Comments Add Comment

देउवाको भाषण : हर मेजेस्टिज विद्या भण्डारी, काँतर सभामुख

२५ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियान सुरु गर्दा सभापति शेरबहादुर देउवाले भने पार्टीभित्र आफ्नो विरोध गर्नेदेखि राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमाथि निशाना साधेका छन् । साथै सम्बोधनका क्रममा उनले राष्ट्रपतिदेखि सभामुखसम्म निकै ठाडो भाषा प्रयोग गरे ।

कोइरालाविरुद्ध बोल्नै नसक्ने हो ?

मुस्किलले १२ मिनेट सम्बोधन गरेका देउवाले सुरुमा पार्टीभित्र आफ्ना विरोध गर्नेहरुमाथि खनिए ।

महासमितिमा केन्द्रीय सदस्यहरु तल्लो तहबाटै निर्वाचित भएर आउनुपर्ने माग उठेको तर पास नै नभएको उनको दाबी छ । सत्य कुरा थाहा पाउनुपर्ने भन्दै उनले भने, ‘मैले प्रयास गर्छु भनेकै हो । साथीहरुले मानेनन् । ८ जनाबाहेक सबैले केन्द्रीय सदस्यहरु तलबाट आउनु पर्दैन भने ।’

त्यो पनि आफ्नो पालामा नभई गिरिजाप्रसाद कोइरालाको पालामा सुरु भएको बताए । सुशील कोइराला सभापति हुँदा पनि त्यसले निरन्तरता पाएको भन्दै उनले भने, ‘कोइरालाको खिलाप बोल्नै नसक्ने हो भने भइहाल्यो । मेरो खिलापमा जति बोले पनि भयो । नत्र भने हद भयो ।’

उनले मञ्चमा रहेका प्रकाशमान सिंहमाथि पनि कोइरालाविरुद्ध बोल्न नसकेको आरोप लगाए । सिंह तीन हुन्, जसले संसदीय दलको चुनावमा देउवाविरुद्ध उम्मेदवारी दिएका थिए ।

सबै केन्द्रीय सदस्य तयार भए भोलि पनि विधान संशोधन हुनसक्ने उनले बताए । यो पहिलेदेखि नै चलेको चलन भएको र ‘चलन हटाउन सहज नहुने उनको तर्क थियो । त्यति बेला कसैले अब चलाउनु भएन नि त भन्ने जवाफ फर्काए । देउवाले हाँस्दै जवाफ दिए, सक्नुपनि पर्‍यो नि । केन्द्रीय सदस्य नै मान्नुपर्‍यो । मान्दै मान्दैनन् ।’

हलमा सहभागीहरुले चर्को स्वरमा प्रतिवाद गरे । त्यसपछि भने कांग्रेस सभापति देउवा रिसाए । ‘दोहोरो नगरौं है, दोहोरो नगरौं । यो छलफल होइन, भाषण हो यो’ भन्दै कार्यकर्तालाई हकारे ।

काँतर सभामुख

त्यसपछि अहिलेको राजनीतिक सन्दर्भमा कुरा गरौं भन्दै उनले एकसाथ राष्ट्रपति, प्रधानमन्त्री र सभामुखमाथि निशाना साधे ।

‘हिजो संसदमा देखिहाल्नुभयो । प्रधानमन्त्रीले गैर संसदीय भाषा बोल्यो । हामीले विरोध गर्‍यौं र सभामुखलाई भन्यौं, डिलिट गर्नुस्’ देउवाले भने, ‘त्यसले गर्नै सकेन ।’

नेपालको संसदीय इतिहासमा यति कमजोर, डरपोक, काँतर पहिलो खेलेको उनले बताए । ‘यस्तो डरपोक सभामुख मैले देखेकै छैन’ पूर्वप्रधानमन्त्री समेत रहेका देउवाले भने, ‘धेरै सभामुख भएका छन् तर, उनीहरुले सत्ता पक्षको जस्तो व्यवहार कहिल्यै गरेका थिएनन् । बरु विपक्षीहरुको भावनालाई महत्व दिए ।’

सरकार सत्तापक्ष र सदन विपक्षीको हुने उनको तर्क छ ।

हर मेजेस्टिज विद्या भण्डारी गभमेन्ट

त्यसपछि उनी राष्ट्रपतिमाथि खनिए । गणतन्त्र आएपछि नेपाल सरकार भन्ने चलन सुरु भइसकेको भए पनि राष्ट्रपति विद्या भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा मेरो सरकार भनेको भन्दै देउवाले भने, ‘यो भन्दा अगाडि अघिल्लो वर्ष मेरो सरकार भनेकी थिइनन् । रामवरण यादवले पनि मेरो सरकार भनेको थिएन । अहिले यिनलाई बेलायती महारानी जस्तो किन हुनु परेको ?’

विस्तारै बेलायती महारानी भन्दा बढ्ता हुन थालेको उनको टिप्पणी छ। उनले अघि भने, बेलायतमा हर मेजेस्टिज गर्भमेन्ट भन्छ । यहाँ पनि मेरो सरकार भनियो । हर मेजेस्टिज विद्या भण्डारी गभमेन्ट भन्ने ?’

सडकबाटै हटाउने चेतावनी

प्रधानमन्त्रीले जे पायो त्यही बोल्न थालेको र सभामुख निरीह भएको भन्दै देउवाले भने, ‘यही हो मैले भनेको । कम्युनिस्टको शासन आएपछि यस्तै हुन्छ ।’

सरकारले हरेक ठाउँमा हस्तक्षेप गरेको भन्दै उनले कुनै पनि स्वरुपको तानाशाह स्वीकार्य नहुने बताए । ‘यस्तै रबैया रह्यो भने यिनलाई हटाउन सडक आन्दोलन गर्न बाध्य हुन्छौं’ देउवाले भने । यद्यपि आफूहरु कुर्सि, रेलिङ भाच्ने प्रतिपक्षी नभएको बताए ।

कांग्रेस सरकारले गरेका हरेक कुरा आफूले गरेको भन्दै उनले अर्कोले गरेको कुरा मैले गरेको भन्न लाज लाग्नु पर्ने टिप्पणी गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment