Comments Add Comment

गुठी जग्गामा मोहियानी हकसम्बन्धी नयाँ व्यवस्था गरिँदै

०३० सालअघिको प्रमाणले गुठीमा मोहियानी हक नलाग्ने !

२० वैशाख, काठमाडौं । सरकारले गुठीको जग्गामा मोहियानी हक दाबी गर्दा २०३० साल अघिको प्रमाणलाई मान्यता नदिने प्रस्ताव गरेको छ ।

राष्ट्रियसभामा दर्ता भएको गुठी सम्बन्धी कानुनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयकमा २०३० साल अघिको प्रमाणलाई मान्यता नदिने र २०५३ सालपछि गुठीको जग्गा भोगचलन गरेको भए त्यस्तो व्यक्तिले पनि मोहीयानी हक दाबी गर्न नसक्ने प्रस्तावित ब्यवस्था छ ।

विधेयकको दफा ५६ को उपदफा ३ अनुसार २०३० साल चैत मसान्तअघि राजगुठीको जग्गाको क्षेत्रीय किताबमा नाम लेखाएको वा मोहीयानी प्रमाण लिएको प्रमाणलाई मोहियानी हक प्राप्तिका लागि मान्य हुने छैन ।

हाल मोहियानी हक दाबी गर्नका लागि कहिलेसम्मको प्रमाण मान्ने नमान्ने भन्ने ब्यवस्था अभ्यासमा नरहेको गुठी संस्थानका प्रवक्ता सरोज थपलियाले जानकारी दिए । ‘कहिलेसम्मको प्रमाण मान्ने, कहिलेसम्मको नमान्ने भन्ने हालको व्यवस्था छैन । तर, जग्गाधनी पुर्जा लिनु भनेर विभिन्न समयमा भएका सर्कुलर भने हेर्ने गरेका छौं’ उनले भने ।

प्रस्तावित व्यवस्थाअनुसार २०५३ साल पछि गुठीको जग्गा भोगचलन गरेको भए त्यस्तो व्यक्तिले पनि मोहियानी हक दाबी गर्न सक्ने छैन ।

गुठीको जग्गामा मोहियानी हक दाबी गर्नका लागि गुठी संस्थान ऐन २०३३ बमोजिम २०५३ साल पुस २४ गते अघिदेखि भोगचलन गर्दै आएको प्रमाणसहित भूमिसुधार कार्यालयमा निवेदन दिनुपर्ने प्रावधान विधेयकमा छ । यस्तो दाबी यो विधेयक पारित भएर लागू भएको दुई वर्षभित्र मात्रै गर्न सक्ने भनिएको छ ।

मोहीलाई आधा

विधेयकमा मोही लागेको गुठी अधिनस्थ जग्गा मोही र गुठीलाई आधा–आधा हुने गरी बाँडफाँट गर्ने व्यवस्था छ ।

बाँडफाँट भएको जग्गा मोहीले पाउने आधा मोहीको रैतानी र गुठीको भागको जग्गा गुठी तैनाथी जग्गाको लगतमा दर्ता हुने र गुठी रैतान लगतमा दर्ता भएको जग्गावालाले गुठी प्राधिकरणलाई नै गुठीपोत, घरकर बुझाउनुपर्ने प्रस्तावित व्यवस्था छ ।

विधेयकको दफा ६० को उपदफा ४ अनुसार गुठी जग्गा उपभोग गर्दै आएको मोहीले ऐन लागू भएको दुई वर्ष भित्र मोहीयानी हक दाबी गर्न सक्छ ।

‘अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि प्रचलित कानुनबमोजिम अधिकार पाई घर बनाई बसोबास गरी आएको मोहीले यो ऐन प्रारम्भ भएको मितिले दुई वर्षभित्र त्यस्तो जग्गाको लागि दफा ५६ को उपदफा ७ बमोजिमको मूल्य बुझाई निवेदन दिएमा निजको नाममा रैतान नम्बरी जग्गामा परिणत हुन सक्नेछ ।’ विधेयकको दफा ६० को उपदफा ४ मा उल्लेख छ ।

विधेकको दफा ५६ को उपदफा ६ मा मोही लागेको गुठी जग्गा मोही र गुठीलाई आधा आधा हुने गरी बाँडफाँट गर्ने प्रस्तावित व्यवस्था छ । त्यसरी बाँडफाँट गरेको जग्गा मोहीको रैतानी र गुठी तैनाथी जग्गाको लगतमा दर्ता हुने सोही दफाको उपदफा ७ मा उल्लेख छ ।

यो पनि पढ्नुहोस् : गुठी संस्थानको नाम फेरेर प्राधिकरण राखिने

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment