Comments Add Comment

ब्रेक्जिटले टरिजा मेलाई कसरी डुबायो ?

काठमाडौं । युरोपलाई लिएर कन्जरभेटिभ पार्टीमा चलिरहेको आन्तरिक लडाईले फेरि एक पटक बेलायतका प्रधानमन्त्रीले पद छाड्नु परेको छ ।

युरोपियन कम्युनिटीलाई लिएर मार्गरेट थ्याचरको विचारसँग उनको क्याबिनेटका सहयोगीहरु सहमत थिएनन् । पार्टीभित्रबाटै चुनौती भएपछि नोभेम्बर १९९० मा उनले पार्टी नेता एवं प्रधानमन्त्री पदबाट राजीनामा दिएकी थिइन् ।

टरिजा मेको नाम शायदै मार्गरेट थ्याचरको जस्तो आफ्नो देशमा छाप छोड्ने नेताको रुपमा इतिहासमा दर्ता होला । तर, कम्तीमा त्यसरी हुँदैन, जसरी मे २०१६ मा डाउनिङ स्ट्रिट ( प्रधानमन्त्री कार्यालय) आउने समयमा सोचिएको थियो ।

उनको जुन महत्वाकांक्षा थियो, (देशले बिर्सिएको क्षेत्रमा सुधार गर्ने वा फेरि ब्रिटेनको समाजमा अन्यायसँग जोडिएको विषयमा कम गर्ने) त्यो सबै एक शब्दले पछाडि पार्‍यो–ब्रेक्जिट ।

मेको तीन वर्षे कार्यकाल ब्रिटेनलाई युरोपीय संघबाट बाहिर निकाल्ने फैसला र अघिल्ला प्रधानमन्त्री डेभिड क्यामरुनले गराएको जनमत संग्रहको मुद्दालाई मूर्त रुप दिने प्रयासमा केन्द्रित रह्यो ।

तर, ब्रसेल्स र वेष्टमिनिस्टरबाट एकपछि अर्को झट्का जसरी टरिजा मेले झेलिन्, त्यसबाट उनका कडा आलोचक पनि आश्चर्यमा परे ।

सामान्य अवस्थामा यदि यसरी मन्त्रीहरुको राजीनामा आएको भए र संसदमा विरोधको सामना गर्नुपरेको भए कुनै पनि प्रधानमन्त्रीको पद जान्थ्यो तर, टरिजा यो सबैको सामना गरिरहिन् ।

उनी अगाडि बढिरहिन् र आसपास मच्चिएको उथलपुथललाई नजरअन्दाज गर्दै सांसदहरुलाई भनिरहिन्, ‘केही परिर्वतन भएको छैन ।’ संसदमा उनको शक्ति र विपक्षी पार्टीको नियन्त्रण घट्दै गयो तर, टरिजाले बाचा गरिरहिन्, ‘ब्रिटेनका जनताका इच्छा पूरा गर्छु ।’

यदि २०१७ मा गराइएको आम चुनावमा बहुमतका साथ जितेको भए परिस्थिति अर्कै हुने थियो । तर चुनावपछि आफ्नै बलमा डाउनिङ स्ट्रिट आउनुको साटो बहुमत गुमाइन् र उत्तरी आयरल्याण्डको डेमोक्रेटिक युनियनिस्ट पार्टीको समर्थन लिनु पर्‍यो ।

उनी आफ्नो खुट्टामा आफैंले हानेको बन्चरोको चोटबाट बाहिर आउन सकिनन् । उनलाई थाहा थियो कि अधिकतम सांसद ब्रेक्जिट गराउँदासम्म मात्र उनलाई प्रधानमन्त्री बनाइराख्न चाहन्छन् र पछि मतदातालाई खुसी बनाउने विकल्प दिन्छन् ।

एक पटक त यस्तो समय आयो, उनले २०२२ मा हुने आगामी चुनाव अगाडि पद छाड्ने बाचा गर्नुपर्‍यो । यो त्यसबेलाको कुरा हो, जब उनले आफ्नै सांसदले ल्याएको अविश्वासको प्रस्तावलाई जित्न संघर्ष गरिरहेकी थिइन् ।

जब उनले बहुसंख्यक सांसदलाई ब्रेक्जिटको गतिरोधका लागि जिम्मेवार ठानिन्, अब कन्जरभेटिभ पार्टीले आफूलाई पदमा बसिरहोस् भन्ने चाहेको छैन भन्ने स्वीकार गर्न बाध्य भइन् ।

पार्टीभित्रै रहेका आफ्नो आलोचकका लागि अन्तिम बलिदानका रुपमा टरिजा मेले आफ्नो पद छाड्ने प्रस्ताव राखिन् । यतिसम्म कि यदि युरोपीय संघबाट बाहिर निकाल्ने सम्झौताको मस्यौदाको पक्षमा मतदान भयो भने पद छाड्छु भनिन् ।

तर, सम्झौताको मस्यौदा कहिल्यै संसदबाट पास गराउन सकिनन् ।

जनवरी २०१९ मा संसदले उनको सम्झौतालाई ब्रिटेनको संसदको इतिहासमै सबैभन्दा धेरै मतले खारेज गरेको थियो । टरिजा मेले थप दुई संशोधित मस्यौदामा संसदको सहमति लिने प्रयास गरिन् तर, हरेक पटक असफल भइन् ।

जो ब्रिटेनलाई युरोपीय संघमा राखिराख्न चाहन्छन्, उनीहरु मान्छन् कि यो सम्झौता निकै कडा छ । जबकी कट्टर कन्जरभेटिभहरु सम्झौतामा ब्रिटेनलाई युरोपीय संघबाट पूर्ण रुपमा बाहिर निकाल्ने व्यवस्था नभएको दाबी गर्छन् ।

तल्लो सदनबाट मस्यौदा पास गराउन टरिजा मेले लेबर पार्टीका नेता जेरेमी कोर्बिनसँग कुरा पनि गरिन् । तर ६ महिनासम्म भएको छलफल कुनै सहमतिमा पुग्न सकेन ।

टरिजा मेलाई थप असहज बनाउने स्थिति त्यसबेला बन्यो, जब उनी युरोपीय संसदको चुनावमा ब्रिटेन पनि सहभागी हुन सहमत हुनुपर्‍यो । जबकी उनले यो स्वीकार्य नहुने बताउँदै आएकी थिइन् ।

चारैतिर घेरिएपछि उनले स्वीकार गरिन्, जुन काम उनी मन पराउँछिन्, त्यो जारी राख्न सक्दिनन् र डाउनिङ स्ट्रिटमा उनको समय पुुरा भइसक्यो ।

शुक्रबार उनले कन्जरभेटिभ पार्टीका नेता र प्रधानमन्त्री पदबाट राजीनामा दिने घोषणा गरिन्, तयसबेला उनको आवाज काँपेको थियो र भावुक भइन् ।

उनले औपचारिक रुपमा ७ जुनमा राजीनामा दिनेछन्, जसले कन्जरभेटिभ पार्टीलाई ब्रिनेटको नयाँ प्रधानमन्त्री को भन्ने छान्ने मौका दिनेछ ।

(बीबीसी हिन्दीबाट अनुवादित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment