Comments Add Comment

गाउँपालिकाको नियम : मासु खाए ५० हजार जरिवाना

५ जेठ, काठमाडौं । तपाईं घरमा कुखुरा बाख्रा किन पाल्नुहुन्छ ? मासु खान वा बेचेर पैसा आर्जन गर्न । तर, गोरखाको चुमनुब्री गाउँपालिकाको एउटा वडाले भने पशुपंक्षी काटमार गरेमा वा मासु खाएमा ५० हजार जरिवाना गर्ने नियम बनाएको छ । त्यतिमात्रै होइन, कसैले पशुपंक्षी किनेमा पनि ५० हजार जरिवानाको कारबाही भोग्नुपर्छ ।

यस्तो अचम्म लाग्दो समाचार आजको अन्नपूर्ण पोष्ट दैनिकमा छ । चुमनुब्री गाउँपालिका वडा नम्बर ४ का अध्यक्ष पेमा डुन्डुप लामाले भनेका छन्- अब हाम्रो वडाभित्र पशुपंक्षी काटमार गर्नेलाई ५० हजार, मासु बेचबिखन गर्नेलाई ५० हजार र किन्नेलाई पनि ५० हजार रुपैयाँ जरिवाना हुन्छ ।

वडाअध्यक्ष लामाले भने, ‘कोही कसैले काटमार गरेको घटनाबारे हामीलाई सूचना दिएमा १५ हजार रुपैयाँ इनाम दिने निर्णय भएको छ ।’

उनका अनुसार जरिवानाबाट संकलन हुने रकम अहिंसा अभियानमा खर्च गरिने छ ।

सरकारलाई सघाएको भन्दै देउवाविरुद्ध उजुरी

नयाँ पत्रिका दैनिकका अनुसार सरकारलाई सघाएको भन्दै कांग्रेस सभापति शेरबहादुर देउवाविरुद्ध उजुरी परेको छ । गोरखाका महासमिति सदस्य राजेन्द्र बजगाईंले सभापतिविरुद्ध पार्टी कार्यालयमा उजुरी दर्ता गराएका हुन् ।

समाचारमा कांग्रेसका शीर्ष तहदेखि तल्लो तहका नेताहरुसम्म परेका उजुरीहरुलाई समेटिएको छ । रामचन्द्र पौडेल, गोविन्दराज जोशी, त्रिवि उपकुलपति तीर्थ खनियाँलगायतविरुद्ध उजुरी परेको समाचारमा उल्लेख छ ।

अनुशासन समितिका सभापति भिष्मराज आङदेम्बेले प्रमाण पुगे जुनसुकै स्तरका नेतामाथि पनि कारबाही हुने बताएका छन् ।

अमेरिका-चीन व्यापारयुद्धले झस्कियो नेपाल

कारोबार दैनिकले अमेरिका-चीन व्यापारयुद्धले नेपालमा परेको प्रभावलाई केलाउने प्रयास गरेको छ । संयुक्त राज्य अमेरिका र चीनबीच आठ महिनादेखि जारी व्यापार युद्धले नेपाललाई झस्काएको छ । अर्थतन्त्रका बाह्य क्षेत्रमा निरन्तर असर गरेपछि राष्ट्रिय योजना आयोगले नियमित निगरानी र अनुगमन थालेको छ ।

समाचारमा लेखिएअनुसार अमेरिका र चीनबीचको व्यापारिक सम्बन्धमा देखापरेको असहज परिस्थितिका कारण नेपालको अर्थतन्त्रका बाह्य क्षेत्रमा पर्नसक्ने प्रभाव आकलन गर्न आयोगले सदस्य डा. रामकुमार फुयाँललाई जिम्मेवारी तोकेको छ ।

विद्यार्थी पन्छाएर विद्याश्रममा डोजर

कान्तिपुर दैनिकमा वडा कार्यालय भवन बनाउन पशुपति क्षेत्रस्थित संस्कृत माध्यमिक विद्यालय (नेपाल वेद विद्याश्रम)को जग्गामा काठमाडौं महानगरपालिकाले डोजर लगाएको समाचार छ । समाचारमा लेखिएअनुसार पशुपति क्षेत्र विकास कोष र महानगरपालिकाको मिलेमतोमा विद्यालयको करिब एक रोपनी जग्गा कब्जा गरेर वडा नम्बर ८ को कार्यालय भवन बनाउन लागिएको हो ।

जग्गा कब्जामा परेको भन्दै विद्यालयले शिक्षा मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र गुठी संस्थानमा उजुरी दिएको छ ।

बागमती सौन्दर्य परियोजनाबाट एडीबी हट्ने

नेपाल समाचारपत्र दैनिकका अनुसार वागमती नदी किनारको क्षेत्रलाई सुन्दर बनाउने अभियानबाट मुख्य दातृ निकाय एसियाली विकास बैंक (एडीबी) हट्ने भएको छ । यससँगै सौन्दर्य अभियान पनि अलपत्र पर्ने समाचारमा उल्लेख छ ।

‘मुआब्जा विवादले निकास नपाएपछि बागमती नदी किनारा सौन्दर्य (बागमती ब्युटिफिकेसन परियोजना) अभियान प्रत्यक्ष प्रभावित बन्ने भएको छ,’ समाचारमा लेखिएको छ, ‘नारायणटार-गुह्येश्वरी खण्डको १ सय ८८ रोपनी जग्गाको मुआब्जा विवाद किनारा नलागेपछि ३ अर्ब ६० करोड रुपैयाँको परियोजनाको समय अवधि अगावै एडीबी फर्किने भएको हो ।’

पनिकाको लापरवाही : उत्तीर्णको मार्कसिटमा पटक-पटक तारा

राजधानी दैनिकले त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुको लापरवाहीलाई उजागर गरेको छ । पास भएका विद्यार्थीको मार्कसिटमा पनि फेल भएकाको जस्तो तारा चिह्न राखिदिएर परीक्षा नियन्त्रण कार्यालयले लापरवाही गरेको हो ।

ललितपुरस्थित पाटन बहुमुखी क्याम्पसमा स्नातकोत्तर तहमा अध्ययनरत पुनाराम शर्माले दोस्रो सेमेष्टर २०७५ सालमा उत्तीर्ण गरे । तर, उनको मार्कसिटमा दुईवटा तारा लागेर आयो । दुई वटा तारा लाग्नुको अर्थ हो, उनी दुई पटकसम्म फेल भए ।

यसलाई सच्याउन फेरि विद्यार्थी बल्खु धाउनुपर्छ । धाएर मात्र पुग्दैन, कर्मचारीले गर्ने यस्ता गल्ती सच्याउन थप दस्तुर पनि विद्यार्थीले बुझाउनुपर्छ ।

राजधानी दैनिक लेख्छ- परीक्षा नियन्त्रण कार्यालयका समस्या एक/दुई मात्र छैनन् । सबैभन्दा ठूलो समस्या भनेको यो कार्यालय अहिले पनि प्रविधि मैत्री बन्न सकेको छैन । केही महिनाअघि २४ घण्टाभित्र ट्रान्सकृप्ट दिने घोषणा गरिए पनि व्यवहारमा लागू भएको छैन । सामान्य रेकर्ड हेर्न पनि वर्षौं पुराना ढड्डा पल्टाउनुपर्ने बाध्यता छ ।

भारतले बाटो बनाउँदा नेपालमा क्षति, महाकाली नदी पनि थुनियो

नागरिक दैनिकले भारतीय पक्षले निर्माण गरिरहेको सडकबाट नेपालको दार्चुलास्थित ब्याँस गाउँपालिकाको सडकमा क्षति पुगेको विषयलाई मुख्य समाचार बनाएको छ ।

समाचारमा लेखिएअनुसार सडक निर्माणमा भारतीय पक्षले जिलेटिन प्रयोग गरिरहेको छ । विष्फोटले ठूल्ठूला ढुंगा महाकाली नदीमा खसेर नदीको बहावसमेत रोकिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment