Comments Add Comment

काभ्रेबाटै एसिड बोकेर आएका थिए विष्णु

२ जेठ, काठमाडौं । दोलखाको डाँडागाउँकी जेनी खड्का कलिलै उमेरमा पारिवारिक स्नेहबाट टाढा भइन् ।

कमजोर आर्थिक अवस्था भएका कारण आश्रममा बसेर पढ्न थालिन् । आश्रममा रहँदा उनी हरक्षण निष्फि क्री भएर मनको बह पोख्न सक्ने साथीको खोजीमा तल्लीन रहन्थिन् । अन्ततः कक्षा १० मा पढ्दै गर्दा काभ्रेका विष्णु भुजेलसँग उनको भेट भयो, जसले उनको एक्लो जीवनमा साथ दिने वाचा गरे ।

भुजेलले दिएको आश्वसनमा सजिलै लोभिइन् । उनीहरुले वैवाहिक जीवनमा बाँधिने निधो गरे । १५ वर्षकै उमेरमा उनले भुजेलसँग भागी विवाह गरिन् ।

बनेपामा मोटरसाइकल ग्यारेजमा काम गरेका भुजेलसँग उनको जीन्दगी जसोतसो चलेकै थियो । बिहेपछि उनीहरु डेरा गरेर बसेका थिए ।

तर, जब उनीहरुको एक सन्तान जन्मियो, भुजेलले श्रीमतीलाई लिएर घर गए । त्यहाँ उनले कहिल्यै कल्पना नगरेको कुरा सुनिन् । जेनीले आफू भुजेलको कान्छी श्रीमती भएको चाल पाएकी थिइन् ।

उनी विष्णुलाई छाड्ने निष्कर्षमा पुगिन् । पछिल्लो समय कालोपुलमा बसेर प्राइभेट स्कुलबाट कक्षा १० पढिरहेकी थिइन् भने एउटा सहकारीमा पनि काम गर्थिन् । विष्णुको जेठी श्रीमतीसँग पनि राम्रो सम्बन्ध थिएन त्यसैले जेनीलाई पछ्याइरहे ।

यतिसम्मकी उनले छातीमा पनि जेनीको तस्वीर बनाएका थिए । उनले पटकपटक जेनीलाई आफूसँगै आउन आग्रह गरे तर मानिनन् ।

सुन पसलबाट एसिड लिएर कालोपुलसम्म

बुधबार साँझ पनि भुजेलले जेनीलाई भेट्न आग्रह गरेका थिए । उनीहरुको पटकपटक सम्पर्क भएको कल डिटेल रेकर्डले पनि देखाएको छ ।

तर, करिब ८ बजेतिर उनले जेनीको शरीरमा एसिड प्रहार गरिदिए । नजिकै रहेका मानिसहरुले उनलाई ओम अस्पताल पुर्‍याए । प्राथमिक उपचारपछि उनलाई कीर्तिपुर अस्पताल पठाइएको छ ।

महानगरीय प्रहरी परिसर, काठमाडौंको डीएसपी होविन्द्र बोगटीकाअनुसार भुजेल जेनीलाई एडिस प्रहार गर्न भनेर योजनाबद्ध रुपमै काभ्रेबाट आएका थिए ।

काभ्रेको एक सुन पसलबाट एसिड मागेर उनी काठमाडौं आएका थिए । ‘पसलेको मोटरसाइकल बनाइदिने गर्दोरहेछ । त्यही चिनजानको भरमा एसिड ल्याएको रहेछ’, बोगटीले भने, ‘पसलेलाई उसले खुट्टाको खिल निकाल्ने भनेर एसिड मागेको रहेछ ।’

त्यो कुन एसिड थियो भन्ने खुलेको छैन । यद्यपि, अनुसन्धान भइरहेको उनी बताउँछन् ।

तेजाब आक्रमण र ज्यान मुद्दा चलाउने तयारी

जेनीको अवस्था चिन्ताजनक छ । घटनालगत्तै मोटरसाइकल चढेर भागेका भुजेल अहिले प्रहरी हिरासतमा पुगिसकेका छन् ।

‘कालोपुलबाट बागेर ऊ काँडाघारीसम्म पुगिसकेको रहेछ’, बोगटीले अनलाइनखबरसँग भने, ‘तर, हाम्रो टोलीले उनलाई नै समात्न सफल भयो ।’

महानगरीय प्रहरी वृत्त, कमलपोखरीले उनीविरुद्ध जिल्ला अदालत, काठमाडौंबाट अनुसन्धानका लागि म्याद थप गरेर बयान लिइरहेको छ ।

गत भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराधसंहिता अनुसार तेजाब आक्रमण गरेको अभियोग प्रमाणित भए ५ वर्षदेखि ८ वर्षसम्म कैदी वा १ लाखदेखि ५ लाख रुपैयाँसम्म जरिवाना वा दुवै हुनसक्ने व्यवस्था छ । भुजेलको हकमा कर्तव्य ज्यान मुद्दा पनि चल्न सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment