Comments Add Comment

फाइनल प्रवेशका लागि आज दिल्लीले चेन्नाईसँग खेल्दै, सन्दीप बेन्चमै !

Photo Credit :  आईपीएल

२७ वैशाख, काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेट प्रतियोगिताको फाइनल प्रवेशका लागि आज दिल्ली क्यापिटल्सले चेन्नाई सुपर किंग्ससँग प्रतिस्पर्धा गर्दैछ ।

भिसखापट्नाममा आज राति ७ बजेर ४५ मिनेटमा सुरु हुने खेलमा दुबै टिम जित हात पार्दै फाइनलमा पुग्ने लक्ष्यमा हुनेछन् । यी दुई टिमको विजेताले फाइनलमा उपाधिका लागि मुम्बई इन्डियन्ससँग प्रतिस्पर्धा गर्नेछ ।

दिल्ली लिग चरणको हारको बदला लिने लक्ष्यमा हुनेछ । यता चेन्नाई भने लिग चरणमा पाएको सफलतालाई निरन्तरता दिन चाहन्छ । लिगचरणको दुबै खेलमा दिल्ली चेन्नाईसँग फराकिलो अन्तरले पराजित भएको छ ।

पहिलो खेलमा दिल्ली चेन्नाईसँग ६ विकेटले पराजित भएको थियो । दोस्रो खेलमा पनि दिल्ली ८० रनले पराजित भयो । समूह चरणको नतिजालाई हेर्ने हो भने दिल्लीभन्दा चेन्नाई बलियो टिम हो । आईपीएलको दोस्रो स्थानमा रहंदै पहिलो क्वालिफायर खेलेको चेन्नाई मुम्बईसँग पराजित हुदै दोस्रो क्वालिफायरमा धकेलिएको थियो । मुम्बईसँग चेन्नाई ६ विकेटले पराजित भएको थियो ।

यता, इलिमिनेटर राउण्डको खेलमा दिल्लीले सनराइजर्स हैदरावादलाई २ विकेटले पराजित गर्दै दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।

सन्दीपले मौका पाउलान् ?

जारी आईपीएलमा नेपालका युवा लेग स्पिनर सन्दीप लामिछानेले दिल्ली क्यापिटल्सबाट ६ खेल मात्रै खेल्न पाएको छ ।

सन्दीप लामिछाने पछिल्लो खेलमा बेन्चै रहंदै आएका छन् । सन्दीपले ६ खेलबाट ८ विकेट लिएका छन् । सन्दीपले पछिल्लो पटक रोयल च्यालेन्जर्स बेंग्लोरविरुद्ध खेलका थिए । जुन खेलमा उनले कुनै विकेट लिन सकेका थिएनन् । त्यसपछिका लगातार दुई खेलमा बेन्चमा बसेका सन्दीप इलिमिनेटर राउण्डको हैदरावादविरुद्धको खेलमा पनि टिममा पर्न सकेनन् ।

सन्दीप विनै पनि दिल्लीले सफलता पाइरहेको छ । त्यसकारण पनि सन्दीप एकपछि अर्को खेलमा बेन्चमै रहँदै आएका हुन् ।

फाइनल प्रवेशका लागि चेन्नाईविरुद्ध दिल्ली मैदानमा उत्रिदा सन्दीपले खेल्ने मौका कति छ ? सन्दीपले चेन्नाईविरुद्ध खेल्ने एक हिसाबले पाउने छन् । तर निश्चित भने छैन । किनभने लिग चरणका दुबै खेलमा चेन्नाई विरुद्ध सन्दीप टिममा परेका छैनन् । त्यसकारणले चेन्नाईका लागि सन्दीप फ्रेस बलर हुन् । नयाँ बलरसँग ब्याट्सम्यान तत्काल खेल्न नसक्ने हुदा टिमले सन्दीपलाई प्लेइङ इलाभेनमा राख्न सक्छ ।

तर, पछिल्लो समयमा सन्दीपभन्दा पनि दिल्लीका अन्य बलर लयमा देखिएका छन् । विशेषगरी अमित मिश्र, किमो पाउल, अक्षर पटेल, टेन्ट बोल्ट र इशान्त शर्मा विकेट लिन सफल भइरहेका छन् । त्यसकारण आजको खेलमा सन्दीपले आफु टिममा पर्नका लागि यी बलरमध्ये एकलाई विस्थापित गर्नु पर्ने हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment