Comments Add Comment

नेयमार र एमबाप्पे – कसको छायामा को ?

९ जेठ, काठमाडौं । लिग वानको ‘प्लेयर अफ दि एयर’ बनेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार स्ट्राइकर केलियन एम्बाप्पेले भनेका छन्, ‘यही इतिहास अर्को वर्ष पनि कायम रहन्छ ।’

फ्रान्सलाई विश्वकप जिताएका एम्बाप्पे आउँदो सिजन पीएसजीमा नहरने अडकलबाजी चलिरहँदा आएको उनको अभिव्यक्ति अर्थपूर्ण छ ।

किनकी २० वर्षको उमेरमा एम्बाप्पे फ्रान्समा सर्वाधिक गोलकर्ता बनेर उचाइमा पुगिरहँदा स्पेनिस क्बल बार्सिलोना छाडेर पीएसजी गएका ब्राजिलियन स्टार स्ट्राइकर नेयमार भने सोचे जस्तो अघि आउन सकेनन् ।

अब एम्बाप्पे वा नेइमार दुबै पीएसजीमा रहन सक्छन् भन्ने प्रश्न बढी उठेको छ । किनकी एम्बाप्पे थप भूमिका पाउने सर्तमा मात्र पीएसजीमा बस्न चाहन्छन्, जुन नेइमारलाई राखेर सम्भव छैन ।

त्यसमाथि दुबैलाई राम्रा क्लबहरुले भित्र्याउन चाहेका पनि छन् । विशेष त स्पेनिस क्लब रियल मड्रिडले दुईमध्ये एक खेलाडी लैजाने जोड गरिरहेकाले एकको निर्णयमा अर्कोको भविष्य जोडिएको छ ।

बार्सिलोनामा लियोनल मेस्सीको छायामा रहन नचाहेर पीएसजी लागेका नेयमार फेरि युवा खेलाडी एम्बाप्पेको छायामा पर्न थाल्नुले उनको स्थिरतामा असर परेको छ ।

एम्बाप्पेले लिग वानको २८ खेलमा ३२ गोल साथै सबै प्रतियोगितामा गरेर ४२ खेलमा ३८ गोल गर्दै भर्खरै सकिएको सिजन उचाइमा रहे । जहाँ चोटले सताइएका नेयमारले भने लिगका १७ खेलमा १५ गोल र समग्रमा २८ खेलमा २३ गोल गर्न सके ।

गएको सात सिजनमा छैठौं उपाधि जितेपछि पीएजसीका जर्मन प्रशिक्षक थोमस टुचेलले एम्बाप्पेले पीएसजी छाडेर कतै नजाने घोषणा गरे । क्लबका अध्यक्ष नासिर अल खेलेफिले पनि अरु कुनै पनि क्लबलाई एम्बाप्पे लैजाने अवसर नरहेको बताउँदै आएका छन् । यस्तोमा आउँदो सिजन नेयमार के गर्लान् त ?

पीएसजीमा पहिलो सिजन इडिसन काभानीसँग पेनाल्टी हान्ने बेला नेयमारले गरेको विवाद फुटबल समर्थक माझ निकै फैलिएको थियो । त्यसपछाडिको एउटै कारण क्लबको स्टार खेलाडीका रुपमा नेयमार आफूलाई उपस्थित गराउन चाहन्थे । जुन यो वर्षसम्म हुन सकेको छैन । उनले चाहेको प्रसिद्धि र विशेषाधिकार एम्बाप्पेले पाइरहेका छन् ।

यसले क्लबमा भित्रभित्रै देखिएको ‘शितयुद्ध’ विस्तारै ‘गृहयुद्ध’ मा बदलिने खतरा देखाएको छ । दुई स्टारले आफ्नो ‘स्टारडम’ जोगाउँदै अघि बढ्न विशेष भूमिका आफ्नै वरिपरि खोजिरहनु क्लबका लागि खतराको संकेत हो ।

यसमा भर्खरै एम्बाप्पेले पाएको अवार्डलाई पनि हेर्न सकिन्छ । वर्षको उत्कृष्ट खेलाडीको अवार्ड एम्बाप्पेले लिइरहँदा नेयमार भने रिहानासँगको पार्टीमा मस्त थिए ।

किनभने २०१७ मा पीएसजीले नेयमारलाई ल्याउँदा केन्द्रबिन्दुमा उनी एक्लै थिए । नजादिनो पारामा काभानीसँगको केही अधिकार आफ्नो पक्षमा पार्दै उनी अघि बढे । केन्द्रमा रहेका नेयमारलाई ‘डे«सिङ रुम’ देखि मैदानसम्म खुशी पार्न क्लब लागिपरेको थियो ।

तर त्यही समरमा पीएसजीले युवा खेलाडी एम्बाप्पेलाई सनसनीपूर्ण रुपमा मोनाकोबाट भित्र्यायो । एम्बाप्पे ल्याउनु नै समस्या नभए पनि समय समयमा देखिएको चोट र व्यावसायिकताको अभावले नेयमारलाई पछाडि पार्दै लग्यो ।

अनि २०१८ को विश्वकप । उपाधि उचाल्ने दुवैको लक्ष्यमा नेयमार अनेक भिडियोमार्फत मजाकमा पात्र बने, एम्बाप्पे विश्वकप उचाल्दै राष्ट्रिय नायक बने ।

यदि दुवै खेलाडी आउँदो सिजन पनि पीएसजीमा नै रहे पनि नयाँ सिजनको लागि को खेलाडी ल्याउने भन्ने प्रश्नमा नेयमार र एम्बाप्पेको आआफ्नै राय छ ।

नेयमार बार्सिलोनाबाट कोउटिन्होलाई ल्याउन चाहन्छन् भने एम्बाप्पे एथ्लेटिको मड्रिडबाट ग्रिजम्यानलाई ल्याउन चाहन्छन् । किनकी नेयमार र एम्बाप्पे दुवैको चाहना विश्व उत्कृष्ट खेलाडीका रुपमा आफूलाई अघि सार्नु नै हो ।

दुबैमा एउटा भिन्नता पनि छ । नेयमार कति कमाउने भन्नेमा पनि लामो समय सोच्छन् एम्बाप्पेलाई अहिलेसम्म उचाइको मात्रै चाहना देखिन्छ । पीएसजीमा एम्बाप्पेले वर्षमा १३ मिलियन युरो कमाइरहँदा नेयमारले ३७ मिलियन युरो कमाइरहेका छन् ।

यो सबैका बीच पनि एम्बाप्पे र नेयमारको व्यक्तिगत सम्बन्धमा भने कुनै समस्या छैन । तर जब फुटबल जगतको उचाइका सवालहरु आउँछन,् त्यहाँ दुवैजना केही सोच्न बाध्य देखिन्छन् । यसैको फाइदा उठाउँदै दुई मध्ये एक खेलाडी ल्याउने रियल मड्रिडको दाउ बनिरहेको छ ।

स्पेनको राष्ट्रिय टिम र रियल मड्रिडमा समेत प्रशिक्षक रहिसकेका भिसेन्ट डेल बस्कोलाई यदि तपाइँ प्रशिक्षक हुनुभयो भने नेयमार र एम्बाप्पे मध्ये कसलाई ल्याउनुपर्छ भनि सोधिएको प्रश्नमा एम्बाप्पेको नाम लिएर त्यसलाई प्रस्ट्याएका छन् ।

स्पेनका विश्वकप विजेता प्रशिक्षक डेल बस्कोले नेयमारको तुलनामा एम्बाप्पेमा फुटबलको समझ र खेलको परिपक्वता बढी रहेको बताएका छन् । यसले पनि आउँदो समयको स्टार फुटबलरमा देखिने भिन्नता बुझ्न सकिन्छ ।

मेस्सीको छायाबाट बच्दै विश्वको उत्कृष्ट फुटबलर बन्न पीएसजी लागेका नेयमार युवा फुटबलर एम्बाप्पेको चर्चासँगै पछाडि पर्नुले उनको आगामी दिन अझ प्रतिस्पर्धात्मक हुने देखिन्छ ।

यसैले त पीएसजीकै मिडफिल्डर मार्को भेराट्टीले गएको वर्ष नै भनेका थिए, ‘एम्बाप्पेलाई भेट्न सहज छैन । मैदानमा उनको तीब्रताले उनलाई बाहिरि जगतमा पनि धेरै पर पु¥याउने छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment