+
+
WC Series
Won कर्णाली याक्स 2025
129/9 (20)
VS
Karnali Yaks won by 3 runs
जनकपुर बोल्ट्स 2025
126/6 (20)
Shares

डाक्टर दम्पत्तीको विवाद : ताल्चा फोडेर घर पसेकी निलम असुरक्षित !

सुरेश बिडारी सुरेश बिडारी
२०७६ वैशाख २५ गते १०:४३

२५ वैशाख, वीरगञ्ज । पर्सा जिल्ला अदालतको अन्तरिम संरक्षणात्मक आदेशपछि घरको ताल्चा फोडेर गृह प्रवेश गरेकी ३१ वर्षीया डा. निलम कुमारी साहले आफू असुरक्षित भएको बताएकी छन् ।

उनी सुरक्षाकर्मी र अधिकारकर्मीको रोहबरमा १६ वैशाखमा ताल्चा फोडेर वीरगञ्ज महानगरपालिका- ६ स्थित ससुरा गम्भिरा साहको घरमा पसेकी थिइन् । त्यसयता उनी बाहिर निस्किएकी छैनन् । शनिबार सासु, ससुरा सहित आफन्तहरु आएर घरका सबै कोठामा ताल्चा लगाएर गएको उनले बताइन् ।

‘म बसेको कोठामा हावा आउने झ्याल पनि बन्द गर्दै थिए, मैले त्यसो गर्न दिइन’, उनले भनिन्, ‘त्यसपछि उहाँहरु आउनुभएको त छैन, तर मलाई डर लागिरहेको छ ।’

परिवारले मानसिक-शारीरिक यातना दिएर घरमा बस्न नदिई निकालेको भन्दै पर्सा जिल्ला अदालतमा घरेलु हिंसा सम्बन्धी मुद्दा दायर गरेकी थिइन् । अदालतले प्रारम्भिक सुनुवाइपछि दिएको संरक्षणात्मक आदेश ससुराली पक्षले पालना नगरेपछि उनी ताला फोडेर ससुराको घरमा पसेकी थिइन् ।

ससुरा गम्भिरा साहले छोरा डा. राजेश कुमार साह अंश लिएर गइसकेकाले निलमले उसैको घरमा जानुपर्ने बताउँदै आएका छन् । न्युजिल्यान्डमा विद्यावारिधि गरिरहेका राजेश अहिले वीरगञ्जमै छन् । घरबाट अंश लिएर छुट्टी सकेको र अहिले साथीको घरमा बसिरहेको बताउने उनले छोडपत्रको लागि निवेदन दिएका छन् । उनले भने, ‘डा. निलमसँग मनै मिल्दैन, कसरी कसरी चल्छ ?’

‘सँगै बसे चल्छ जीवन’

बाराको कलैया नगरपालिका- १० मटिआर्वाका डा. निरञ्जन साहकी छोरी  निलम र राजेशबीच २४ मंसिर २०६९ मा मागी विवाह भएको थियो । विवाहमा नगद ३५ लाख र अन्य सामान दाइजो दिएको माइती पक्षको दावी छ । डा. राजेश भने धेरै कर गरेकाले पाँच लाख रुपैयाँ मात्र लिएको बताउँछन् ।

प्रसूति रोग विशेषज्ञको रुपमा नेशनल मेडिकल कलेजमा कार्यरत डा. निलम यो विवाहलाई तोड्ने पक्षमा छैनन् । सँगै बसे जीवन सुमधुर रुपमा चल्ने, तर चीनबाट फर्किएपछि आफूलाई घरमा बस्नै नदिएको उनको भनाइ छ ।

जानकी मेडिकल कलेज, जनकपुरकी एमबीबीएस निलम र नेशनल मेडिकल कलेज वीरगञ्जका एमबीबीएस राजेश दुवै विवाहपछि एमडी गर्न चीन गएका थिए । चीनमा पढाई सकेर निलमभन्दा राजेश एक वर्षअघि नेपाल फर्केर न्युजिल्याण्ड गएका थिए ।

‘पढाई सकेर चीनबाट घर फर्कंदा सासु र ससुराले छोरो नभएको भन्दै घरमा बस्नै नदिने, दाइजो कम ल्याएको भनेर मानसिक यातना दिने, अरु केटाहरुसँग सम्बन्ध छ भनेर आरोप लगाउने, राजेशले अर्को विवाह गर्छ भनेर मानसिक यातना दिने गर्नुभयो,’ डा. निलम भन्छिन्, ‘डा. राजेश अंश लिएर छुट्टएिको कुरा पनि बहनाबाजी मात्र हो ।’

भेटिएन समस्याको चुरो

डा. निरञ्जन साह र गम्भिरा साह दुवै तेली समुदायका प्रतिष्ठित व्यक्ति हुन् । उनीहरुका सुयोग्य छोरा र छोरीको घरजम भने भाँडिन लागेकोमा तेली समाज पर्साको टाउको दुख्ने नै भयो ।

तर, डा. निलम र डा. राजेशलाई मिलाउन सक्दो कोशिस गरेर दिक्क बनेका समाजका अध्यक्ष ध्रुव साहलाई दुवै पक्षले वास्तविक समस्या लुकाएको भन्ने लागेको छ । ‘केटा पक्ष केटीलाई अहिले आएर अस्वीकार गर्नुको कारण खुलेर भन्दैन, केटी पक्ष पनि अडानबाट पछि हट्दैन’, उनले भने, ‘बाबुहरुको जुँगाको लडाइँमा छोराछोरीको घरबार दाउमा परेजस्तो छ ।’

डा. निलम र डा. राजेशबीच मेलमिलाप गराउने प्रयास गर्नेमध्येकै एक हुन् जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक रेवती ढकाल । ‘तर, ‘राजेश निलमसँग मन नै मिलेन जीवन कसरी चल्छ भन्छन्, निलमसँगै बसेपछि मन मिल्छ भन्छिन्’, उनले भने, ‘एउटाले सम्बन्ध विच्छेद र अर्कोले घरेलु हिंसाको मुद्दा दर्ता गराएका छन् । अब उनीहरुको समस्या अदालतले नै किनारा लगाउँछ ।’

लेखक
सुरेश बिडारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?