Comments Add Comment

मान्छे कसरी अपराधी बन्छ ? 

कोही मान्छे यस्ता हुन्छन् ? जसलाई अरुको हिंसा गर्न मन लाग्छ । जसलाई अरुको हत्या गर्न मन लाग्छ । जसलाई विभत्स दृश्यहरु रमाइलो लाग्छ । जसलाई अरुको क्रन्दन, पीडा, छटपटी, चिच्याहट मधुर लाग्छ । जसलाई अरुको चोट, रगत राम्रो लाग्छ । के त्यस्तो कोही हुन्छ ?

केही सातायता मुलुकभर हिंसाका यस्तै कुरुप घटनाहरु सतहमा आएको छ । कतै आफ्नै बुहारीलाई छप्काइएको छ, कतै दुई-दुई परिवारलाई सखाप पारिएको छ । कतै आफ्नै श्रीमतीको घाँटी रेटिएको छ, कतै आफ्नै पिताको गर्दनमा घुकुरी बजारिएको छ । किन मान्छे यति निर्दयी हुन्छ ? किन मान्छे यति हिंस्रक हुन्छ ? किन मान्छे यति क्रुर हुन्छ ?

मनोविद् वासु आचार्य भन्छन्, ‘मान्छेले चाहेर आफुलाई कलंकित बनाउँदैन । मान्छेले चाहेर आफुलाई अपराधी बनाउँदैन । तर, कहिले काहीँ त्यस्तै परिस्थितीहरुको निर्माण हुन्छ, जसले उनलाई अपराध कर्ममा उक्साउँछ ।’

मनोविद आचार्यका अनुसार कुनैपनि अपारधको मूख्य दोषी स्वयम् अपारधी हुन् । तर, उनीमात्र त्यसका भागिदार होइनन् । उनको पछाडि समाज छ । कुनैपनि व्यक्तिलाई अपराधी बनाउनमा समाजको पनि केही न केही त्रुटी आवश्य हुन्छ ।

हिंसामा काँप्छ मान्छे

सामान्यतः मान्छेको स्वभाव हिंस्रक होइन । त्यही कारण मान्छे अरुको चोट, घाउ, रगत देख्दा समेत अत्तालिन्छ । डराउँछ । विभत्स दृश्य हेर्दा मान्छेको मुटु काँप्छ । कसैको छटपटी देख्दा मान्छेको मन रुन्छ । कसैको चिच्याहटले मान्छेको मनमा औडाह हुन्छ । तर, त्यही मान्छे किन निर्मतापूर्वक कसैको हत्या गर्न उक्सिन्छ ?

पाँचथरमा जसरी दुई परिवारको एकसाथ संहार भएको छ, त्यसको दोषी एक नातेदार पुरुषलाई देखाइएको छ । हुन त उक्त घटनाबारे अनुसन्धान भइरहेकै छ । तर, सुरुवाती अवस्थामा उनी नै हत्यारा हुन् भन्ने केही संकेत मिलेको छ ।

एउटा व्यक्तिले एकसाथ दुई/चार चौपाय समेत काट्न मन गर्दैनन् । हत्यारा जोसुकै होस्, यद्यपी उनको मनोदसा यस्तो भयो होला ? कसरी उसले एकै रातमा ९ जनाको ज्यान लिए होलान् ? के उनी निर्दयी थिए ? के उनी क्रुर थिए ? के उनी हिंस्रक थिए ? के उनी अपराधी थिए ?

यदि त्यसो हुँदो हो त, उनले जीवनमा अरुपनि यस्ता हिंसात्मक गतिविधि गरेका थिए होलान् । जबकी उनी बाहिरबाट हेर्दा ‘सोझो’ रहेको छिमेकहरुले बताइरहेका छन् । ससुरा वा साडुु दाईले गाली गर्दासम्म उनी चुपचाप सहन्थे भनेर छिमेकले वयान दिएका छन् ।

यसको अर्थ यो होइन, कि मानबहादर माखिम नामका ति पुरुष हत्यारा नै होइनन् । उनी हत्यारा हुन सक्ने संकेत मिलिसकेको छ । यसबारे अन्य अनुसन्धान पनि जारी छ । मानौ उनले नै त्यो नरसंहार मच्याएका हुन् । तर, उनी कसरी यो अवस्थासम्म आइपुगे ? किन उनले आफुलाई कलंकित बनाए ? किन उनले यतिका जघन्य काण्ड मच्याए ?

मनोविद आचार्यका अनुसार कुनैपनि मान्छे तब यतिका हिंस्रक हुन्छन्, जब उनमा बदलाको भावना जाग्छ । बदलाको भावना र रिसले मान्छेलाई डरलाग्दो बनाउँछ । क्षणिक आवेगमा पनि मान्छे यस्तो कु-कर्म गर्न तम्सन्छन् ।

के अपराधी हुनु गर्भदोष हो ?

कुनैपनि व्यक्ति जन्मजात अपराधी हुँदैनन् । कुनैपनि व्यक्तिले जीवनमा ‘अपराधी’को कलंक बोक्न चाहँदैनन् । कुनैपनि व्यक्तिलाई अपराधी बन्ने रहर हुँदैन । तर, नचाहेरै मान्छे हिंस्रक बन्छ । किन ?

मान्छे कसरी क्रुर, हिंस्रक बन्न सक्छ ? के त्यो उनको मानसिक गडबडीले हो ?

भनिन्छ, उनले मानसिक रोगी पनि थिए । वितेको पाँच बर्षयता उनले मानसिक रोगकै औषधी सेवन गरिरहेका थिए । पछिल्लो समयमा घटेका केही हिंसात्मक घटनामा यो कुरामा समानता देखिएको छ । ललितपुरमा आफ्नै बुहारीको हत्या गर्ने व्यक्ति र इँटा भट्टमा आफ्नै श्रीमतीको घाँटी रेट्ने बृद्ध पनि ‘मानसिक रोगी’ थिए भनिएका छन् ।

मानसिक रोगी भएकै कारण उनीहरु हिंसात्मक गतिविधिमा उत्रिएका हुन् ? कुन किसिमको मानसिक रोग हुन्छ, जसले मान्छेलाई अरुको हत्या गर्न उक्साउँछ ?

मनोविज्ञले नै यसको जवाफ खोज्लान् । यद्यपी मानबहादुर माखिम मानसिक रोगी थिए । उनी के कारणले मानसिक रोगी भए ? उनमा कसरी मानसिक आघात पुग्यो ?

जब मान्छेको मन विक्षिप्त हुन्छ

ति पुरुष वैदेशिक रोजगारीमा गएका रहेछन् । सोही क्रममा उनले आफ्ना ससुराबाट ६५ हजार रुपैयाँ ऋण लिएका रहेछन् । विदेशबाट फर्किएपछि ऋण तिर्न नसेकको अवस्थामा पनि उनीहरुबीच मनमुटाव भएको बुझिन्छ । ऋण चुक्ता गर्नुपर्ने समस्याले उनी पिरोलिएका थिए होलान् ।

एकातिर आर्थिक टाट पल्टनु, अर्कोतिर घर-परिवार विथोलिनु । यस्तो अवस्थामा समाज पनि दाहिना बन्दैन । हाम्रो समाजले निरिह, कमजोर व्यक्तिलाई जहिले पनि लखेट्छ । मजाकको पात्र बनाउँछ ।

त्यसमाथि श्रीमतीसँग उनको सम्बन्ध राम्रो रहेनछ । श्रीमतीले उनलाई छाडिन् र माइतमा बस्न थालिन् । यता मानबहादुर एक्लै भए । श्रीमतीले छाडेर गएपछि उनी विरत्तिएका थिए होलान् । छिमेकले भनेका छन्, ‘श्रीमतीले छाडेपछि उनी मानसिक रुपमा विक्षिप्त थिए ।’

श्रीमतीले उनलाई सम्पतिसहितको डिभोर्स मागेकी रहिछन् । एकातिर ऋणै-ऋणको जीवन । अर्कोतिर श्रीमतीसँगको विछोड । त्यसमाथि सम्पति पनि दिनुपर्ने दबाव । संभवत उनी चरम मानसिक पीडामा थिए ।

एकातिर आर्थिक टाट पल्टनु, अर्कोतिर घर-परिवार विथोलिनु । यस्तो अवस्थामा समाज पनि दाहिना बन्दैन । हाम्रो समाजले निरिह, कमजोर व्यक्तिलाई जहिले पनि लखेट्छ । मजाकको पात्र बनाउँछ ।

