Comments Add Comment

प्रधानमन्त्री कपमा आर्मीको विजयी सुरुआत

१० जेठ, काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा विभागीय टिम नेपाल आर्मी क्लबले फराकिलो जित हात पारेको छ ।

उद्घाटन खेलमा आर्मीले प्रदेश २ लाई १७१ रनले पराजित गरेको हो । २७९ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको प्रदेश दुईले ३१.४ ओभरमा सबै विकेटको क्षतिमा १०७ रन मात्रै बनाउन सक्यो ।

प्रदेश २ का लागि हरिशंकर शाहले २१ रन बनाए । त्यस्तै, साम्सद शेखले १६ र शुधिर चौधरीले १५ रन बनाए । अन्य ब्याट्सम्यान सस्तैमा समेटिदा प्रदेश २ ले आफ्नो पहिलो खेलमा नै फराकिलो अन्तरले हार ब्यहोरेको हो ।

बलिङतर्फ शाहब आलमले चार विकेट लिए । उनले ९ ओभर बलिङ गर्दै २९ रन खर्चेर ४ विकेट लिएका हुन् । त्यस्तै, सुशान भारीले तीन विकेट लिदा जितेन्द्र मुखियाले दुई विकेट लिए ।

टियु क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको आर्मीले ५० ओभरमा ९ विकेटको क्षतिमा २७८ रन बनाएको थियो । आर्मीको ठूलो स्कोरमा राजु रिजाल, विनोद भण्डारी र रोहित कुमार पौडेलले उत्कृष्ट ब्याटिङ गरे ।

ओपनिङमा आएका राजु र कप्तान विनोदले पहिलो विकेटका लागि १२१ रनको साँझेदारी गरेका थिए । २१.१ ओभरमा विनोद ६६ रनमा आउट भए । क्रिजमा टिकी रहेका राजु शतक बनाउनबाट १० रनले चुके । उनी ९० रनमा आउट भए । १०९ बलको सामना गरेका उनले ५ चौका र दुई छक्का प्रहार गरेका थिए ।

त्यस्तै आर्मीकाल लागि रोहितकुमार पौडेलले ४७ रन बनाए । अर्धशतक बनाउनबाट चुकेका रोहितले ३६ बलमा चार चौका र एक छक्का प्रहार गरे । त्यस्तै, हरि चौहानले २६ रन बनाए । बलिङतर्फ हरिशंकर शाहले तीन विकेट लिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment