Comments Add Comment

सरकार ! सडककै कारण बाँच्न गाह्रो भो

२६ वैशाख, काठमाडौं । काभ्रेकी स्थायी वासिन्दा मैया खड्काले तीन वर्षअघि बौद्धमा महंगो भाडा तिरेर ग्यालरी पसल सुरु गरिन् ।

विश्वसम्पदा सूचीमा सूचीकृत बौद्धनाथ स्तुपाका आगन्तुक र स्थानीयको बाक्लो आउजाउ हुने ठाउँमा पसल मज्जाले चल्ने खड्काको बुझाइ थियो । खड्काले पसल खोलेकै वर्षदेखि बौद्ध-जोपाटी सडक विस्तार सुरु भयो । सडक फराकिलो हुने भएपछि आवतजावत सहज भएर आफ्नो ब्यापार झनै बढ्ने अनुमान उनको थियो ।

तर, उनले सोचेजस्तो भएन । सडक विस्तार वर्षौंसम्म अलपत्र परेसँगै उनी निराश बनेकी छन् । गर्मीमा धुलो र वर्षामा हिलोले यो सडकमा मानिसहरुको आवतजावत घटेको छ र उनको व्यापार सुकेको छ ।

उमेरले ४५ टेक्न थालेकी खड्का बिहीबार बौद्ध-जोरपाटी सडक खण्डमा साना सावरीसाधन रोक्दै थिइन् । उनीजस्तै यो सडकको दुरावस्थाबाट पीडित व्यापारीहरु मिलेर सडक जाम गरेका रहेछन् । सबैले हातमा विभिन्न माग लेखिएका प्लेकार्ड पनि बोकेका थिए ।

खड्काले अनलाइनखबरसँग भनिन्, ‘ऋण खोजेर लगानी गरियो तर सडककै कारण सटर भाडा र स्टाफ खर्च तिर्न नसक्ने गरी टाट पल्टियौं । सडक चाँडो कालेपत्रे गराउन आन्दोलनको विकल्पै भएन ।’

पटक-पटक ध्यानाकर्षण गराउँदा पनि सरकारले नसुनेका कारण आन्दोलनमा उत्रन परेको स्थानीयबासी तथा व्यापारीहरु बताउँछन् । बौद्ध क्षेत्रका व्यवसायी र स्थानीयबासीको आन्दोलनले बिहीबार दिनभरजस्तै बौद्ध-जोरपाटीसडकखण्ड तनावग्रस्त बन्यो ।

आन्दोलनकारीले बिजुलीको पोल ढालेर तथा ह्युम पाइप तेर्स्याएर ठाउँ-ठाउँमा सडक अबरुद्ध बनाएका छन् । सडकमा टायर बालेर प्रधानमन्त्री र भौतिक पूर्वाधारमन्त्रीविरुद्ध नाराबाजी गरेका छन् ।

अबरुद्ध सडक खुलाउन खोज्दा आन्दोलनकारी र प्रहरीबीच पटक-पटक घम्साघम्सी भयो । आक्रोशित आन्दोलनकारीले केही सार्वजनिक तथा निजी सवारीसाधन तोडफोड पनि गरेका छन् ।

बौद्धका स्थानीयवासी अभिर लामाले सरकारले बौद्धका जनातालाई हेपेका कारण आन्दोलन गर्न बाध्य भएको बताए । ‘धुलोले मर्न लागियो, बाच्न पाउँ सरकार भन्ने हाम्रो माग हो,’ लामाले भने ।

बौद्धकै स्थानीयवासी डीएस शेर्पाले चिल्ला गाडीमा हिँड्ने प्रधानमन्त्री र यातायातमन्त्रीलाई बौद्धका जनताको दुःख हेर्न आउन आग्रह गरे । नेता र ठेकदारको मिलोमतोमा जनतालाई चार वर्षदेखि सास्ती थोपरिएको भन्दै उनले रेर्लभन्दा पहिले सडक बनाइदिन आग्रह गरे ।

स्थानीयवासी श्याम योञ्जनले बौद्धबासी बाँच्नका लागि आन्दोलनमा उत्रिएको बताए । सडक चाँडै निर्माण होस् भनेर गरिएका रचनात्मक काम सबै असफल भएपछि कडा आन्दोलन गर्नुपरेको उनको भनाइ छ ।

दिन तोकेर सडक बन्ने निश्चित नभएसम्म आन्दोलन नरोकिने योञ्जनले बताए । ‘सडकको दुरावस्थाका कारण व्यापार गर्न बौद्ध क्षेत्र आएका धेरै व्यापारी टाट पल्टिएका छन्, हातमुख जोर्नै गाह्रो हुने स्थिति आएको छ,’ योञ्जनले अनलाइनखबरसँग भनेका छन् ।

बौद्धकै स्थानीयवासी तथा रेष्टुरेण्ट व्यवसायी डीएस शेर्पाले आफ्नो ब्यापार सडककै कारण चौपट भएको गुनासो गरे । ‘ठूलो लगानीमा व्यवसाय सुरु गरियो तर धुलो र हिलोले ग्राहक आउनै नसक्ने अवस्था छ,’ शेर्पाले भने ।

सडककै कारण कर्मचारीलाई तलब खुवाउन र सटर भाडा तिर्न कठिन बनिरहेको उनको दुखेसो थियो । ‘नेता र ठेकदारको मिलोमतोमा जनतालाई चार वर्षदेखि सास्ती दिइएको छ,’ उनले भने, ‘रेलको गफ गर्नेले पहिले यो सडक बनाइदिनुपर्‍यो । होइन भने पद छोड्नु पर्‍यो ।’

किन भयो सडक अलपत्र ?

तीन वर्षदेखि सडक बिस्तार अलपत्र रहेको विषयमा हामीले सो क्षेत्रबाट प्रदेशसभामा निर्वाचित सांसद रामेश्वर फुयाँललाई सोध्यौं ।

उनले सडक खाली गरेपछि मात्रै बिस्तारको लागि टेन्डर गर्नुपर्ने पाठ आफूहरुले सिकेको बताए । ‘टेन्डर भईसकेपछि सडक पन्छाउन सुरु गर्दा मुआब्जा माग्दै स्थानीय अदालत गएकाले सडक निमार्णमा अबरोध भएको हो,’ उनले भने ।

फुँयालका अनुसार चाबहिल-जोरपाटी-सुन्दरीजल र जोरपटी-साँखु सडकमा बिस्तार क्रममा ७ सयभन्दा धेरै घर तथा सम्पत्तिको मुआब्जा विवाद उब्जिएको छ । समस्या समाधान गर्न सम्बाद पहल गरिएको उनी बताउँछन् । जनताको माग जायज भए पनि सडक जाम घोषणा गर्नु ठीक नभएको उनको भनाइ छ ।

चाबहिल चोकदेखि जोरपाटीसम्मको ३.६ किलोमिटरसहित कुल ११.४६ किलोमिटर सडक बिस्तारका लागि २०७२ असोजमा ५ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । चाबहिल-जोरपाटी-सुन्दरीजल र जोरपटी-साँखु सडक बिस्तार गर्न ४ खण्डमा टेन्डर भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment