
२९ वैशाख, बुटवल । भारतका संविधान निर्माता, दार्शनिक एवं बुद्ध दर्शनका ज्ञाता डा. भीमराव अम्बेडकरको नाममा नेपालमा सामाजिक संस्थाको स्थापना गरिएको छ ।
अम्बेडकरको विचार, विकासवादी दृष्टिकोण, सामाजिक न्याय र दलित समुदायको उत्थान तथा बुद्धसँग सम्बिन्धित बिषयमा बहस छलफल गर्ने उदेश्यले संस्था स्थापना गरिएको हो ।
अम्बेडकर सोसल फाउण्डेसन नेपाल नामक उक्त संस्थाको आइतबार बुटवलमा प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सुरुवात गरे ।
मन्त्री बरालले फाउण्डेशनमार्फत अम्बेडकरको उचाइलाई कायम राख्ने गरी काम गर्न सुझाव दिए । उनले प्रदेश ५ लाई छुवाछुतमुक्त प्रदेश घोषणा गर्ने नीति लिएकोसमेत जानकारी दिए । उनले वडातहबाटै छुवाछुतमुक्त बनाउँदै प्रदेशलाई नै छुवाछुत नहुने प्रदेशका रुपमा कार्यक्रम समेत अगाडि बढाएको बताए ।
फाउण्डेशनका अध्यक्ष विनोद पहाडीले अम्बेडकरलाई नेपालमा दलित अभियानसँग जोड्ने उद्देश्यले संस्था स्थापना गरिएको बताए । उनले लुम्बिनीमा बुद्ध जन्मेको र समतावादी विकासलाई स्थापित गराउनका लागि संस्थामार्फत अभियानको थालनी गरिने बताए ।
प्रतिक्रिया 4