+
+
Shares

नेपाली साहित्यको ‘अनुवाद अभियान’

अनलाइनखबर अनलाइनखबर
२०७६ वैशाख २८ गते १२:१२

२८ वैशाख, पोखरा । पोखरा, नेपाली साहित्यलाई एकसाथ अंग्रेजी, हिन्दी र चिनियाँ भाषामा अनुवाद नगरेसम्म नेपाली साहित्यकारको स्तर बृद्धि हुन नसक्ने निष्कर्ष पोखरामा भएको तीनदिने विचार गोष्ठीमा निकालिएको छ ।

नेपाल प्रज्ञा प्रतिष्ठान र अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको संयुक्त आयोजनामा भएको कार्यक्रममा उक्त निष्कर्ष निकालिएको हो । काठमाडौंबाट गएका झण्डै ५० श्रष्टा र पोखरेली श्रष्टाहरुको बहसबाट उक्त निष्कर्ष निकालिएको हो ।

‘साहित्यकारहरुले सधैं झोले भएर हिँड्नुपर्छ भन्ने छैन । सयम परिवर्तन भैसक्यो । विसाल छिमेकी मुलुकको बीचमा भएर पनि हामीले त्यसको फाइदा उठाउन नसक्नु ठूलो बिडम्बना हो ।’ अन्तर्राष्ट्रिय साहित्य समाजका केन्द्रीय अध्यक्ष राधेश्याम लेकालीले भने, ‘यसका लागि हाम्रा सिर्जनाहरु अंग्रेजीमा मात्र होइन, चिनियाँ र हिन्दी भाषामा पनि अनुवाद गर्नुपर्छ । यसका लागि अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले काम सुरु गरिसकेको घोषणा पोखराबाटै गर्न पाउँदा हामीलाई अपार हर्ष लागेको छ ।’

कार्यक्रममा लेकालीले ०२६ सालअघि लेखिएका विश्वस्तरका २० भन्दा बढि कथा अंग्रेजीमा अनुवाद भइरहेको जानकारी दिए । त्यसैगरी चाँडै चिनियाँ र हिन्दी भाषामा पनि ती सिर्जना अनुवाद सुरु हुने जानकारी दिए ।

‘विदेशतिर एउटा पुस्तकले लेखक धनाढ्य भएका उदाहरण धेरै छन्, अब हामीले पनि त्यो अवस्था ल्याउनु पर्छ । र, यो सम्भव छ ।’ लेकालीले कार्यक्रममा भने, ‘पहिलो चरणमा दिवंगत श्रष्टाहरुका चर्चित कथाहरुलाई अनुवाद गरिरहेका छौं । दोस्रो चरणमा २०२६ पछिका रचनाहरु अनुवाद गर्नेछौं ।’

साहित्यका अन्य विधाको तुलनामा नेपाली कथाले विश्वसाहित्यमा प्रतिष्पर्धा गर्न सक्ने भएकाले पनि अनुवादको सुरुवात कथाबाट गर्नुपर्ने निष्कर्ष पनि कार्यक्रममा निकालिएको थियो ।

‘हाम्रा रचना कमजोर छन्, हामी प्रतिस्पर्धामा जान सक्दैनौं कि भन्ने भावनाका कारण हामी अहिलेसम्म पछि परेका हौ, यो सोचमा परिवर्तन गरौं ।’ प्राज्ञ एवं कथाविभाग प्रमुख माया ठकुरीले आफू कथाकार हुँदाको अनुभव साट्दै भनिन्, ‘केही रचना अनुवाद भएपछि नेपाली साहित्यले विश्वबजारबाट जुन सकारात्मक सन्देशहरु आए, त्यसबाट पनि हामी आफैले आफूहरुलाई कमजोर सोचिरहेका त छैनौं भन्ने प्रश्न उब्जिएको छ ।’

ठकुरीले पछिल्लो समय कथामा नयाँ नयाँ शैली र विषय भित्रिन थालेका कारण यसको स्तर अझ बढिरहेको दावी गरिन् । ‘आफूलाई राम्रा लागेका कथाहरु अंग्रेजीमा अनुवाद गर्ने चासो राखौं । समकालीन साहित्यमा रचना पठाऔं र म कथा विभाग प्रमुखलाई पनि खच्खच्याऔं, परिवर्तन अवश्य हुनेछ ।’ ठकुरीले भनिन्, ‘प्रज्ञा प्रतिष्ठानले यसप्रति चासो बढाएको छ, श्रष्टाहरुले पनि घच्घच्याऔं ।

प्रज्ञा प्रतिष्ठानकी अनुवाद विभाग प्रमुख प्राध्यापक डाक्टर उषा ठाकुरले पनि अब नेपाली साहित्यकारले नेपाली भाषाभन्दा माथि उठेर आफ्ना कृति अनुवाद गर्नुपर्ने समय आइसकेको बताइन् ।

‘धेरैपटक मैले नेपाली साहित्य पढ्दा सधैं यो कथा हिन्दी, अंग्रेजी वा फान्सेली भाषामा अनुवाद भए हुन्थ्यो भन्ने लाग्दथ्यो । प|mान्सका कलेजहरुमा पढाउँदा म यस्ता कुरा सोचिरहन्थेँ ।  आज अन्तर्राष्ट्रिय नेपाली साहित्यमार्फत त्यसको पहल सुरु भएको पाउँदा अपार हर्ष लागेको छ ।’ ठाकुरले भनिन्, ‘प्रतिष्ठानको रहोबरमा अनेसासले यो काम सुरु गर्दा आफू पनि सरिक हुन पाएको छु । यो सबै साहित्यकारहरुका लागि गौरवको क्षण हो ।’

कार्यक्रममा नेपाली आख्यान साहित्यमा अनुदित कृतिहरु विषयक विचार गोष्ठीमा त्रिभुवन विश्वविद्यालयका डा. नवराज न्यौपानेले अहिलेसम्म अनुदित कथाहरुको फेरहिस्त प्रस्तुत गरेका थिए । उनको कार्यपत्रलेनेपाली कथा साहित्य अनुवाद भए पनि त्यसको व्यवस्थित बजार निक्यौंल हुन नसकेको संकेत गरेको छ ।

अनुवाद विचार गोष्ठीमा प्राडा यामबहादुर पौडेल क्षेत्री, भाषाविद् मुकुन्दशरण उपाध्याय, अमेरिकाका साहित्यकार पदम विश्वकर्मा, अनेसास नेपाल च्याप्टर महासचिव सन्ध्या पाहाडी बेलायतका साहित्यकार सुमलकुमार गुरुङ्, पोखरेली कवि दुर्गाबहादुर शाह, आख्यानकार गोविन्द गिरी प्रेरणा, डा. रेणुका सोलु, ज्ञानु अधिकारी, गीता मैनाली र गीता कार्कीले नेपाली साहित्यलाई अन्तर्राष्ट्रिय बजारमा लैजान गर्नुपर्ने पहलका विषयमा टिप्पणी गरेका थिए ।

दैनिक दुई-तीनवटा पुस्तक बजारमा आए पनि नेपाली साहित्य अन्तर्राष्ट्रिय बजारमा शून्य जस्तै रहेको टिपपणी धेरैजसो साहित्यकारहरुको थियो ।

‘धेरै जसो नेपाली सिर्जना समान्य छन् तर ती मध्ये केही उत्कृष्ट र केही विश्वबजारमै पहिचान दिने विशिष्ट सिर्जना भएका छन् ।’ धेरैजसो टिप्पणीकारको कथन थियो, ‘नेपाली साहित्यलाई थोरैबाट सुरु गरेर भए पनि अन्तर्राष्ट्रिय बजारमा पठाउन सकिन्छ ।’

गोष्ठीका बीचमा कविता वाचन पनि चलेको थियो । वाचन सत्रमा सुमन वषर्ा, जलेश्वरी श्रेष्ठ, उपमा आचार्य, सरु सुवेदी, सुशिला खड्का, रञ्जना निरौला, डा. शान्तिमाया गिरी, पुष्पा खनाल, पवित्रा अधिकारी, अर्जुन थापा, गिता रेग्मी, राजेन्द्र केसी, सूर्य खड्का बेखर्ची, सरस्वती श्रेष्ठ सरु, रमा पराशर, घायलश्री, वसनत चालिसे, गिता तिवारी गौतम, मदन मल्ल छायाँ, सरु दाहाल अधिकारी, नरेन्द्र रानाभाट, डिल्लीराम कार्कीलगायतले आफ्ना रचना प्रस्तुत गरेका थिए । कार्यक्रममा मेनका लामाले कत्थक नृत्य प्रस्तुत गरेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?