मान्छे यसरी कलंकित बन्छ

जब मान्छेसँग विकल्प हुँदैन, तब ऊ खतरनाक बन्ने संभावना रहन्छ । मान्छे सम्मान, सम्बन्ध र सौहार्द्धताले बाँधिएर बाँचेको हुन्छ । जब यी सबै बन्धन टुटन जान्छ, मान्छे साँढे बन्छ । किनभने उनलाई यतिबेला लाज ढाक्नुपर्ने हुँदैन, डर लुकाउनुपर्ने हुँदैन, पीर पोख्नुपर्ने हुँदैन । सबैतिर अन्धकार नै अन्धकार भएपछि, सबैतिर भिरालो नै भिरालो भएपछि मान्छेले आफ्नै माया मार्छन् । मान्छेलाई आफ्नो माया लाग्दैन । जब आफ्नो माया लाग्दैन, तब अरुप्रति करुणा जाग्ने कुरै हुँदैन ।

यतिबेला नै हो मान्छे, हत्यारा बन्ने । हिंस्रक बन्ने ।

हामी कुनै घटनापछि त्यसको आरोपितलाई थुक्ने गर्छौं । तर, उनमा आपराधिक मनोवृत्ति कसरी पलायो ? उनले हत्याको बाटो किन रोज्यो ? किन उनी हिंसा गर्न उक्सिए ?

यो उनको जन्मदोष होइन । आमाको गर्भबाट कोहीपनि हत्यारा बनेर जन्मिएका हुँदैनन् । हिंस्रक बनेर जन्मिएका हुँदैनन् । समय र परिस्थितीले नै उनलाई कलंकित बनाइदिन्छ । यसमा ति व्यक्ति जति दोषी हो, उनको समाज पूर्णत चोखो छैनन् ।

मानबहादुर एक्लिदै थिए, ऋणै-ऋणले च्यापिदै थिए, उनको परिवार विथोलिदै थियो, उनी गाउँघरको भोजभत्तेरमा मदिरा पिएर झगडा गर्थे । त्यसबेला समाजले के उनको दशा देखे ? के उनको पीर बुझे ? के उनको बिलौना सुने ?

अक्सर हामी कुनै अपराधपछि त्यसका आरोपीलाई थुक्ने गर्छौ । तर, उनलाई त्यो अवस्थासम्म कसले ल्याइपुर्‍यो ? सोधीखोजी गर्दैनौ ।

मान्छे गलपासो लगाएर मर्छन् । हामी के भन्छौ ? फलानो झुन्डिएर मरेछ । कानुनले के भन्छ ? फलानो व्यक्तिले आत्महत्या गरे । विज्ञानले के भन्छ, फलानोको घाँटीमा दबाव भएर मर्‍यो ।

तर, आफ्नो गलामा डोरी बाँध्नुअघि नै ऊ मरिसकेको हुन्छ । खासमा उनी घाँटीमा डोरीको दबावले होइन, मस्तिष्कमा पैदा भएको दबावले मरेका हुन्छन् । अतः उनको मस्तिष्क किन तनावग्रस्त भयो ? किन विचलित भयो ?

यसमा कारण हामी नै हुनसक्छौ । समाजमा हुर्कने हरेक व्यक्तिको आफ्नै पीडा, समस्या, चोट हुन्छ । त्यसका हामीले सेकताप गर्नुपर्ने हो । सहयोग गर्नुपर्ने हो । थमथमाउनुपर्ने हो । तर, हामी अरुको चोटलाई थप आलो बनाउने चेष्टा गर्छौं । त्यही कारण ऊ अपराधी बन्छ । अझ यसो भनौ, अपराधी बन्दैन । अपराधी बनाइन्छ ।

अमेरिकामा एक किशोरले आफ्नै विद्यालयमा गएर आफ्नै सहपाठी र शिक्षकमाथि अन्धधुन्द गोली बर्साए ।  उनी कसरी हिंस्रक भए ? भनेर सोधीखोजी गर्दै जाँदा उनको टिठलाग्दो विगत फेला पर्‍यो । उनी बाल्यकालदेखि नै पारिवारिक कलहको शिकार बनेका रहेछन् । आमाबुवाको कलहले नै उनलाई मनरोगी बनाएको रहेछ ।

विश्वमा यस्ता डरलाग्दा हिंसाका अनगिन्ती घटना भएका छन् । अतः त्यसको पछाडि अपराधीको विगत खोतलिएको छ ।

एउटा व्यक्ति कसरी अपराधी बन्छ ? यसमा उनको परिवार र समाजमाथि पनि औंला उठाउने ठाँउ रहन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment