काठमाडौंबाट आज प्रकाशित राष्ट्रिय दैनिक पत्रिकाहरुले फरक–फरक विषयलाई प्रमुख समाचार बनाएर छापेका छन् । केहीले पुरातात्विक वस्तु उपेक्षामा परेकोबारे चासो राखेका छन् भने कुनैले सार्वजनिक जग्गा दुरुपयोग, सरकारको नीति तथा कार्यक्रममाथिको छलफललगायत विषयलाई समाचार बनाएका छन् ।

कान्तिपुर दैनिकले आज अन्तर्राष्ट्रिय अनुसन्धानदाताले फेला पारेका ढुंगे हतियार, जीवजन्तुका अवशेष र आकृतिलगायतका ढुंगे युगको मानव सभ्यता झल्कने सयौं प्रमाण थन्किएकोबारे चासो राखेको छ । सन् ८० को दशकमा जर्मन अनुसन्धाता डा. गुर्डुन कर्भिनसले सन् १९८३ देखि झण्डै २० वर्ष समय खर्चेर दाङ देउखुरी क्षेत्रमा गरेको पाषाणकालीन युगबारेको शोध–अनुसन्धानको प्रामाणिकतालाई छाउनीस्थित राष्ट्रिय संग्रहालयको बाकसमा थन्क्याइएको हो ।

बालमन्दिरको जग्गा निजी स्कुललाई प्रक्रिया मिचेर दिएको सम्बन्धमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ढाकछोप गर्न खोजेको अर्को खबर पनि कान्तिपुरमा छ । संसद्को महिला, बालबालिका तथा सामाजिक समितिले निर्देशन दिए पनि १३ रोपनी १२ आना १ पैसा जग्गा ५१ वर्षका निम्ति वृहस्पति शिक्षा सदनलाई भाडामा दिँदा अपनाइएको प्रक्रियाका विषयमा छानबिन नगरेको समाचारमा उल्लेख छ ।

नेपाल विद्युत् प्राधिकरणले समयमै प्रसारण लाइन र सवस्टेशन संरचना पूरा नगर्दा नेपालमै निर्माण भइसकेका करिब ५० मेगावाट विद्युत पूर्ण रुपमा राष्ट्रिय प्रणालीमा जोड्न नसकेको खबर कान्तिपुरको अर्थ वाणिज्य पृष्ठमा छ ।

कान्तिपुर लेख्छ– प्रसारण लाइनको अभावमा उत्पादन गर्न सक्ने अवस्थाका आयोजना कम क्षमतामा सञ्चालित भइरहेका छन् भने अपुग विद्युत् भारतबाट ल्याउनुपर्ने अवस्था छ । यो अवस्थाका कारण प्राधिकरणले पछिल्लो २ वर्षमा १ अर्ब रुपैयाँभन्दा बढी आम्दानी गुमाएको छ । जलविद्युत् आयोजनासँग गरेको विद्युत् खरीद सम्झौताअनुसार समयमै प्रसारण लाइन निर्माण नगर्दा प्राधिकरणको आम्दानी गुमेको हो ।

नागरिकले ललितानिवासलगायत व्यक्तिले हडपेको सरकारी जग्गा फर्काउन प्रक्रिया थालेको लेखेको छ । भूमि व्यवस्था तथा सहकारी मन्त्रालयले गैरकानूनी ढंगबाट व्यक्तिका नाममा दर्ता गरिएका सार्वजनिक जग्गा फर्काउने प्रस्ताव मन्त्रिपरिषद्मा लैजाने तयारी गरेको समाचारमा उल्लेख छ ।

मठाधीशले तीन करोडमा गुठीको जग्गा बेचेको खुलासा राजधानीले गरेको छ । रुपन्देहीको भैरहवास्थित मटिहानी गुठीका मठाधीश जगन्नाथदास वैष्णवले गुठीको नाममा रहेको झण्डै ३ करोड मूल्य बराबरको ३ कट्ठा ५ धुर जग्ग २ व्यक्तिलाई बिक्रिी गरेका हुन् ।

समाचार अनुसार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय रानाले गुठीको जग्गा मठाधीशबाटै बिक्री भएको विषयमा गम्भीर रुपमा छानबिन भइरहेको जनाएका छन् ।

नयाँ पत्रिकाले यातायात कार्यालयको भ्रष्टाचारमाथि नजर लगाएको छ । समाचार अनुसार पाँच वर्षमा यातायात कार्यालयका १२३ कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

नीति तथा कार्यक्रममा सत्तापक्षकै सांसदले विरोध जनाएकोदेखि २ हजार सरकारी वेबसाइटमाथि चिनियाँ ह्याकरले आक्रमण गरेकोसम्मका खबर नयाँ पत्रिकामा छ ।

सरकारी मुखपत्र गोरखापत्रले विपद् न्यूनीकरणका लागि सम्बद्ध निकायलाई प्रधानमन्त्रीले दिएको निर्देशनलाई मुख्य समाचार बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment