१० जेठ, काठमाडौं । दुई पटक मिति सार्दा पनि मुलपानी मैदान तयार नभएपछि प्रधानन्त्री कप एकदिवसीय क्रिकेटको उद्घाटन खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमै खेलाइएको छ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) जसरी पनि मुलपानीको तल्लो मैदानमा नै उद्घाटन खेलाउने भन्दै जेठ १ लाई तोकिएको प्रतियोगिता ८ हुँदै १० गतेलाई सारेको थियो । तर, अवकल्चो अवस्थामा रहेको मुलपानी मैदान अझै तयार भएन । यसले प्रधानमन्त्री कपको उद्घाटनलाई नै खल्लो बनाइएको छ ।
प्रमुख अतिथि भनेर प्रचार गरिएका सत्तारुढ नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पनि आएनन् । युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा म्याच रेफ्रीलाई बल दिएर उद्घाटन गरे तर, समारोह राखेपले भनेको जस्तो ‘भब्य’ रहेन ।
राखेपका सदस्य सचिव केशवकुमार विष्टले मुलपानी मैदान तयार नभएपछि कीर्तिपुरमा उद्घाटन गरिएको स्वीकार गरे । ‘मुलपानी मैदान तयार हुन अझै समय लाग्ने प्राविधिक टोलीले बताएपछि हामीले हिजो साझँ मात्रै टियुमा गर्ने निर्णय गरेको हौं’, उनले अनलाइनखबरसँग भने ।
मुलपानीमा करिब १५ हजार दर्शक क्षमतासहित अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला अबको दुई वर्षमा निर्माण सम्पन्न गर्ने लक्ष्य छ । अहिलेसम्ममा प्याराफिटको तीन वटा ब्लग र मैदान बनाउने काम बाहेक अन्य केही भएको छैन ।
जग्गा विवाद मिलेपछि मैदानभित्रै रहेको घर समेत हटाउन बाँकी छ । त्यस्तो अवस्थामा राखेपले मुलपानीकै माथिल्लो मैदानलाई समेत छोडेर किन तल्लो मैदान रोज्यो भन्ने जवाफ दिएको छैन ।
तर, यो मैदान राष्ट्रिय स्तरको प्रतियोगिता गर्न अझै तयार भएको देखिँदैन । किनकी त्यहाँ प्लेयर बक्सदेखि, ड्रेसिङ रुप, शौचालय, स्कोर बोर्ड लगायतका संरचनाहरु नै बनेका छैनन् ।
राखेप भने उद्घाटन नभए पनि अब समापन मुलपानीमै गराउने भन्न थालेको छ । सदस्यसचिव विष्ट भन्छन्, ‘तयारी गर्दा गर्दै उद्घाटन राम्रो हुन सकेन, समापन भब्य बनाउन छौं । ’
मुलपानीको चच्करमा त्रिवि क्रिकेट मैदान पनि व्यवस्थित बनाउन चुकेको छ ।
राखेपकाअनुसार मुलपानी मैदानमा अब ९ खेल खेलाइने योजना छ । तालिकाअनुसार जेठ १२ गते कर्णाली प्रदेश र नेपाल पुलिस क्लबबीचको खेल यही मुलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतिक्रिया 4