Comments Add Comment

विदेशी लगानीमा ह्रास, ऊर्जामा प्रतिबद्धता शून्य

२४ वैशाख, काठमाडौं । देशमा लगानीको वातावरण सुधारिएको सरकारले दाबी गरिरहँदा चालु आर्थिक वर्षमा भने वैदेशिक लगानीको स्थिति उत्साहजनक छैन । यस आवको चैत १५ गतेसम्म २ सय ६६ परियोजनामा ११ अर्बको मात्रै वैदेशिक लगानी प्रतिबद्धता प्राप्त भएको छ, जुन गत वर्षभन्दा २४ अर्बले कम हो ।

वैदेशिक लगानीकर्ताहरुको सबैभन्दा ठूलो उदासिनता ऊर्जा क्षेत्रमा देखिएको छ । गत वर्ष ऊर्जा क्षेत्रमा २२ अर्ब २० करोड रुपैयाँ लगानी प्रतिबद्धता आएको थियो । चालु आर्थिक वर्षको साढे आठ महिनासम्म कुनै प्रतिबद्धता आएको छैन । ऊर्जामा लगानी नआउँदा नै समग्र वैदेशिक लगानी खस्केको हो ।

उत्पादनमुलक क्षेत्रमा ५७ उद्योगका लागि ५ अर्ब ४८ करोड ५१ लाख रुपैयाँको लगानी प्रतिबद्धता आएको छ । गत वर्ष यो आँकडा ५ अर्ब ९७ करोड ८१ लाख रुपैयाँ थियो । उद्योग विभागका अनुसार सेवामुलक क्षेत्रमा विदेशी लगानीका ८५ परियोजनामा १ अर्ब ८५ करोड ५७ लाख, पर्यटनका ८७ परियोजनामा ३ अर्ब ७६ करोड ७० लाख, खानी क्षेत्रका २ परियोजनामा १ करोड ३१ लाख लगानी प्रतिबद्धता यो अवधिमा आएका छन् ।

अघिल्लो आर्थिक वर्षको समिक्षा अवधिमा विश्वभरका ३८ मुलुकबाट लगानी प्रतिबद्धता आएकोमा यो वर्ष ३० देशबाट मात्रै आएको छ । गत वर्ष चीनले परियोजना संख्या र रकमका आधारमा सबैभन्दा धेरै लगानी गरेको थियो । उसले १०६ परियोजनामा २८ अर्ब ५७ करोड लगानीको प्रतिबद्धता गरेको थियो ।

यो अवधिमा कृषि क्षेत्रको लगानीमा पनि ठूलो ह्रास आएको छ । गत वर्ष कृषिमा १ अर्ब ८६ करोड लगानी प्रतिबद्धता आएको थियो । तर, यस वर्ष १५ परियोजनाका लागि १५ करोड ३२ लाख मात्रै लगानी प्रतिबद्धता आएको छ । यस्तै सूचना प्रविधि क्षेत्रमा २० उद्योगका लागि २८ करोड ९४ लाख लगानी भित्रिएको छ, जबकि गत वर्ष समिक्षा अवधिमा यो क्षेत्रमा २६ करोड २८ लाख लगानी प्रतिबद्धता प्राप्त भएको थियो ।

यो वर्ष समिक्षा अवधिमा ४५ परियोजनाका लागि भारतबाट सबैभन्दा धेरै लगानी प्रतिबद्धता आएको छ । कुल प्रतिबद्धता रकमको झण्डै आधा अर्थात ५ अर्ब ५९ करोड ४७ लाख रुपैयाँको लगानी प्रतिबद्धता भारतबाट आएको हो । तर परियोजना संख्याका आधारमा सबैभन्दा धेरै १०६ परियोजनामा चीनबाट २ अर्ब लगानी प्रतिबद्धता भएको छ ।

यस वर्ष ऊर्जा क्षेत्रमा ठूलो लगानी प्राप्त नभएका कारण विदेशी लगानी खुम्चिए जस्तो देखिएको  उद्योग विभागका महानिर्देशक विनोद प्रकाश ंसिंहले बताए । लगानी सम्मेलनपछि धेरै लगानीकर्ताहरुले चासोका साथ नेपालमा लगानी गर्न खोजेको र करिब ४३ परियोजना स्वीकृती क्रममा रहेको उनले जानकारी दिए । नयाँ ऐनअनुसार ६ अर्बभन्दा बढीको वैदेशिक लगानीलाई बोर्डले हेर्ने हुँंदा यहाँको मात्रै तथ्यांकले विदेशी लगानीबारे यकिन गर्न नमिल्ने महानिर्देशक सिंहको भनाइ थियो ।

लगानी प्रतिबद्धतामा कमी आए पनि रोजगारी प्रक्षेपण भने यस वर्ष बढेको छ । गत वर्षको समिक्षा अवधिमा २ सय १४ परियोजनामा ३५ अर्बको लगानी प्रतिबद्धता आउँदा यसबाट करिब ८ हजार रोजगारी सृजना हुने प्रक्षेपण गरिएको थियो । यस वर्ष ९ हजारलाई रोजगारी सृजना हुने अनुमान गरिएको छ । गत वर्षको तुलनामा यो वर्ष साना खुद्रे उद्योगमा लगानी बढेको विभागको तथ्यांकमा उल्लेख छ ।

सरकारी संयन्त्रबीचको समन्वय अभाव र नेपालको अवस्थालाई लगानीकर्ताले पर्ख र हेरको नजरले हेरेका कारण पनि लगानी घटेको अर्थविद् डा. डिल्लीराज खनाल बताउँछन् । ठूला आयोजना फाष्ट ट्र्याकबाट अगाडि बढाउने सरकारी योजनाका कारण पनि लगानीकर्ता अलमलिएको हुन सक्ने उनको तर्क छ ।

कर्मचारी समायोजन, कानुन संशोधनलगायतका सकारात्मक काम यो एक वर्षमा सरकारले गरेको र यसको फाइदा आगामी वर्ष देखिने डा.खनालले बताउँछन् । विदेशी लगानीकर्ताले सरकारलाई  अविश्वास गरेको भनेर अहिल्यै अर्थ्याउन नमिल्ने उनको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment