Comments Add Comment

हावाहुरीले पर्सामा एक जनाको मृत्यु, ६ वटा प्रहरी चौकीमा क्षति

Photo Credit : फाइल तस्वीर

९ जेठ, वीरगञ्ज । बुधबार बेलुका आएको हावाहुरीका कारण पर्सामा एक जनाको मृत्यु भएको छ । लाखौंको धनमालमा क्षति पुगेको छ । हावाहुरीको पर्साको पकाहा मैनपुर गाउँपालिका १ धोरेकी १५ बर्षकी श्रुति सहनीको मृत्यु भएको हो ।

घर नजिकै रहेको सिमलको रुखको हाँगा भाचिएर उनी घाइते भएकी थिइन् । वीरगञ्ज हेल्थकेयरमा उपचार पछि थप उपचारको लागि नेशनल मेडिकल कलेज वीरगञ्जमा लैजाने क्रममा राति नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी अनन्तराम शर्माले जानकारी दिए ।

हावाहुरीले जिराभवानी गाउँपालिका ४ को मोटरसाइकल ग्यारेज र खाजा घर समेत गरी ४ वटा घरको छाना उडाएको छ । पर्साको धोवीनी–१ पिपरा बस्ने अफताव पटेलले सञ्चालन गरेको कुखुरा फर्म भत्किएको प्रहरीले जनाएको छ ।

फर्म भत्किँदा फर्ममा रहेका १ हजार ५ सय कुखुरा र दाना १६ बोरासमेत नष्ट भएको छ । हावाहुरीले पटेलको फर्ममा ४ लाख रुपैयाँको क्षति भएको अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । हावाहुरीले पोखरीया बजार चौकमा ३ वटा बिजुलीको पोल ढालेका कारण त्यस क्षेत्रको विद्युत सेवा अवरुद्ध छ ।

जिल्ला प्रहरी कार्यालय पर्साले दिएको तथ्याङ्क अनुसार केही प्रहरी कार्यालयको छानो उडाउनुको साथै भवन भत्किएका पनि छन् । अस्थायी प्रहरी पोष्ट पोष्ट सुपौलीको भान्सा घरको छाना, सीमा प्रहरी चौकी भिश्वा बञ्जारीको भान्छा घरको छाना उडाएको र पर्खाल भत्काएको छ ।

प्रहरी चौकी अमरपट्टी महिला ब्यारेकको ढोका भत्काएको, प्रहरी चौकी आशवारीको मेस भवन भत्किएको, प्रहरी चौकी धोरेको भान्सा घरको छाना उडाएको र प्रहरी चौकी प्रसौनीभाठाको ब्यारेकको झ्याल बाङ्गिएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख रेवती ढकालले अधिकांश मातहतका कार्यालयमा भौतिक संरचनाको समस्या देखिएको र निर्माणका लागि पहल भइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment