Comments Add Comment

सेयर सेटलमेन्ट एक दिनमै गर्ने बोर्डको प्रस्ताव, लगानीकर्ता असहमत

७ जेठ, काठमाडौं । पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले सेयर खरिद-बिक्रीको सेटलमेन्ट एक दिनमा सम्पन्न गर्ने प्रस्ताव गरेको छ । प्रस्ताव कार्यान्वयनमा आए लगानीकर्तासँग नगद साथमा नभए सेयर खरिद गर्न सकिने छैन ।

अहिले सेयर खरिद-बिक्रीको सेटलमेन्ट तीन कार्य दिनमा हुने गरेको छ । अर्थमन्त्रालयको सहमतिमा धितोपत्र बोर्डले यसलाई एक दिनमा झार्ने प्रस्ताव अघि सारेको स्रोतले बतायो ।

हाल ‘टी प्लस थ्री’ रहेको सेटलमेन्ट प्रक्रियालाई ‘टी प्लस वान’ मा झार्ने विषयमा छलफल गर्न धितोपत्र बोर्डले नेप्सेलाई केही समयअघि पत्र लेखेको थियो । बोर्डको पत्रका आधारमा अध्यययन गर्न नेप्सेले बनाएको एक समितिले सो सम्बन्धमा छलफल सुरु गरेको हो ।

लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए

सोही पत्रको आधारमा नेप्सेले सीडीएससी एण्ड क्लेयरिङ र लगानीकर्तासँग छलफल पनि सुरु गरिसकेको छ । सोमबार नेप्सेमा भएको त्रिपक्षीय बैठकमा एक दिनमा कसरी सेटलमेन्ट गर्न सकिन्छ भन्नेबारे गहन छलफल भएको स्रोतले बतायो ।

छलफलमा धितोपत्र बोर्डको निर्देशन छिटो कार्यान्वयन गर्नुपर्ने पक्षमा नेप्से र सीडीएससी एण्ड क्लेयरिङ सकारात्मक थिए भने लगानीकर्ता प्रतिनिधि हच्किएका थिए ।

स्रोतका अनुसार छलफलमा सहभागी लगानीकर्ताका प्रतिनिधिले नेप्सेको अनलाइन प्रणालीमा लगानीकर्ता अभ्यस्त भइनसकेकाले तत्काल एकै दिनको सेटलमेन्टले बजार प्रभावित बन्ने धारणा राखेका थिए ।

लगानीकर्ताको साथमा तत्कालै नगद नभई सेयर खरिद गर्न नसकिने भएकाले तत्काललाई यो व्यवस्थाको कार्यान्वयनमा नजान लगानीकर्ताले आग्रह गरेका छन् ।

अनलाइन प्रणालीलाई चुस्त-दुरुस्त बनाउन थप पहल गर्ने र कारोबार सेटलमेन्टलाई तत्काल दुई कार्य दिनमा झार्न सकिने लगानीकर्ताका प्रतिनिधिको प्रस्ताव थियो ।

मुद्रा तथा पूँजी बजारमा देखिएको समस्या समाधान गर्न नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर शिवराज श्रेष्ठको संयोजकत्वमा गठित समितिको प्रतिवेदनले कारोबार सेटलमेन्ट एक दिनमा गर्नेबारे सुझाएको थियो । सोही सुझावका आधारमा बोर्डले लगानीकर्ता समक्ष उक्त प्रस्ताव गरेको धितोपत्र बोर्ड स्रोतले बतायो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment