Comments Add Comment

ब्रुमरले दैनिक १० टन धुलो टिप्दा काठमाडौं कति सफा ?

२५ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार संसदमा भनेका थिए, काठमाडौंमा अब मास्क नलगाई मान्छेहरु हिँड्न थालेका छन् । काठमाडौं महानगरपालिका भने काठमाडौंमा धुलोमुक्त गर्न अझै केही समय लाग्ने बताउँछ ।

काठमाडौं महानगरपालिकाले ब्रुमर ल्याएपछि सडकमा धुलो कम भएको दावी सरकारको छ । महानगरपालिकाको तथ्यांकअनुसार काठमाडौंका सडकबाट हाल दैनिक ५ वटा ब्रुमरले ८ देखि १० टन धुलो संकलन हुन्छ । त्यसको असर काठमाडौंमा कति देखिएको छ त? भन्ने अनलाइनखबरको प्रश्नमा महानगरका प्रवक्ता ईश्वरमान डंगोल भन्छन्,’धुलो केही त घटेको छ, साच्चिँकै सडकमा धुलो नदेखिने अवस्था आउन अझै ६ महिनाजति भने लाग्छ ।’

महानगरपालिकाको पनि  निश्कर्ष छ, हाल सडक वरपर जताततै खुला क्षेत्र छ । सडकमा धुलो आउन नदिन प्रयास शून्य छ । अब सडक आसपास पेटी बनाएर धुलो आउने स्रोतलाई बन्द गर्नुपर्छ ।

सञ्चालन थालिएको झण्डै ४० दिन बित्दा महानगरले ब्रुमरका लागि २ लाख ५० हजार भन्दा बढीको इन्धन किनेको छ । यसबाहेक जनशक्ति परिचालन बापत पनि ठूलै खर्च हुँदैछ । तर, धुलो घटेको अनुभव भने नागरिकले गर्न पाएका छैनन् ।

उपत्यकाको सडक आसपासको खुला सतहयुक्त क्षेत्रलाई बन्द गरिएको छैन । डंगोलका अनुसार यस्तै कारणले रातभर बढारेको सडकलाई एक एक झर पानी र एक झोका हावाले नै निष्प्रभावी बनाउँदैछ ।

सडकका खाल्डा पुरिएका छैनन् । ढल फुट्ने समस्या समाधान भएको छैन । बर्षायाममा पानीको निकासा चुस्त छैन, जसले गर्दा सानो पान पर्दा पनि माटोयुक्त ढल सडकभरि बग्छ र घाम लाग्नासाथ सडकभरि धुलो देखिन्छ ।

सडक र सडक पेटीभरी निर्माण सामग्री थुपार्न दिइएको छ । त्यसले शहरभरि धुलो फैलाइरहेको छ । बालुवा, गिट्टी, माटो बोक्ने ट्रक टि्रपरलाई ढाकेर मात्रै उपत्यका छिर्ने नियममा कडाइ गरिएको छैन ।

यो पनि पढ्नुहोस काठमाडौंमा साथीहरु मास्क नलगाई हिँड्छन् : प्रधानमन्त्री

‘हाम्रो सडक ब्रुमरमैत्री छैन, सडक लगाउँदा कुचो नै धेरै टिक्दैन रहेछ,’ डंगोलले भने,’अहिले पनि दुई वटा ब्रुमर मर्मतका लागि राखिएको छ । सडकको बनोटका कारण ब्रुमर चलाउन असहज छ ।’

डंगोलले सडक बगरजस्तो हुने, कुना काप्चामा धुलो थुप्रने, सकडमा खाल्डा परिरहहने लगायतका कारण पनि ब्रुकमरले राम्रो ‘पर्फमेन्स’ दिन नससको महानगरको निश्कर्ष छ ।

पूर्व सचिव भीम उपाध्यायका घर भत्काउँदा र बनाउँदा धुलो नियन्त्रण गर्ने र सडकमा धुुलो नआउने व्यवस्थाका लागि निर्माणस्थललाई व्यवस्थित गर्नपर्ने बताउँछन् । उनका अनुसार सडक वरपर हरियाली बढाइएको पनि छैन । सडक वरपर रुख विरुवा रोपियो भने पनि धुलो नियन्त्रणमा सघाउ पुग्ने उपाध्यायको भनाइ छ । ग्रीनरी विकास नगरी प्रदुषण नियन्त्रण गर्न कठीन हुने उनी बताउँछन् ।

उपत्यकाका खुला सतह रहेका क्षेत्रलाई वैज्ञानिक तवरले व्यवस्थापन गर्नुपर्ने महानगरको पनि स्वीकारोक्ति छ । यो वर्ष नीति तथा कार्यक्रममार्फत नै सरकारले सडक पेटीलाई माटोमुक्त बनाउने र काठमाडौं उपत्यका छिर्ने सवारीलाई धोएर मात्रै प्रवेश दिने नीति ल्याएको छ ।

काठमाडौंभित्र विभिन्न विकास निर्माणका कामहरु भइरहँदा पनि समस्या भएको सरकारको निश्कर्ष छ । हाल अन्य ठूला पूर्वाधार बनाउँदा पनि निर्माणस्थलबाट उड्ने धुलोको नियन्त्रण गर्न कुनै प्रयास भएको छैन ।

काठमाडौं महानगरपालिकाले दैनिक झण्डै १० हजार रुपैयाँ आफ्ना ब्रुमरका लागि इन्धन बापत नै खर्च गर्छ । झण्डै २० जना यो ब्रुमरको व्यवस्थापनमा खटिएका छन् ।

तर, ब्रुमर सञ्चालनको ठूलो प्रभाव राजधानीका सडकमा नदेखिएको सुन्धाराका स्थानीय राजुमान शाक्य बताउँछन् । सडक छेउछाउका पेटीको उचित व्यवस्थापन नगरी ब्रुमर मात्र चलाउँदा धुलो कम नभएको उनको भनाइ छ ।

कमठमाडौंको करिब १४ सय किलोमिटरमध्ये १२ सय किलोमिटरभन्दा बढी सडक ८ मिटरभन्दा कम चौडा छन् । यसअनुसार साना सडकको जिम्मेवारी महानगरको हुने हुँदा अधिकांश खण्डमा सफाइको जिम्मेवारी पनि महानगरकै हुन्छ ।

यसैलाई ध्यानमा राखेर महानगरले थप दुई वटा ब्रुमर किन्न लागेको छ । यसअघि नै ल्याइएको कम्पनीबाट सोही मूल्यमा दुई वटा ब्रुमर थप गर्न लागिएको प्रवक्ता डंगोलले बताए ।

यस्तै चीनबाट पनि असार १ मा दुई वटा ब्रुमर अनुदान स्वरुप काठमाडौं आइपुग्दैछन् । यी सबैसहित ९ वटा ब्रुमरले काठमाडौंको धुलो एकैसाथ सफा गर्दा त्यसको परिणाम राम्रो आउने दावी महानगरको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment