Comments Add Comment

कमेडीको ‘ह्याङ’ मा नेपाली फिल्मकर्मी, अरु विधा ओझेलमा

हाँसो, रोदन, डर-त्राश वा रोमाञ्चकता । यी सबै मानवीय संवेदनाका पक्षहरु चलचित्रका लागि मनोरञ्जनका मसला हुन् । तर, पछिल्लो समय नेपाली चलचित्र क्षेत्रमा अन्य पक्षहरु गौण भएर हाँसो मात्रै हावी भइरहेको छ । कमर्सियल फिल्म भन्नासाथै सबै कमेडी जनराकै पछि कुदिरहेका छन् ।

हँसाउनु त्यति सजिलो काम होइन, जति नेपाली फिल्मका निर्माता-निर्देशकले सोच्छन् । हामीकहाँ सबैभन्दा सजिलो विधा कमेडीलाई मान्ने गरिए पनि यथार्थमा यो कठिन विधा हो । यसमा निकै सिर्जनशिलता चाहिन्छ । नेपालमा कमेडीको ट्याग भिरेर आएका सबै फिल्म हँसाउन सफल छैनन् । हँसाउने नाममा भद्दा मजाकहरु पस्किरहेका छन् ।

जमना फास्टफुडको छ । कतिपयले कमेडी फिल्मलाई ‘फास्ट फुड’ जस्तै ठान्छन् । छिटो, मिठो । तर, तिनीहरु कत्तिको लाभकारी छन् त भनेर सन्देह गर्नुपर्ने स्थिति छ । नेपाली फिल्ममेकर्स चाहिँ यस्तै खुराक पस्कनमा मग्न छन् ।

यसरी सुरु भयो होड

११ बर्ष लामो गृहयुद्ध, राजनीतिक उथलपुथल, नाकाबन्दी, लोडसेडिङ, महाभूकम्पले नेपाली समाजमा एक किसिमको निराशा छाएको थियो । सर्वसाधरण दुखी थिए, उदास थिए ।

यावत् सामाजिक विशृंखलता झेल्दै आएका नेपाली समाजलाई खाँचो थियो, मनोरञ्जनको । सर्वसाधरण खुलेर हाँस्न र रमाउन चाहन्थे । ठिक यही बिन्दुमा टेलिभिजनमा हास्य शृंखला पस्किरहेका तीतो सत्य, मेरी बास्सै, जीरे खुर्सानीको समूह चलचित्र निर्माणमा तानिए । त्यसबेला यी तीनै टेलिशृंखलाले दर्शकको ठूलो जमातलाई आफ्नो कब्जामा राखेका थिए । तिनै दर्शक सिनेमा हलमा तानिए । हाँस्य कलाकारको जम्बो टोलीले निर्माण गरेको चलचित्र ‘६ एकान ६’ प्रदर्शनमा आएपछि नेपाली चलचित्र एउटा नयाँ मोडमा प्रवेश गर्‍यो ।

६ एकान ६ सफल भएपछि सो समूह शृंखलाबद्ध रुपमै चलचित्र निर्माणमा लाग्यो । ‘६ एकान ६’ पछि ‘वडा नम्बर-६’ हुँदै ‘छक्का पञ्जा-३’ सम्म आइपुग्दा नेपाली चलचित्र क्षेत्रमा यसको आफ्नै ब्रान्डिङ बनिसकेको छ ।

नेपाली चलचित्रमा एउटा विधाको चलचित्र सफल भएपछि सबै त्यतैतिर दौडिने पुरानै रोग हो । छक्का पञ्जाको टिम निरन्तर सफल हुँदै जाँदा अरु पनि यस्तै हल्काफुल्का कथावस्तुको खोजीमा लागे । यसको साइड इफेक्ट के भयो भने दयाहाङ राई, सौगात मल्ल, अनमोल केसी जस्ता कलाकार पनि जबरजस्ति कमेडी गर्न वाध्य भए ।

‘छक्का पञ्जा’ले गरेको कारोबारको आंकडा हेरेर र्‍याल काड्नेहरु धमाधम कमेडी फिल्म बनाउन तम्सिए । तर, कमेडीको रंग र ढंग मिसाउन नसक्दा उनीहरुको लगानी मात्र डुबेन, दर्शक नै भड्किने अवस्था आएको छ ।

यस सन्दर्भमा दीपकराज गिरीको टिप्पणी यस्तो छ, ‘जो-जसले दीपकराजको छक्का पञ्जा चल्यो, अब त्यस्तै चलचित्र बनाउँछु भनेर आउनु भयो, सबै असफल हुनुभयो । कारण के थियो भने, उहाँहरु कमेडी चलचित्र चल्यो भनेर त्यसको पछाडि दौडनुभयो । तर, किन चल्यो ? यसबारे भने ध्यान दिनुभएन ।’

दर्शक हँसाउने चक्करमा भद्दा वा द्विअर्थी संवाद राख्नेदेखि अनुहारको हाउभाउ बिगार्ने चलन व्यापक छ । यस किसिमको प्रयासले दर्शकमा स्वभाविक हाँसो भने पैदा गर्न सकिएको छैन ।

सोझै भन्नुपर्दा फिल्ममेकर्सले भद्दा कमेडी पस्किरहेका छन् । कमेडीमा कला छैन । खासमा परिवेश, परिस्थिती नै यसरी निर्माण गरिनुपर्ने हो, जसले दर्शकमा स्वतस्फूर्त हाँसो फुत्कियोस् । तर, त्यसो हुन सकेको छैन । बलजफ्ती हँसाउने चेष्टा गरिएको छ ।

दीपकराज भन्छन्, ‘कमेडी के हो भन्ने कुरा नबुझी चलचित्र बनाउदा यस्तै हुन्छ । यहाँ बुझेर चलचित्र बनाउनेको संख्या १० प्रतिशत पनि छैन होला । ९० प्रतिशत त हावाको भरमा चलचित्र बनाइरहेका छन् ।’

समिक्षक यज्ञश पनि कमेडी चलचित्रहरु अत्याधिक निर्माण भइरहेको बताउँछन् । उनी भन्छन्, ‘जे चल्यो त्यसलाई पछ्याउने त हाम्रो पुरानै चलन हो नि । एउटा हिरो चल्यो भने त्यसैको पछि लाग्ने, आइटम चल्यो त्यसैको पछि लाग्ने, अहिले कमेडी चल्यो त्यसैले कमेडीमा लहर आएको छ ।’ तर, जो जो कमेडी चल्यो भनेर कमेडी चलचित्र निर्माणमा लागे उनीहरुलाई आफ्नो दर्शकसमेत थाहा नभएको उनको तर्क छ ।

अरु विधामा ल्याकत पुगेन

कमेडी चलचित्रको एक जनरा हो । यस्ता अरु पनि विधा हुन्छन्, लभस्टोरी, एक्सन, फेमेली ड्रामा, आर्ट आदि ।

नेपाली सन्दर्भमा पनि कमेडी, एक्सन वा फेमेली ड्रमा विधामा चलचित्र नबनेका होइनन्, तर अपेक्षाकृति ती सफल छैनन् ।

कमेडी बाहेकका चलचित्र किन बन्दैन ? किन चल्दैन ?

यज्ञश भन्छन्, ‘सिरियस कथामा चलचित्र बनाउन त गाह्रो छ । अन्य जनरमा भिजेर काम गर्न निकै समय दिएर काम गर्नुपर्छ । त्यसैले पनि अन्य चलचित्र बन्न सकेका छैनन् ।’ कमेडी चलचित्र बनाउन सजिलो ठानिएको र त्यसैलाई त्यसैमा निर्देशकले पनि आफुलाई सुरक्षित एवं सहज मानिरहेको समीक्षक यज्ञशको बुझाई छ ।

जस्तो कि एक्सन चलचित्र निर्माणमा धेरै लगानी हुन्छ । त्यसमा फाइटको दृष्यहरु हुन्छन् । एनिमेशनको बढि प्रयोग गर्नुपर्छ । त्यहाँ समय र पैसा दुबै बढि खर्चिनुपर्ने हुन्छ ।

तर, नेपाली निर्माता कोही पनि लामो समय र धेरै पैसा खर्चिने मुडमा छैनन् । उनीहरु थोरै लगानीमा छिटो काम र तुरुन्तै मुनाफा चाहिएको छ । निर्मातामा धैर्यता नभएपछि एक्सन चलचित्रहरु पनि राम्रो बन्न सकेका छैनन् ।

एक्सन

अझ, एक्सन चलचित्रका लागि चाहिने सम्पूर्ण खुराक सहितको पटकथा लेखन कसैले गर्न सकेका छैनन् । पछिल्लो समय एक्सन चलचित्रको पटकथामा निकै कमजोरी देखिन्छ । त्यो माथि निर्देशकहरुको निखरता पनि त्यहाँ उत्ति पाइँदैन् ।

समिक्षक यज्ञश भन्छन्, ‘कमेडी चलचित्रमा भने पन्चलाइनले काम गर्छ । तर, एक्सनमा त त्यो हुन्न । एक्सन चलचित्र सफल हुन त एक्सन नै दमदार हुनुपर्यो । त्यो माथि स्टोरी पनि गज्जब हुनुपर्यो । कनिकुथी बनाएर एक्सन चलचित्र चल्दैन ।’

बलिउड र साउथको जस्तो एक्सन गरेर पनि नेपाली चलचित्र नचल्ने उनी बताउँछन् । भन्छन्, ‘बलिउड र साउथको जस्तो त दर्शकले हेरिसके नि । अब फेरी त्यहीँ गरेर त कसले हेर्दिने । त्यो हुदाँ केही फरक काम गरे मात्र एक्सन चल्छ ।’

लभस्टोरी

लभ स्टोरी चलचित्रले दर्शकको मनलाई स्पर्श गर्नुपर्छ । उनीहरुको संवेदनासँग खेल्न सक्नुपर्छ । तर, नेपालमा निर्माण भएका लभ स्टोरी चलचित्रले दर्शकको मन छुन सक्दैनन् । नेपाली निर्देशकहरुले लभ स्टोरी चलचित्रहरु सतहीमा निर्माण गरिरहेका हुन्छन् । डाँडाको सुन्दर लोकेशनमा लगेर रोमान्टिक गीतमा हिरो र हिरोइनलाई नचायो भने लभ स्टोरी चलचित्र बन्यो भन्ने भ्रम उनीहरुमा छ । त्यसैले पनि हुनसक्छ, अहिले लभ स्टोरी चलचित्रबाट दर्शक सन्तुष्ट छैनन् ।

इतिहासमा चलचित्र

इतिहासमा आधारित रहेर चलचित्र निर्माण गर्न त नेपाली निर्माता-निर्देशकहरुले सोच्नै सकेका छैनन् । किनभने इतिहासमा चलचित्र निर्माण जटिल हुन्छ । कुनै समयको यथार्थलाई देखाउनको लागि सबैभन्दा पहिला अध्ययन गर्नुपर्यो । त्यसको विषयमा यथार्थसम्म पुग्नु पर्यो । स-साना कुराहरुमा पनि धेरै ध्यान पुर्‍याउन जरुरी हुन्छ । इतिहासमा चलचित्र बनाउँदा निर्देशकले धेरै समय खर्चिनु पर्ने हुन्छ ।

अझ, निर्माताको हकमा त बढि लगानी भइ नै हाल्छ । किनभने त्यो समयको सेटदेखि ड्रेसअप सम्मको कुरामा उसले बढि लगानी गर्नुपर्छ । उदाहरणको लागि कसैले राजाको विषयमा चलचित्र निर्माण गर्दैछ भने राजको दरवारदेखि उसको पहिरन, उसको सहयोगीहरुको पहिरनदेखि हरेक कुरामा निर्माताले लगानी गर्नुपर्छ । त्यसमा निर्माताले लगानी गर्न सक्ने बजार नेपाली चलचित्रको बनेको छैन ।

काल्पनिक चलचित्र

कल्पना गरेर निर्माण भएका बाहुबली र अवतार जस्ता चलचित्र पनि नेपालमा निर्माण हुने अवस्था छैन । किनभने त्योसम्म सोचाई नेपाली निर्माता निर्देशकले लिन सकेका छैनन् । सोच्न सके पनि त्यो सोचाईमा लगानी गर्ने आट कसैको छैन् । प्रविधीहरु पनि उपलब्ध छैनन् ।

अझ, काल्पनिक कुरालाई देखाउन भिएफएक्स धेरै गर्नुपर्ने हुन्छ । धेरै समय लगाएर धेरै लगानी गरेर भिएफएक्सको जोखिम कोही निर्माता निर्देशकले लिँदैनन् । किनभने धेरै समय लगाएर भिएफएक्स गरियो भने नेपाली बजारबाट निर्माताले भिएफएक्सको पनि पैसा उठाउदैनन् ।

के कमेडी बनाउन सजिलो छ ?

धेरैले कमेडी चलचित्र निर्माण गर्न सजिलो हुने तर्क गर्छन् । कथा वा विषयबस्तु नराम्रो भएपनि बीच बीचमा हालिने संवादले दर्शकलाई हम्साइरहेको हुन्छ । त्यसैले पनि कमेडी बनाउन सजिलो हुने कतिपयको बुझाई छ ।

तर, निर्माता तथा कलाकार दीपकराज गिरी भने यस कुरालाई मान्न तयार छैनन् । उनी भन्छन्, ‘कमेडी चलचित्र बनाउन सजिलो पक्कै छैन् । हामीले त वर्षैदेखि यहीँ काम गर्दै आइरहेको भएर पनि केही सहज भएको छ । तर, कमेडी नबुझ्नेले कमेडी चलचित्र बनाउनै सक्दैन ।’ दीपक कमेडी नबुझी कमेडी चलचित्र बनायो भने त्यो हरर चलचित्र बन्ने बताउँछन् ।

दीपकराज चुनौती दिदैँ भन्छन्, ‘जसले कमेडी चलचित्र बनाउन सजिलो छ भन्नुभएको छ,, उहाँहरुले बनाउने चलचित्रमा भन्दा हाम्रो चलचित्रको लगानी बढि हुन्छ । हामीले एउटै गीतमा २६ लाखसम्म खर्च गरेका छौँ ।’

तर, विश्लेषक यज्ञशको बुझाई यस्तो छ, राम्रो चलचित्र बनाएर हँसाउन गाह्रो छ । तर कमेडीमा के छुट छ भने, यसले दर्शकको भावनाको तहलाई छिचोल्ने र स्पर्श गर्नेभन्दा पनि हल्काफुल्का ढंगले हँसाउन सकिन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Advertisment